केन्द्रीय संस्करण
साहित्य

गुरुप्रसाद मैनाली र चिताको ज्वाला : एक प्रेम कहानी

person explore access_timeकात्तिक ११, २०७७ chat_bubble_outline0

गुरुप्रसाद मैनाली नेपाली कथा साहित्यमा आधुनिकता ल्याउने साहित्यकार हुन् । उनको जन्म विसं १९५७ मा धनकुटामा भएको तर पुख्र्यौली घर भने काभ्रे जिल्लाको कानपुर हो । उनी पिता काशीनाथ मैनाली खरदार (तत्कालीन समयका जिल्ला तहका हाकिम ?) भएर धनकुटा गएको समयमा माता काशीरूपाको कोखबाट जन्मिएका हुन् । गुरुप्रसाद मैनालीका बाउबाजे शिक्षित परिवार भएका हुनाले उनले पनि घरैमा शिक्षा आर्जन गरेका थिए ।

मैनाली युवावस्थामा प्रवेश गरेपछि दरबारका माहिला गुरुज्यू पण्डित हेमराज पाण्डेको निजी सहायक भएर काम गर्ने मौका पाए । त्यहाँ प्रशस्त साहित्य र दर्शनका पुस्तकहरु आउँथे । त्यो वातावरणले उनलाई साहित्य र समाजबारे अध्ययन गर्ने सुन्दर मौका मिलेको देखिन्छ ।

पं. हेमराजकै सिफारिसमा उनलाई तत्कालीन राजा त्रिभुवनकी आमा लक्ष्मीदिव्येश्वरी शाहलाई भारतका विभिन्न तीर्थस्थल भ्रमण गराउने मौका मिल्यो । त्यसले उनलाई देशविदेश, समाज, संस्कार, मानवीय चरित्र र विश्वास बारेमा अझ बढी जानकारी हासिल गर्ने मौका मिल्यो ।

तीर्थाटनबाट फर्किएपछि उनले जागिरका लागि परीक्षा दिए र बागलुङमा डिट्ठा भएर काम गरेको पाइन्छ । यसपछि उनको वृत्तिविकास हुँदै लप्टन, सुब्बा र न्यायाधीशसम्म भई नेपालका विभिन्न जिल्ला घुमेका थिए । त्यसक्रममा उनले स्थानीय रहन सहन, भाषा, संस्कृति, मानवीय व्यवहार आदिबारे मज्जैले बुझ्ने मौका पाए । न्यायाधीश भएपछि त मानिसका झैझगडा, मुद्दामामिला आदिबारे गहिरो अध्ययन गर्ने मौका मिल्यो । त्यसले नेपाल, नेपाली र हिन्दु संस्कारका बारेमा सूक्ष्म ज्ञान प्राप्त भयो । यी अनुभव उनले आफ्ना कथाहरुमा उतारेका छन् । 

जागिरका सिलसिलामा विभिनन्न ठाउँ घुमेका मैनालीलाई साहित्य सिर्जनातर्फ रुचि थियो । उनले आफूले देखे भोगेका कुराहरु साहित्य सिर्जनामा उतार्न थाले । त्यही क्रममा उनले नासो कथा विसं १९८४ मा लेखेका थिए । यो कथा विसं १९९२ सालमा शारदा पत्रिकामा प्रकाशन भएको थियो । २००२ सालमा पापको परिणाम कथा लेखेका कुरा उनले नै नासो कथा सङ्ग्रहको भूमिकामा लेखेका छन् ।

नासो कथा सङ्ग्रह (२०२६) मा मैनालीका ११ वटा कथाहरु सङ्कलन गरिएका छन् । तारानाथ शर्माले सम्पादन गरेको यस सङ्ग्रहमा झर्रो भाषाको प्रयोग गरेको अनुभव हुन्छ । यद्यपि शर्माले भनेका छन्– “वर्णविश्लेषणमा प्रचलित नेपाली भाषा प्रकाशिनी समितिको नियमको पालना गरिएको छ ता पनि ती नियम अपुग भएका ठाउँमा भने केही मत स्थिर गरी प्रयोगमा ल्याइएको छ ।”

यो सङ्ग्रहको प्रकाशन मितिबारे केही भ्रम भए पनि सङ्ग्रहको प्रकान २०२६ नै छ र तारानाथ शर्माले भूमिकाको अन्त्यमा ‘६–१२–१९६३ झोछेँ’ लेखेकाले नेपालीमा २०२० साल हुन आउने हुनाले भ्रम जस्तो देखिन गएको हो । तर सम्पादनको ६ वर्षपछि प्रकाशनमा आएको हुनसक्ने देखिन्छ ।   

नेपाली भाषाको मौलिक साहित्यको अभाव खड्किएको त्यस समयमा मैनालीले नेपाली मौलिक पहिचानसहितको कथा नासो लेखे । यस कथाले नेपाली कथाको आधुनिक कालको सुरुवात पनि गरेको छ । किनभने यसअघिका कथाहरु यथार्थ जीवनमा आधारित थिएनन् । यसले जीवनको यथार्थलाई देखाएको छ । त्यसभन्दा पर गएर नेपाली समाजलाई परोपकार र आदर्शको बाटोमा डोर्याउने लक्ष्य लिएको छ । नेपालीहरूको संस्कार, संस्कृति र सोचाइलाई पक्रेको छ । यस कथाका अतिरिक्त उनका छिमेकी, प्रायश्चित्त, पापको परिणाम, बिदा, परालको आगो, अभागी, शहीद, कर्तव्य, प्रत्यागमन र चिताको ज्वाला गरी जम्मा ११ वटै कथा नेपाली समाजको यथार्थ धरातललाई समाएर लेखेका छन् ।

प्रथम आधुनिक कथाकार मैनालीले यी सबै कथा यथार्थमा आधारित भएर कथावस्तुको निर्माण गरेका छन् । कथामा प्रयोग भएका पात्रका दृष्किोण पनि स्पष्ट गरी समायोजन गरेका छन् । कथामा उनले गाउँघरको सामाजिक जनजीवनको चित्रण गरेका छन् । तर अन्धविश्वास, रूढिवादी सङ्कीर्ण विचारधारा, कुरीति र अन्धपरम्पराग्रस्त समाजको ह्रासोन्मुख स्थितिमाथि करुणा दर्शाएका छन् । गरिब र सङ्घर्षशील परिवारको दयनीय जीवनको यथार्थलाई कथामा उतारेका छन् । ग्रामीण परिवेशका केही कुसंस्कारलाई कथामा बुने पनि उनले आदर्श समाजतर्फ डोर्याउने उद्देश्य उनका प्रत्येक कथामा पाइन्छन् । तसर्थ उनी यथार्थ धरातलमा रहेर आदर्शतर्फ डोर्याउने कथाकारका रुपमा चिनिन्छन् ।

सामाजिक यथार्थवादी कथामध्ये चिताको ज्वाला कथा पाठक समक्ष प्रस्तुत गरिएको छ । यस कथामा मैनालीले तत्कालीन समाजमा प्रेम फक्रने वातावरण कस्तो थियो भन्ने चित्रण गरेका छन् । प्रेमी हरि र प्रेमिका शशीबीच स्कुले जीवनदेखि मौलाएको प्रेम पुराना भारदारका सन्तान अर्थात कथित उच्च खानदानी केटोसँग शशीको बिहे गरिदिएर  उनीहरुको जीवन नै सर्वनासतर्फ धकेलिएको देखाइको छ । धनाड्य परिवारको केटो पाएपछि आफ्नी छोरीलाई कौडी जत्ति पनि नठानी बिहे गरिदिएका छन्, केटाको चरित्र कस्तो छ भन्ने सोधखोज नै नगरी सुम्पिएका छन् । शशीको बिहे भएपछि हरि एक्लै मुर्मुरिन्छ र सम्पूर्ण नारीप्रति पुरुषप्रधान समाजले गरेको दमन, अवमूल्यन र शोषण बारे आफ्नो धारणा व्यक्त गर्छ । यो कथा मैनालीको नारीप्रति सम्मान गर्ने एक प्रमुख दृष्टिकोण पनि हो । पढ्नुहोस् उनको चिताको ज्वाला कथा ।

 

चिताको ज्वाला

गुरूप्रसाद मैनाली

 

“शशी ! बिहे गछ्र्यौ ?”

“अनुहार नपरेको मुख !” शशीले चोसो पसारेर भृकुटी खुम्च्याएर आँखा तर्दै भनिन् ।

“भन्दिनौ पोक्ची ! ल्याऊँ गँगटो ?

“सानुदाइ ! बिन्ती छ, भन्छु ।”

“लौ भनन त ।”

“के भन्ने ?”

“बिहे गछ्र्यौ कि गर्दिनौ ?”

“गर्छु ।”

“कससँग गछ्र्याै ?” मैले हाँसेर भने ।

“नाइँ त्यो त भन्दिनँ, छुचो मान्छे !” शशीले नाक खुम्च्याएर भनिन् ।

“साँच्चै ल्याऊँ गँगटो ?”

“आमै ! सानुदाइ बिन्ती भन्छु, सत्य भन्छु !”

“भनन त बोक्सी, कससँग बिहे गछ्र्यौ ?”

“तपाईंसँग !”

“हो, त्यसै भन्नुपर्छ ।

 

अचेल अलि छिचरो जस्तो लाग्ने यो विनोद आजको होइन । हिजो अस्तिको पनि होइन । अघि धेरै वर्षअघि, शैशवकालको हो । त्यसबेला हामीसँगै पढ्थ्यौँ । शशी नौ–दस वर्षकी थिइन्, म बाह्र तेह्र वर्षको हुँदो हुँ । कति राम्री थिइन् ती केटी ! असाध्य हिस्सी परेको मुख, ठूला–ठूला आँखा, थम्मरथुम्मर परेको पुष्ट शरीर, शशीको शिरदेखि पैतालासम्म निर्दोष सौन्दर्य नाचिरहेको थियो । पुतलीझैँ उफ्रँदै हिँड्थिन् । किन हो कुन्नि ती सरल कुमारीलाई बारम्बार बाटो छेकेर गिज्याउनमा मलाई अत्यन्त आनन्द लाग्थ्यो । किन्तु वासनाको लेश थिएन, केवल विशुद्ध बालक्रीडा, सरल मनोविनोद मात्र ।

संसारका दुःखद् पीरले अलिकता पनि छोएको थिएन । अलिकति पढ्नु र दिनरात हाँस्नु–खेल्नु सिवाय अरू केही काम थिएन । कति रमाइला थिए ती दिन, सदा उन्मुक्त, सदा आनन्दमय ।

अलिअलि गरेर दिन बिते, महिना बिते, वर्ष पनि बित्दै गए । शशी ठूली हुँदै गइन् । स्कुलको पढाइ छोडेर घरै बस्न लागिन् । शशीको घर नजिकै पल्लापट्टि थियो । स्कुल छोडे पनि शशीले हाम्रो घरमा आउन छोडेकी थिइनन् । प्रायः सधैँ भनेजस्तो हाम्रा घरमा आउँथिन र धेरै बेरसम्म बहिनीहरूसँग खेलेर जान्थिन् । तर म अब शशीलाई अघिकाझैँ गिज्याउँदैनथेँ । त्यसबखत म शशीसँग अलि–अलि प्रेम गर्न लागिसकेको थिएँ ।

केही वर्षपछि स्कुलको पढाइ समाप्त गरेर म बनारस गएँ र विश्वविद्यालयमा पढ्न थालेँ । शशी बराबर सपनामा देखा पर्थिन् । सपनामा पनि उस्तै राम्री, उस्तै सरल, उस्तै रसिली ।

 

दुई वर्षपछि गर्मीको छुट्टीमा घर आएँ । भालिपल्ट शशी भेट्न आइन् । उनी अब किशोरी भइसकिछिन् । बालककालको त्यो थम्मरथुम्मर परेको जिउ छाँटिएर झन् हेरिरहुँ भनेजस्तो भएछ । तरुणी युवतीका झैँ गर्दन अलि मोटो भएर आएछ । शरीरको पृष्ठ भाग स्थूल भएछ । छातीमाथिको सारीको सप्को अलि उठेजस्तो देखिन लागेछ ।

सिँगार–पटार पनि गर्न थालिछन् । निधारनेर अलिकता घुमाई दुवै कानलाई आधासम्म ढाकेर खुकुलो चुल्ठो बाटेकी । कानमा उज्ज्वल यारिङ हल्लिरहेका, नाकमा चिट्ट परेको हीराको फुली र ललाटमा सानो रातो बिन्दी लगाएकी, गोरा गोडामा हरिया रङका बुट्टे चप्पल पैरेकी । बालककालको चञ्चलता हटेर अलि गम्भीर भैछिन् । तरुणी युवतीका झैँ अलि रहस्य र व्यङ्ग्य भाव मिसाएर कुरा गर्न लागिछिन् । ती कमलपत्रजस्ता ठूलाठूला आँखा केही चञ्चल भएर आएछन् । त्यसमा नजानिदो हल्का गुलावी रङ भरिएछ ।

शशीको जीवनमा यति ठूलो परिवर्तन भएको देखेर म आश्चय भएँ । मैले अलि हाँसेजस्तो गरेर भनेँ– “कति राम्रो स्वाएको !”

शशीले मुसुक्क हाँसेर भनिन्– “मन प¥यो ?”

“असाध्य !”

फेरि एक छिनपछि मैले भनेँ– “शशी ! नानीलाई सञ्चै छ ?”

“सञ्चै छ, तपाईंलाई नि ?”

“सञ्चै छ भन्नुप¥यो, नानी त अब ठूली भइछ्यौ !”

शशीले अलि लाज मानेजस्तो गरेर भनिन्– “आफूलाई कसले भन्देओस् नि ! मान्छेको जुँगाको रेखी पनि बसिसकेछ । कति अग्लो भाको नि ! स्वर पनि धोत्रो धोत्रो जस्तो !”

केही बेरपछि लाडे भएजस्तो गरेर भनिन्– “बनारसमा गएर एउटा चिट्ठी पनि नलेख्ने, माया नभाको मान्छे !”

वास्तवमा बनारसमा गएदेखि मैले आफ्नो दौँतर कसैलाई पनि चिट्ठी लेखेको थिइनँ । त्यस बखत मलाई आफ्नो अल्छी स्वभावका उपर सारै खेद लाग्यो । मैले मैले विनोदको भावले हात जोरेर भनेँ– चिट्ठी नलेखेको अपराध माफ पाऊँ महारानी !”

 

“बाबै ! कति स्वाङ पार्न जानेको ! हामी दिँदैनौँ कसैलाई माफसाफ ।”

अनि मैले धेरै बेरपछि भने– “नानी, हामी सानो छँदा स्कुलमा भन्या कुरा बिस्र्यौ कि ?”

शशीले मलिन अनुहार लाएर सतृष्ण नेत्रले भनिन्– “बाटो छेकीछेकीकन हजार चोटि घोकाएको पाठ कसरी बिर्सनु ? बिर्सूं भनेर बल गर्दा पनि बिर्सन सक्तिनँ ।” अनि जाने बेलामा भित्तापट्टि मुख लुकाएर भनिन्– “सानुदाइ ! यस पालि त मलाई पनि लैजानुहोस् है ?”

मैले ठट्टाको भावले भने– “यस पालि होइन, आघौँ । आमासँग मागेर, बुबासँग मागेर, बाजा बजाएर, डोली चढाएर !”

शशी आँखा तरेर लाज मानेर हाँस्दै गइन् ।

 

परीक्षाफल प्रकाशित भयो । यस सालको बीएको परीक्षामा म सर्वप्रथम भएँछु । बेलुका टी–पार्टी भयो । भालिपल्ट साथीहरूले मलाई राखेर फोटो खिचाए । स्थानीय ‘संसार’मा मेरो चित्रसहितको परिचय प्रकाशित भो । बाहिरफेर जाँदा मानिसहरू मलाई टाढाबाट औँल्याएर देखाउँथे ।

यस विजयका मारे मेरा भुइँमा गोडा थिएनन् । असिम आनन्द भइरहेको थियो । मनमनले भन्थेँ– “मेरो यस सफलताको खबर पाउँदा शशी कति खुशी होलिन् !” त्यहीबेला पिउनले मेरा हातमा एउटा चिट्ठी दिएर गयो । खोलेर हेरेँ, मेरा बाल्यमित्र महेशले लेखेका रहेछन् ।

 

प्रिय हरि,

नमस्ते !

बीएको परीक्षामा तिमी सर्वप्रथम भएछौ । नेपाली छात्रहरूका निम्ति गौरवको कुरो हो । यो समाचार सुनेर तिम्रा पूरा अध्यापकहरू र सबै मित्रवर्ग समेत आनन्दित छौँ, सफलताका निमित्त बधाई छ ।

तर तिमीलाई अप्रिय समाचार सुनाउनुपर्दा खेद लागिरहेछ । अस्ति वसन्त पञ्चमीका दिन शशीको विवाह भयो । दुलाहा को हो पुराना भारदारका सन्तान अरे । दुलाहा मेरा मित्र हरि जस्तो राम्रो रहेनछ । फेरि बडो चरित्रहीन छ अरे ।

तिमी यसतर्फ कहिले हिँड्छौ ? खबर देऊ । हामी बाटासम्म लिन आउँछौँ ।

तिम्रो बाल्यसखा

महेश

 

चिट्ठी पढिसकेपछि एकदम छाँगाबाट खसेजस्तो भएँ । एक घडी अघिको त्यो मेरो हर्ष र उल्लासको स्रोत एक छिनमा सुकेर मरुस्थल भयो । एक पटक शशीमाथि पनि क्रोध उठ्यो । त्यही उत्ताउली केटीको आग्रहले पो बिहा गरिदिएका हुन् कि ? नारी जातिको के विश्वास ? तर शशी त्यस्ती निष्ठुरीजस्ती थिइनन् । आजसम्मको उनको कुनै व्यवहारबाट पनि मैले निष्ठुरताको आभास पाउन सकेको थिइनँ । मेरोप्रति उनको अटल अनुराग थियो । जे होस्, अब शशी अर्कैकी भइन्, उनमा मेरो तिलभर पनि अधिकार रहेन । मनमनले भनेँ– “मायाँ नभएकी पापिनी, बालखकालदेखि हजारौँ पटक गरेको प्रतिज्ञा बिर्सेर तिमीले मेरो जीवनको अनन्त अभिलाषालाई कुल्चेर फालिदियौ ।”

शशीको मनोहर मूर्ति आँखाका सामुन्ने आएर नाच्न थाल्यो । कहिलेकाहीँ उनको भावी जीवनको चिन्तन पनि उठ्थ्यो । पति उति राम्रो छैन अरे । स्वस्थ, फरासिलो, आफ्नी स्वास्नीलाई प्रशस्त माया गर्ने भए त नराम्रो भए पनि उति हानि थिएन । तर चरित्रहीन पनि छ अरे । चरित्रहीन भन्नले झट्ट जुवाडे, जँड्याहा, रण्डीबाजको बोध हुन्छ । एकमाना खान पुगेका हाम्रा पुराना खानदानका युवकहरू प्रायः धेरैजसो त्यस्तै हुन्छन् । त्यसो भए आफ्ना दुश्चरित्रपतिका पापको कठोर दण्ड निरपराधिनी शशीले जीवनभर भोग्नुपर्ने भयो । सौभाग्यरात्रिको प्रथम सम्मिलनमा पतिका श्वासबाट रक्सीको घिनलाग्दो दुर्गन्ध आउँदा शशी कसरी तर्सिहोलिन् । उनका हृदयमा एक तमासको विरक्त भावना उठ्यो होला । केही कालपछि पतिले बाहिरफेर स्वास्नी राखेर आफूमाथि स्नेह घटाउँदै गएर हेलाँ गर्ने, बातैपिच्छे झर्कने, नबोल्ने, गाली गर्ने, धेरै रात बितेपछि गन्हाउने मुख लिएर लर्खराउँदै कोठाभित्र पस्ने गर्यो भने त्यसबेला विचरी शशी के भनिठान्लिन् ।

धेरै दिनसम्म यस्तै तर्क–वितर्कले मन व्यथित भइरह्यो । यस आन्तरिक क्लेशका मारे दुई चार दिन बाहिर पनि निस्किनँ । अब यो छली र स्वार्थी जगत्मा मेरा निमित्त एकान्तमा बसेर अध्ययन गर्नु सिवाय अर्को मार्ग केही थिएन । घर जाने योजना छोडेर फेरि पढ्न लागेँ ।

 

अर्को सालको छुट्टीमा फेरि घर आएँ । भोलिपल्ट बिहान कौसीमा मुख धुन गएको, शशी पनि आफ्नो कौसीमा उभिएकी रहिछन् । पूर्णचन्द्रका झैँ उज्ज्वल कान्ति, कपालमा सिन्दुरको चहकिलो रातो रेखा, हल्का गुलाबी रङ भरिएका ठूला ठूला नेत्र, कटिसम्म लर्केको लामो चुल्ठो, पुष्ट वक्ष, डोलाडोला पाखुरा साक्षात् महामायाजस्ती देखिन्थिन् । तन त्यो विपुल यौवन र अनन्त रूपराशिले भरिएको मुख–मण्डलमा विषाद् र नैराश्यको गहिरो छाया परिरहेको थियो ।

शशीले अनुरागपूर्ण नेत्रले मेरा मुखतिर हेरेर भनिन्– “सानुदाइ ! कहिले पाल्नुभो ?”

“हिजो राति !”

“बाबै ! हिजो दख्खिनतिर कस्तो बादल उठिरहेको थियो ! बाटामा पानीले भिजायो होला ?”

“अलिअलि छिटाछिटीसम्म ।”

“कति दुब्लो हुनुभएको ? सञ्चो छैन क्यार ?”

“बाँचिरहेको छु ।”

एक छिनपछि मैले हाँसेजस्तो गरेर भनेँ– “नानीको बिहे पनि भएछ, खोइ मलाई बिहा भाग ?”

“के देऊँ ? भन्नुहोस् ! मसँग भएको सबै कुरा टक्र्याउँछु ।”

“सत्य ?”

“सत्य ।”

“मेरो मासु खाने ?”

शशीले जिभ्रो टोकेर आँखा ठूला ठूला तुल्याएर भनिन्– “छिः, आइमाईले पनि त्यस्तो किरिया हाल्नु हुन्छ ?”

मैले निश्वास झिकेर भनेँ– “भैगो ! कुनै दिन चाहिए माग्नुपर्ला !”

एक छिनपछि उनले हाँस्ने चेष्टा गरेर सतृष्ण नेत्रले भनिन्– “सानुदा, तपाईं बिहे नगर्ने ?”

कससँग गरूँ ? अब यसै बस्ने विचार गरेको छु ।”

शशीको मुखाकृति बिग्रेर आयो । ओठ टोकेर मपट्टि हेरिन् । उनका आँखाबाट आँसुका ठूला ठूला थोपा झर्न लागे ।

केही बेरपछि क्षोभले लामो सास फेरेर शशीका मुखपट्टि हेरेर मैले भनेँ– “नानी, सानुदाइलाई ढाँट्यौ ।”

शशीले रुञ्चे मुख लागाएर गहभरि आँसु पारेर कम्पित स्वरले भनिन्– “कुन्नि कसले पो ढाँट्यो ! सानुदाइ, तपाईंले मेरो जीवन डुबाइदिनु भयो ।”

एक छिनपछि सारीको छेउले आँसु पुछेर शशीले फेरि भनिन्– “सानुदाइ, किन हो किन अब मलाई धेरै दिन बाँचुलाजस्तो लाग्दैन । मेरो जीवनको अन्तिम दिनमा आएर मलाई एक पटक दर्शन दिनुहोला है ? भन्नुहोस् त आउनुहुन्छ ?”

मैले अन्यमनस्क भावले भनेँ– “हुन्छ, खबर पठाउनू, आउँला ।” फेरि एक छिनपछि शशीले हाँस्ने चेष्टा गरेर भनिन्– “चिट्ठीमा के भनेर लेखूँ ?”

“मेरो मर्ने बेला भयो, चाँडै आउनुहोस् भनेर लेख्नू, अरू के लेख्ने !”

“त्यसो भनेको होइन, चिट्ठीको शिरमा तपाईंलाई के सम्बोधन गरेर लेखूँ भनेको ?”

“ए ! प्रियतम्, प्राणनाथ, हृदयेश्वर, जीवनधन भनेर लेख्नू । भन त त्यसो भनेर लेख्न सक्छ्यौ ?”

“त्यसै भनेर लेखूँ भनेजस्तो लाग्छ, सङ्कोचले आजसम्म लेख्न सकेको थिइनँ । आज्ञा भए लेख्न सक्छु ।”

अनि मैले भनेँ– “भैगो, ती उट्पट्याङ शब्दहरू लेख्न पर्दैन । खालि सानुदाइ, म मृत्युशय्यामा छु, चाँडो आउनुहोस्’ भनेर लेख्नू । मलाई तिमीले ‘सानुदाइ’ भनेको नै सबैभन्दा प्यारो लाग्छ ।”

“कुन्नि कसले पो ढाँट्यो ।” शशीको यो वाक्य तिखो काँडाजस्तो भएर मेरो मुटुमा बिझिरहेको थियो । त्यही बेला चियाको कप–प्लेट लिएर भाउजू कौसीमा आउनु भयो । भाउजूलाई देखेर शशी आफ्नो कोठाभित्र पसिन् । भाउजूले चियाको कप–प्लेट मेरो हातमा दिएर भन्नुभयो– “बाबु ! शशीको कुरो सुन्नु भएको छ ?”

मैले विस्मयको भाव देखाएर भनेँ– “अहँ ।”

भाउजूले भन्नुभयो– “लोग्ने बौलाहाजस्तो रैछ । रक्सी खाएर तोप चल्ने बेलातिर घरमा आउँछ अरे । सानो सानो कुरामा फरेव थपेर कुटिरहन्छ अरे । अस्ति तिहारमा जुवा खेल्न गहना दिइन भनेर नली–नलीले ठटाएछ । भाइटीकामा आउँदा आङभरि नील देखाउँथी बाह्रमासे खेलेर ढुटी–माटी पार्न लागिसक्यो भन्छन् । हिजोआज कता हो, जारी मुद्दा परेको छ अरे । फेरि दस बाह्रजना जहानको भात पकाउने, भाँडा माझ्ने काम शशीले नै गर्नुपर्छ अरे, बिचरीलाई कस्तो राक्षसका हातमा सुम्पेछन् ?”

मैले उपेक्षाको भाव देखाएर भनेँ– “रोजेर बिहे गरिमागेको फल !”

“बिचरी, रोजेर गरिमागेको हैन । ‘म त्यस केटासँग मारे पनि बिहा गर्दिनँ’ भन्दैथिई । कामकुरा  छिन्ने ताक पाँच छ दिनसम्म हामीकहाँ आएर रोइरही । तीन चार छाक त भात पनि खाइन । बाबु घरानिया केटो खोज्दै हिँडेका थिए । त्यस्तालाई सुम्पेछन् । के गर्नु बा ! आइमाईको कर्मै हारेको !”

मैले लामो निश्वास फेरेर भनेँ– “त राम्रो–नराम्रो, सज्जन–दुर्जन, रोगी–निरोगी, जँड्याहा–जुवाडे जस्तालाई दिए पनि नाइँ भन्न नपाइने, दान दिएकी गाईझैँ त्यसैका पछि पछि घिच्चिएर जानुपर्ने, त्यसले जस्तोसुकै सास्ती–शासन दिए पनि सहेर बस्नुपर्ने नारी जातिका निमित्त यो एउटा महान् बिडम्बना हो भाउजू !”

भाउजूको कुरा सुनेर मेरो हृदयमा अपार पीडा भयो । जान्ने भएदेखि नै मेरा मनमा नारी जातिका प्रति असीम श्रद्धा र आदर छ । म नारी जातिलाई मानव–जीवनको प्रधान अङ्ग सम्झन्छु । तिनीहरूलाई हामीले परम पूज्य जननीका रूपमा स्नेहमयी दिदी–बहिनीका रूपमा, प्रेममयी पत्नीका रूपमा पाएका छौँ ।  तिनको पवित्र कोखबाट हामी युगयुगान्तरदेखि जन्म ग्रहण गरिरहेका छौँ । तिनबाट हाम्रा क्षुधा, तृष्ण र वासनाको अपार तृप्ति भएको छ । संसारको जल्दो ज्वालाले पोलेको बेलामा हामीले तिनका शीतल छायामा विश्रान्ति पाएर दुःख बिर्सेका छौँ । लाखौँ नारी हाम्रा मृत शरीरका साथ जिउँदै जलेर खरानी भए । लाखौँ नारीले हाम्रा शोकमा यावत् जीवन वैधव्यको कठोर यन्त्रणा सहेर तपस्या गरिरहेका छन् । लाखौँ–करोडौँ नारी हाम्रा सुखदुःखका साथी भएर दिनरात हाम्रो सेवा गरिरहेका छन् । त्यो महान् त्याग र निःस्वार्थ सेवाका बदलामा हामीबाट तिनले एकान्त रोदन, कठोर लाञ्छना, घृणित तिरष्कार, दारुण यातना र भोजन पछिको उच्छिट अन्न सिवाय अरू केही भेट्टाएका छैनन् । संसारमा नारीको सङ्ख्या प्रयाप्त हुनाले पुरुष जातिले तिनको मूल्य जानेन । वस्तुको मूल्य अभावमा थाहा हुन्छ । एक गिलास पानीको मूल्य उत्तप्त निर्जल मरुभूमिमा पुगेर प्यासले व्याकुल हुँदा थाहा पाएका छौँ । आज संसारबाट समस्त नारी जाति अन्तध्र्यान भइदिए यो सुन्दर जगत् कति रुखो र बीभत्स हुँदो हो ! यसका समस्त भौतिक सृृष्टि कति चाँडो विनाश हुँदा हुन् ! अनि पुरुष जातिले नारीको मूल्य थाहा पाउने थियो । नारीको सम्मान  र आदर गर्न नजान्नेले नै हाम्रो जीवन शोक र कलहमय भइरहेछ । नारीको अवयव स्वभावले नै कोमल र मधुर हुन्छ । तिनबाट पशुका झैँ कठोर श्रम लिनु कत्रो अविचार र अन्यायको कुरा हो ।

शशी सानो कीट–पतङ्ग देख्दा पनि तर्सेर भाग्थिन् । तिनका सुकुमार शरीरमा नील पर्ने गरेर प्रहार गर्दा बिचरीलाई कति पीडा भयो होला, कति भयभीत भइन् होलिन् ? त्यो रात भोकै बसेर धेरै बेरसम्म एक्लै रोइरहि होलिन् इत्यादि कुरा सम्झेर मेरो मन एक तमासको भो ।

शशी अलि मानिनी र हठी थिइन् । नारी–जातिको स्वभावैले मानिनी हुन्छन् । कहिलेकाहीँ कुनै कुरामा हठ र मान झिकेर पुरुषसँग अनुनय विनय लिन उनीहरूलाई बडो रहर लाग्छ । शशीले कुनै दिन त्यस्तै प्रणय–मान झिकेर नबोलेकी भए त्यस बेला “किन रिसाएकी लाटी, यता आउन !” भनेर हात लम्काएको भए शशी कति फुरुक्क परेर हाँस्दै अघि सर्दी हुन् । परमेश्वर ! यदि शशी मेरी हुँदी हुन्... !

एमएको परीक्षा समाप्त भयो । अब म आफ्नो भावी कार्यक्रमको विचार गर्न लागेँ । कहिले कुनै एकान्त ठाउँमा गएर तपश्चर्या गरूँ भन्ने भावना उठ्थ्यो । कहिले विश्व–भ्रमण गरेर भ्रमणका विषयमा आफ्नो भाषामा एउटा ठूलो सचित्र ग्रन्थ लेखूँ भन्ने इच्छा हुन्थ्यो । कहिले कुनै सार्वजनिक क्षेत्रमा प्रवेश गरेर यावत् जीवन दीन–दुःखीको सेवा गरी बिताइदिऊँ भन्ने लाग्थ्यो । मन विचारको हावामा उडिरहेको थियो ।

एक दिन बिहानै छात्रवासको दरवानले एउटा मैलो कच्याक–कुचुक भएको लिफाफा मेरो हातमा दिएर भन्ने– “बाबु ! देखिए तो, यह आप का पत्र है ?”

लिफाफामा आफ्नो नाम देखेर भनेँ– “हाँ भाइ, मेरा ही है, किस ने दिया था ?”

“कल साम एक नेपाली औरत दे गई थी ।”

“वह नेपाल से आई थी या यहीँ बनारस की रहनेवाली थी ?”

“नेपाल से तीर्थयात्रा के लिए आई थी ।”

“कैसी थी ?”

“अधेड उम्र की विधवा औरत थी ।”

नेपालबाट आएकी विधवा आइमाईले चिट्ठी दिएको भन्ने सुनेर मन झसङ्ग भयो । को विधवा आइमाई होलिन् ? सहरदेखि यति टाढासम्म आएर चिट्ठी दिएर गइछन् । घरका चिट्ठी त बराबर डाँकबाटै अइरहेका छन् । परमेश्वर ! शशीको कुनै अनिष्ट समाचार त होइन ? चिट्ठी खोलेर हेरेँ–

 

सानुदाइ,

दण्डवत् र प्रगाढ माया !

धेरै दिनदेखि परमेश्वरसँग मृत्युको याचना गरिरहेकी थिएँ, किनकि मजस्ती अभागी स्वास्नीले बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर छ । ईश्वरले अबलाको पुकार सुनेछन् । तीन महिनादेखि मृत्युशय्यामा परिरहेकी छु । डाक्टर–वैद्यहरू बाँच्ने आशा छैन भन्दछन् अरे, बाँच्ने इच्छा पनि छैन । तपाईंको दर्शनको सारै अभिलाषा लागिरहेछ । एक पटक आफ्नी शशीलाई दर्शन दिएर जानुहोस् ।

हतभागिनी

शशी

 

चिट्ठी पढिसकेपछि मलाई एकैपटक एक हजार बिच्छीले चिलेजस्तो भयो । उत्निखेरै एउटा टाँगा ल्याउने आज्ञा दिएर बेडिङ होल्डर र एउटा सुट्केस टाँगामा हालेँ र स्टेसनतिर रवाना भएँ ।

पर्सिपल्ट राति नौ बजे घर पुगेँ । ट्रेन चेन्ज गर्न भूल गरेको थिइनँ तर बाटामा कहाँ–कहाँ केके दृश्य देखेँ, कसकससँग भेट भयो, तिनीहरूसँग केके कुरा गरेँ, त्यो मलाई स्मरण रहेन ।

भोलिपल्ट बिहानै शशीकहाँ पुगेँ । एउटा स्वच्छ शय्यामा शशी दोलाई ओढेर सुतेकी रहिछन् । दुब्ली, काँडा टक्टक्याएजस्ती । त्यो दीप्तिमय सुन्दर कान्ति फुङ्ग उडेको छ । खाट नजिकैको खाली कुर्सीमा बसेँ । शशीले मलाई देख्नासाथ सजल नेत्रले तर अलिकति हाँस्ने चेष्टा गरेर भनिन्– “कहिले पाल्नुभो ?”

“हिजो राति, नानीलाई कस्तो छ ?”

शशीले आँखाले आकाशतिर इसारा गरेर भनिन्– “जाने बेला भो ।”

मेरो छाती रुमल्लिएर आयो । बारम्बार डाँको छोडेर रूँ भनेजस्तो लाग्थ्यो । एक छिनपछि शशीले मेरो हात समातेर आफ्नो छातीभित्र राखेर भनिन्– “छाम्नोस् त, यहाँ कस्तो भइरहेछ, सारै दुखिरहन्छ ।”

नभन्दै शशीको छाती हिउँजस्तो चिसो थियो । स्पर्श पाएर शशीले एकछिन् आफ्नो सारा दुःखपीर बिर्सेजस्तो बुझिन्थ्यो । केही बेरपछि सजल नेत्रले मेरो मुखपट्टि हेरेर भनिन्– “सारै दुब्लो हुनुभएछ, सञ्चो छैन क्यारे ?”

मेरो गहभरि आँसु भयो । छातीमा हात राखेर भनेँ– “के भनूँ, बा ! चित्त ठेगानमा छैन । मन कता हो कता उडिरहन्छ । यहाँभित्र पीडा र वेदनाका ठूला ठूला फोका उठिराखेका छन्, दुख्छ, डहन्छ । अब सानुदाइ पनि धेरै दिन... ।”

शशीका आँखाबाट अविरल आँसुका धारा बग्न लागे । एक छिनपछि शशीले हात जोरेर कम्पित स्वरले भनिन्– “सानु दाइ, बालखकालदेखि आजसम्म मैले तपाईंसँग केही कुरा भनेको छैन, यस जीवनको शेष दिनमा एउटा कुरो भन्छु मान्नु हुन्छ ?”

मैले उत्सुकताका साथ भनेँ– “भन, तिमीले भनेको जे कुरा पनि मान्छु ।”

“तपाईं बिहा गर्नुहोस् है ।”

मैले अत्यन्त आनन्दको भाव देखाएर भनेँ– “हुन्छ बा ! नानीलाई सञ्चो होस्, राम्ररी हिँडडुल गर्न लाग, अनि गरूँला है ?”

शशीले आश्चर्य भएर भनिन्– “मसित बिहा गर्ने ?”

“अनि कोसित त, तिमीजस्ती नारीरत्न मैले संसारमा अर्को को पाउँछु ?”

“मैले फेरि बिहा गर्नु हुन्छ र ?”

मैले गम्भीर भावले भनेँ– “हुन्छ– हुँदैन त्यो त म निश्चय गरेर भन्न सक्दिनँ । तर केही आइमाईले त्यसो पनि गरेका छन् ।

एक छिनपछि शशीले अनुहार मलिन तुल्याएर भनिन्– “नाइँ बा म त गर्दिनँ ।” धेरै बेरपछि शशीले मेरा मुखमा हेरेर कम्पित स्वर पारेर भनिन्– “सानुदाइ, मैले मन छाम्न भनेकी होइन । हृदयदेखि नै भनेकी हुँ । यस संसारबाट बिदा हुनुभन्दा पहिले एउटी राम्री, सुशील कन्यासँग तपाईंको बिहा गराइदिएर, परमेश्वरले यस अभागिनीको प्रार्थना सुनिदिए, तपाईंको नवजात सन्तानलाई एक पटक काखमा राखेर, अनि यो एक मुठी सास तपाईंका सामुन्ने छोड्नाको मलाई सारै अभिलाषा छ । बिन्ती छ, आफ्नी शशीको यो सानो प्रार्थना अस्वीकार नगर्नुहोस् ।”

मैले लामो निश्वास फेरेर भनेँ– “कोसँग बिहा गर्ने ?”

शशीले भनिन्– “मैले कन्या खोजेर ठिक्क पारेकी छु ।”

मैले अलि हाँसेजस्तो गरेर भनेँ– “नानीजस्तै ?”

“मभन्दा पनि राम्री, मभन्दा पनि असल ।”

“बिहा गछ्र्यौ बा ! भन्दा उस्तै चासो पसारेर आँखा तरेर ‘अनुहार नपरेको मुख’ भन्ने ?”

“हो !”

मैले लामो निश्वास फेरेर भनेँ– “कोसँग बिहा गछ्र्यौ भन्दा नाक खुम्च्याएर ‘तपाईंसँग’ भनेर जाने ?”

शशीले आँसुका ठूला ठूला थोपा खसालेर आकृति बिगारेर ओठ टोकेर भनिन्– “सानुदाइ, तपाईं बिर्सन लागिसकेका कुराहरू कोट्याउँदै सुनाउँदै मेरो भित्र कता हो कता नदेखिने ठाउँमा चिमोट्नु हुन्छ ।”

शशीका मुखमा मानिस मूर्छा हुनुभन्दा पहिले हुने चेष्टाहरू देखिए । मैले झटपट चिसो रुमालले शशीको मुख पुछेर उनको कपाल सुम्सुम्याउँदै भनेँ– “एउटा भाग्यवान् युवकसँग विवाह हुनसक्ने अर्काकी छोरीको जिन्दगी म किन बिगारूँ बा ! आफ्नो पतिबाट जुन अमूल्य निधि पाउनाले नारी सुखी र भाग्यमानी हुन सक्छन्, त्यो वस्तु एउटी निठुरी केटीले अघिबाटै मसँग खोसेर लिइसकेकी छ, मसँग केही छैन । म रित्तो छ, भिखारी छु ।”

मेरो कुरा सुनेपछि शशीको आकृति फेरि बिग्रियो । मूर्छा परिन् । मैले शशीका मुखमा पानी छम्केर, पङ्खा हम्केर सचेत गराएँ । अनि धेरै बेरपछि मैले भनेँ– “नानी, बेथा बिसेक भएपछि तिमी र म भागेर टाढा धेरै टाढा नेपालका कुनै मानिसले पनि नदेख्ने ठाउँमा गएर बसौँ है ? भन त मसँग भागेर जान सक्छ्यौ ?”

शशीले भनिन्– “कस्तो छ त्यो ठाउँ ?”

मैले भनेँ– “त्यहाँ पतिवियोगमा जलेर मर्ने सती नारी र पत्नीवियोगमा यावत् जीवन विधुर भएर बस्ने पुण्यात्मा पुरुषहरूको निवास छ । त्यहाँका पक्षीहरू प्रेमका गीत गाउँछन् । त्यहाँका नद–नदी, सरिताहरूमा प्रेमजल प्रवाहित हुन्छ । त्यहाँ दिन–रात प्रेमसमीर बहन्छ । तरु–पल्लवहरू परस्पर प्रेमको आलिङ्गन गर्छन् । त्यहाँ भोक, ताप, तृष्णा, निद्रा केही छैन । त्यहाँ केवल प्रेमको साम्राज्य छ । तर त्यस प्रेममा वासना छैन । प्रेमलाई त्यहाँ स्वर्गीय वस्तुमा गणना गर्छन् । भन त जान्छ्यौ ?”

शशीले लामो सास फेरेर भनिन्– “मैले त्यहाँ जानु हुन्छ र ? हुने भए जान्छु ।”

“किन ?”

“म त...”

एक छिनपछि डाक्टर आए । डाक्टर मेरा मित्र विनोद रहेछन् । उनले मलाई देख्नासाथ आश्चर्यको भाव देखाएर भने– “अहो हरि ! नमस्ते भाइ, कहिले आयौँ ?”

मैले अँजुली जोरेर भनेँ– “आउँदैछु दाइ ।”

“सञ्चै छ ?”

“चलिरहेछ !”

“तिमी यस पटक पनि प्रथम होलाऊ भन्ने लागेको थियो, तेस्रो स्थान दखल गरेछौ । त्यो पनि कम होइन ।”

विनोदले जाँच गरे । औषधि र पथ्यको व्यवस्था मिलाएर उठे । म पनि सँगै छिँडीसम्म आएर सोधेँ– “रोगीको हालत कस्तो छ दाइ ?”

“सिरियस, रक्त बिलकुल शेष भइसकेको छ । मुटुको गति एकदम मन्द छ । मानिसलाई कुनै कडा मानसिक आघात पर्यो भने यो व्यथा हुन्छ भन्ने लेखेको छ । बस्, अब यही एक डेढ महिनाको कुरा सम्झ ।”

“विदेशको कुनै ठूलो ठाउँमा लगेर औषधि गरे बाँच्न सक्छिन् कि ? आशा भए म आफ्नो सर्वस्व अर्पण गर्न तयार छु ।”

“असम्भव !”

विनोद गए । मेरा अन्तस्तलमा दुःखको कोलाहल मच्चिन थाल्यो । मेरो नूतन जगत्मा कालो यवनिका यति छिटो पतन होला भनेर मैले सपनामा पनि चिताएको थिइनँ  । मनमनले भनेँ– “परमेश्वर ! अब केही दिनमा शशीको मृत्यु हुन्छ । उनको निर्जीव देहलाई बोकेर स्मसानमा लैजान्छन् । अनि एक छिनपछि उनको त्यो अनन्त रूपराशि चिताको ज्वालामा जलेर खरानी हुन्छ ! शशी ! मेरी बाल्यसखे ! मेरी चिरस्मृति ! मेरी प्रेम प्रतिमा ! तिम्रो मृत्युको त्यो हृदयविदारक दृश्य मैले कसरी हेर्ने ?”

“शशी चिरायु होस्, तिम्रो, म सधैँ देख्न पाउँला

तिम्रो मधुर वाणी नै सुनी चित्त बुझाउँला !”

 

(यो कथा गुरुप्रसाद मैनालीको नासो कथासङ्ग्रह (तेह्रौँ संस्करण २०४९) बाट साभार गरिएको हो । यस सङ्ग्रहको सम्पादन तारानाथ शर्माले गरेका हुन् ।)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.