शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा केन्द्रीय समिति बैठक एक महिना पछिलाई सर्‍यो

बुधबार, १२ कात्तिक २०७७, १३ : ३३
बुधबार, १२ कात्तिक २०७७

काठमाडौं । तयारी नपुगेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्व निर्धारित केन्द्रीय समिति बैठक एक महिनापछि सारिएको छ । कात्तिक १५ देखि १७ गतेसम्म बस्ने निर्धारण भएको बैठक गृहकार्य नपुगेकाले एक महिना पछि घकेलिएको हो । 

नेकपा कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार जारी गरेको विज्ञप्तिमा पूर्वनिर्धारित बैठक मंसिर १५ देखि १७ गतेसम्म बस्नेगरी स्थगित गरिएको उल्लेख गरिएको छ । विज्ञप्तिमा कोरोना महामारीका कारण बैठक स्थगित गर्नु परेको पनि उल्लेख गरिएको छ । 

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ । स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने छ’, विज्ञप्तिमा भनिएको छ ।  

बालुवाटार स्रोतका अनुसार महासचिव विष्णु पौडेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर नयाँ मिति तय गरिएको हो ।  
त्यसका लागि पौडेलले मंगलबार ओली र बुधबार बिहान प्रचण्डसँग छलफल गरेका थिए । महासचिवले दुवै नेतासँगको परामर्शपछि पार्टी कार्यालयले औपचारिक रुपमा बैठक स्थगित भएको जानकारी गराएको हो । 

गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले आगामी चैत २५ बाट सुरु हुने महाधिवेशनको तयारीका लागि कार्तिक १५ मा केन्द्रीय समिति बैठक बस्ने मिति निर्धारण गरेको थियो । 

त्यसअघि पार्टी एकताका सबै काम सकेर सांगठानिक कामहरु चुस्त पार्ने नेकपाले घोषणा गरेपनि पूर्व घोषित कार्यक्रमअनुसार एकताका काम नै सम्पन्न हुन सकेका छैनन् । तयारीका सम्वन्धमा छलफल गर्न बोलाइएको केन्द्रीय समिति बैठक नै पछि धकेलिएपछि नेकपाको महाधिवेशन समेत प्रभावित हुने नेकपाका नेता कार्यकर्ताको बुझाइ छ । 
एकताका बाँकी काम सक्न अध्यक्षद्वयलाई दिएको समयसीमा पटक पटक गुज्रिसकेको छ भने पछिल्लो पटक अध्यक्षद्वयबीच नै यसबारे संवाद पातलो हुँदै गएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप