शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको लाभांश किन पर्‍यो विवादमा ?

शनिबार, १५ कात्तिक २०७७, ११ : ५४
शनिबार, १५ कात्तिक २०७७


काठमाडौं । बिहीबार बसेको स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको बैठकले शेयरधनीलाई अघिल्लो वर्षको नाफाबाट ११.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गर्यो । बैङ्कले ७ प्रतिशत बोनस शेयर र ४.८४ प्रतिशत नगद लाभांश दिनेगरी गरिएको यो प्रस्ताव भने विवादमा परेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिले गरेको व्यवस्था अनुरुप नभएपछि यो लाभांश विवादित भएको हो ।

मौद्रिक नीतिमार्फत् नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांशको ३० प्रतिशत मात्रै नगद हुनुपर्ने भनेको छ । यसको अर्थ कम्तीमा ७० प्रतिशत लाभांश बोनस शेयरको रुपमा वितरण गर्नुपर्ने व्यवस्था छ । तर स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले प्रस्ताव गरेको कुल ११.८४ प्रतिशत लाभांशमध्ये ४.८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको छ । यो करिब ४०.८८ प्रतिशत हुन आउँछ ।

यो वर्ष राष्ट्र बैङ्कले नगद लाभांश वितरणमा निकै कडाइ गरेको छ । बैङ्कले नगद लाभांशमा ३० प्रतिशतको सीमा लगाएको मात्रै छैन, निक्षेपको भारित औसत ब्याजदरभन्दा माथि नगद लाभांश दिन नपाउने व्यवस्था समेत गरिएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको अघिल्लो वर्षको निक्षेपमा भारित औसत ब्याजदर ४.८४ प्रतिशत थियो । सोही आधारमा बैङ्कले अधिकतम सीमामा नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । तर, उल्लेखित प्रावधान अनुसार ३.५५ प्रतिशत मात्रै नगद लाभांश दिन पाइन्छ ।

बैङ्क सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांशलाई राष्ट्र बैङ्कबाट स्वीकृत गराएर मात्रै साधारणसभामा लैजानुपर्ने भएकोले यो प्रस्ताव राष्ट्र बैङ्कबाट स्वीकृत हुने सम्भावना छैन । सो प्रस्ताव राष्ट्र बैङ्कबाट फिर्ता हुनसक्ने बैङ्कका एक अधिकारीले जानकारी दिए । ‘मौद्रिक नीति र त्यसलाई कार्यान्वयन गर्नेगरी आएका एकीकृत निर्देशनभन्दा बाहिर हामी जान सक्दैनौं, त्यसैले त्योभन्दा बाहिर गएर भएका निर्णयलाई राष्ट्र बैङ्कले स्वीकृति दिन सक्दैन,’ ती अधिकारीले भने ।

किन धेरै नगद लाभांश चाहन्छ स्ट्यान्डर्ड चार्टर्ड ?

अहिले स्ट्यान्डर्ड चार्टर्ड बैङ्कमा ७०.२१ प्रतिशत शेयर हिस्सा विदेशी कम्पनीको छ । बाँकी २९.७९ प्रतिशत हिस्सा मात्रै सर्वसाधारणको छ । सर्वसाधारणले धारण गरेको शेयर दोस्रो बजारमा बिक्रीयोग्य हुने भएकोले उनीहरुले धेरै शेयर लाभांशको अपेक्षा गरेका हुन्छन् । तर, संस्थापक शेयर तत्कालै बजारमा बिक्री गर्न नसक्ने र यसको मूल्य समेत निश्चित नहुने भएकोले उनीहरु बढीभन्दा बढी नगद लाभांश चाहन्छन् ।

सो बैङ्कसँग हाल ८ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी छ । त्यसको ७०.२१ प्रतिशतले हुने ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको लगानी विदेशी कम्पनीको हो । सो लगानीको ४.८४ प्रतिशत नगद लाभांश दिँदा करिब २७ करोड रुपैयाँ लाभांश सो कम्पनीले फिर्ता लैजान सक्छ जबकी ३.५५ प्रतिशत मात्रै नगद दिँदा २० करोड मात्रै नगद लैजान पाइन्छ । सोही कारण बैङ्कले उच्चतम नगद लाभांश प्रस्ताव गरेको हो ।

स्ट्यान्डर्ड चार्टर्ड बैङ्कमा लगानी गर्ने स्ट्यान्डर्ड चार्टर्ड ग्रुपले नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिप्रति यसअघि नै असन्तुष्टि जनाइसकेको छ । त्यसो त पुँजीवृद्धि नीति आउँदा चुक्ता पुँजी ८ अर्ब पुर्याउने प्रयोजनको लागि हकप्रद शेयरमार्फत् लगानी थप्न सो ग्रुपले अस्वीकार गरेको थियो । पछि शतप्रतिशत बोनस शेयरमार्फत् पुँजी ८ अर्ब पुर्याएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप