मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

शुक्रबार, २८ वैशाख २०८१, २१ : ५३
शुक्रबार, २८ वैशाख २०८१

आज मिति २०८१ साल वैशाख महिनाको २८ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. संसद अवरुद्ध

प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबारको दोस्रो बैठक पनि नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले अर्को बैठक जेठ १ गते मंगलबार साँझ ६ बजे बस्नेगरी स्थगित भएको घोषणा गरे ।

२. कांग्रेसलाई सत्ता चाहिएको होः बर्तौला

सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई छानबिन समिति नभइ सत्ता चाहिएको आरोप लगाएका छन् ।

शुक्रबार सुरु भएको बजेट अधिवेशन समेत चल्न नदिएकोमा आक्रोश पोख्दै उनले छानबिन समिति बनाउनुपर्ने कांग्रेसको माग बहाना मात्र भएको आरोप लगाएका हुन् ।

३. कोशीबारे सर्वोच्च

सर्वोच्च अदालतले कोशी प्रदेशको विवादमा निर्वतमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा  अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले पहिलो सुनुवाइ गर्दै दुवै पक्षसँग छलफल गर्ने र विषयवस्तुको गम्भीरतालाई ध्यानमा राख्दै जेठ ९ गते पूर्ण सुनुवाइ हुने मिति तोकेको छ। 

४. गण्डकीबारे सर्वोच्च

सर्वोच्च अदालतले गण्डकी प्रदेशको विवादमा अल्कालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा अर्को सुनुवाइ नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको छ ।

कैलालीको टीकापुर घटनापछि जन्मेको नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद सम्बन्धी दुई मुद्दालाई सर्वोच्चले फैसलाका लागि पठाएको छ। शुक्रबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले पूर्ण सुनुवाइका लागि पेश गर्ने आदेश गरेको हो । उक्त रिट निवेदनमा सबै पक्षको लिखित जवाफ दर्ता भएकाले पूर्ण सुनुवाई (फैसलाको बहस) का लागि पठाउने आदेश गरेको हो ।

५. ईपीएसको नतिजा सार्वजनिक

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तगर्त उत्पादनमूलक क्षेत्रको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कार्यालयले गत वैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षण (स्किल टेष्ट) को नतिजा सार्वजनिक गरेको हो ।

६. विशेष महाधिवेशन अझै अनिश्चित

नेकपा माओवादी केन्द्रको विशेष महाधिवेशन अझै अनिश्चित भएको छ । २०७८ पुस तेस्रो साता काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर महाधिवेशन भएको दुई वर्ष बितिसक्दा पनि विशेष महाधिवेशनको तिथि मितिको कुनै टुंगो नलागेको हो ।

७. सूर्यदर्शनमा रविको कनेक्सन

सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनको घटनामा गरिएको पूरक अनुसन्धानमा पनि गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको छ । उनको नामबाट १ करोड रुपैयाँ कर्जा लिएको देखिएको हो ।

पूरक अनुसन्धानका क्रममा तयार गरिएको रिपोर्टमा कर्जाको आन्तरिक पत्र र जनरल भौचरको कागजात उल्लेख गरिएको छ । उक्त विवरण अनुसार १ करोड रुपैयाँ कर्जाको निवेदन लामिछानेले दिएको र उक्त रकम गोर्खा मिडिया कम्पनीमा गएको देखिन्छ । यसबारे थप अनुसन्धान आवश्यक रहेको छानबिन समितिले जनाएको छ ।

८. कालोसूचीमा निर्माण कम्पनी

चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा मात्रै २२४ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सरकारले विकास निर्माणको ठेक्का लिएर खरिद सम्झौता बमोजिम समयमा निर्माण कार्य सम्पन्न नगरेका तथा अन्य विभिन्न कारणले पछिल्लो ९ महिनामा २२४ निर्माण कम्पनी कालोसूचीमा परेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

९. अपराध समाचार

नेपालबाट १० जना युवा युवतीलाई ‘अमेरिका पठाउँछौँ’ भनेर केन्यामा लगेर बन्धक बनाएर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । उनीहरुले अवैध बाटोबाट अमेरिका र क्यानडा पठाउँछौँ भनेर पीडितहरूलाई केन्याको नैरोबीमा पुर्‍याएका हुन् ।

काठमाडौँ महानगरपालिका–५ स्थित दरबारमार्गबाट स्रोत नखुलेको रकम सहित पक्राउ परेका एकजना सुन तस्करीमा संलग्न देखिएका छन् । रुपन्देहीको सियारी गाउँपालिका–७ घर भएका २९ वर्षीय मिलन बिक सुन तस्करीमा फरार अभियुक्त रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।

काठमाडौँको दरबारमार्गबाट प्रहरीले हुन्डीको ९८ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् ।

१०. रंगशालालाई विवरण

त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिन एएफसीले माग गरेको विवरण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ ९एन्फा० लाई आवश्यक कागजात शुक्रबार उपलब्ध गराएको छ ।

आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । उक्त विश्वकपमा सहभागी हुन नेपाली टोली अमेरिका पुगिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप