शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आन्तरिक पर्यटनका लागि कोशेढुंगा बन्यो चाडबाड, व्यवसायीहरु उत्साहित

सोमबार, १७ कात्तिक २०७७, १६ : ४४
सोमबार, १७ कात्तिक २०७७

काठमाडौं । कोभिड–१९ को कारणले सबैभन्दा धेरै प्रभावित भएको क्षेत्र हो, पर्यटन । नेपालमा कोरोनाभाइरसको संक्रमितको संख्या देखिनुभन्दा अघिदेखि नै यो क्षेत्र बन्दप्रायः भइसकेको थियो । लकडाउन हुनुभन्दा अघि नै नेपालका पाँचतारे होटलहरुले आफ्नो सेवा बन्द गरिसकेका थिए । लकडाउन सुरु भएपछि अरु क्षेत्रजस्तै यो क्षेत्र पनि ठप्पप्रायः भयो । 

विदेशी पर्यटकमा मात्रै सेवा केन्द्रित गर्दै आएका पर्यटन व्यवसायीहरुले कोभिडपछि नयाँ पाठ सिक्न थाले । आन्तरिक पर्यटन प्रवर्द्धन गरेको भए अहिलेजस्तो नाजुक अवस्था आउँदैनथ्यो भन्ने तथ्यलाई पर्यटन व्यवसायीले आत्मसात गर्दै आन्तरिक पर्यटकलक्षित प्रवर्द्धनात्मक कार्यहरु गर्न थाले । 

सोही प्रयासका कारण कोभिड–१९ महामारीको बीचमा पनि प्रमुख पर्यटकीय गन्तव्यहरु आन्तरिक पर्यटनले खचाखच भरिन थालेका छन् । कात्तिक महिनासँगै सुरु भएको चाडबाडसँगै छोटो तथा लामो दूरीका पर्यटकीय गन्तव्यहरु भरिभराउ भएका हुन् । 

दशैंको समयदेखि हालसम्म पनि काठमाडौं उपत्यकाबाट नजिकको गन्तव्यहरु नगरकोट, धुलिखेल, चित्लाङकोदेखि पोखरा, सौराहा, बन्दीपुर, घलेगाउँ, हिले, इलाम जस्ता मध्यम दूरीका गन्तव्यसम्ममा पर्यटकहरुको भीड लाग्दै आएको छ । त्यस्तै, पाथीभरा, संखुवासभाको तुम्लिङटार, मुस्ताङ, तिलिचोदेखि रारासम्म लामो गन्तव्यका पर्यटकीय स्थानहरुमा समेत पर्यटकहरुको खचाखच देखिएको छ । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी भन्छन्, ‘नजिकको गन्तव्यदेखि टाढाको गन्तव्यसम्म पनि आन्तरिक पर्यटकले भरिभराउ भए । यो निकै सकारात्मक संकेत हो । यो वर्ष म आफैं पनि तिलिचो गएको थिएँ, त्यहाँ पनि भरिभराउ नै थियो । यो अवस्थाले हामी आन्तरिक पर्यटनबाटै पनि सस्टेन गर्न सकिन्छ भन्ने संकेत मिलेको छ ।’ 

प्रमुख कार्यकारी अधिकृत रेग्मीका अनुसार अघिल्लो वर्षहरुमा करिब १२ लाख नेपालीहरुले विदेश भ्रमण गर्थे । त्यसमध्ये करिब ४ लाख सरकारी कर्मचारी हुन्थे भने बाँकी ८ लाख निजी क्षेत्रबाट गएका पर्यटकहरु थिए । यो वर्ष विदेशबाट नेपालमा मात्रै पर्यटक आउन नसकेको नभई नेपालबाट समेत बाहिर जान सकेनन्, उनीहरु आफ्नै देशका गन्तव्यमा जाँदा यस्तो अवस्था देखिएको हो । रेग्मी भन्छन्, ‘हामी आन्तरिक पर्यटनबाट पनि टिक्न सक्छौं भन्ने यो राम्रो उदाहरण हो । यसले सकारात्मक सन्देश दिएको छ ।’ 

होटल, ट्राभलदेखि एयरलाइन्स क्षेत्रमा उत्साह 
पर्यटकहरुको उपस्थिति बढेसँगै यसअन्तर्गतका सबै क्षेत्रको गतिविधि समेत बढेको छ । दशैंको समयमा प्रमुख गन्तव्यका चर्चित होटलहरुमा ७० प्रतिशतसम्मको अकुपेन्सी रहेको होटल एशोसिएसन अफ नेपाल (हान) ले जनाएको छ । हानका महासचिव साजन शाक्यका अनुसार सामान्य होटलहरुमा भने ५० प्रतिशतसम्म अकुपेन्सी रहेको थियो । होटल क्षेत्रको समग्र अकुपेन्सी भने यो अवधिमा ३० प्रतिशतको हाराहारीमा मात्रै रहेको उनको भनाइ छ । 

‘नाम चलेका होटलहरुमा राम्रो उपस्थिति भयो, सामान्य होटलमा पनि ग्राहकको उपस्थिति राम्रै देखियो,’ शाक्यले भने, ‘यो पर्याप्त त होइन, महामारीकाबीच पर्यटनमा जुन सुधार भएको छ, त्यो चाहिँ एकदमै सकारात्मक हो ।’
यो अवधिमा ट्राभल एजेन्सीदेखि भेहिकल सर्भिस कम्पनीहरुको कारोबारमा समेत सुधार देखिएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाइँका अनुसार यो अवधिमा छोटो दूरी तथा लामो दूरीका लागि पर्यटकीय सवारीसाधन तथा एयरलाइन्सको टिकटको बिक्री समेत बढ्दा यसले समग्र क्षेत्रको कारोबार बढाएको छ । दशैं तिहारको माहौलमा भएको भ्रमणले आन्तरिक पर्यटनलाई विस्तारै माथि उठाउँदै लैजाने उनको विश्वास छ । 

त्यसो त, एयरलाइन्स कम्पनीहरुको अकुपेन्सी यो अवधिमा ९५ प्रतिशतसम्म पुग्यो । नियमित उडान हुने गन्तव्यदेखि हिमाली पर्यटकीय गन्तव्यसम्ममा यो समयमा उल्लेख्य रुपमा हवाई सेवाको माग भएको एयरलाइन्स कम्पनीहरुले जनाएका छन् । 

दशैंअघि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढी र भित्रनेको सख्या कम रहेको र दशैंपछि उपत्यका भित्रनेको संख्या कम र बाहिरिनेको संख्या बढी भएका कारण अकुपेन्सी ९० देखि ९५ प्रतिशत भए पनि कतिपय गन्तव्यमा यात्रुले टिकट नै नपाउने अवस्था समेत रहेको एयरलाइन्स कम्पनीहरुको भनाई छ । 

हिमाली टुर प्याकेजमा आकर्षण
शिथिल भएको क्षेत्रलाई पुनर्जागृत गर्ने भन्दै चाडबाड सुरु हुनुभन्दा अघि एयरलाइन्स कम्पनीहरुले टुर प्याकेज ल्याएका थिए । खासगरी निजी क्षेत्रका दुई ठूला विमान कम्पनीहरु यती एयरलाइन्स र बुद्ध एयरले यस्तो प्याकेजहरु सार्वजनिक गरेका थिए । बुद्ध एयरले पोखरा र सौराहाको लागि टुर प्याकेज ल्याएको थियो भने यती एयरलाइन्सले पोखरा, सौराहाका अतिरिक्त भरतपुर, विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, रारा, घान्द्रुक, मुस्ताङ, एभरेष्ट ट्रेल, तुम्लिङटार लगायतका १६ वटा प्याकेज ल्याएको थियो । 

त्यसमध्ये एभरेष्ट ट्रेल, घान्द्रुक र राराको गन्तव्यका प्याकेजहरुमा राम्रो आकर्षण देखिएको यती एयरलाइन्सले जनाएको छ । यी तीन गन्तव्यका लागि अहिलेसम्म यतीले २ सय २५ वटा प्याकेज बिक्री गरिसकेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौंलाले जानकारी दिए । 

पोखरा, सौराहा लगायतका क्षेत्रका लागि ल्याइएको प्याकेजमा भने खासै आकर्षण नदेखिएको उनले बताए । ‘अहिले पोखरा र सौराहामा पर्यटकको घुइँचो छ, तर हाम्रो प्याकेज खासै बिकेन । नजिक भएकोले कतिपय आफ्नै सवारी साधन प्रयोग गरेर जानुभयो । एयरलाइन्सबाटै जानेले पनि प्याकेजमा जानुभएन,’ प्रवक्ता बर्तौलाले भने । यी प्याकेज नबिक्नुको कारण मूल्य महँगो भएको हुनसक्ने उनको भनाई छ । ‘हाम्रो टिकटदर महँगो होइन, तर महँगा होटलहरुमा बस्नेगरी प्याकेज ल्याउँदा महँगो भयो कि भन्ने लागेको छ । अब सस्तो होटलसहितको प्याकेज बनाउँछौं ।’

घुम्न नरुचाउनेहरु साहसिक पर्यटनमा 
अघिल्ला वर्षहरुमा विदेशीलाई लक्षित गरिने साहसिक पर्यटनमा पनि यसपालि स्वदेशी नागरिकले पश्रय पाएका छन् । सोही कारण प्याराग्लाइडिङ, जिपलाइन, बञ्जिजम्प लगायतका साहसिक पर्यटनमा रमाउनेको संख्या यसपालि बढेको छ । 

खासगरी कोभिडको कारण लामो वा समूहमा यात्रा गर्न नरुचाउने र त्यसका लागि समय समेत नभएकाहरुको आकर्षणमा साहसिक पर्यटनको क्षेत्रमा परेको पाइएको छ । हाल सौराहा, धुलिखेल, भिमफेदी, नुवाकोट लगायतका स्थानमा जिपलाइनको सुविधा छ । पोखरा, धुलिखेल लगायत क्षेत्रमा प्याराग्लाइडिङको सुविधा छ । भोटेकोशी, पर्वतका रहेका बञ्जी जम्प गर्नसक्ने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप