अब कारागार संघ र प्रदेश मातहत रहने
काठमाडौं । सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहने गरी वर्गीकरण गर्ने भएको छ । कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मार्फत संघ र प्रदेशको मातहतमा रहने गरी कारागारलाई विभिन्न चार भागमा वर्गीकरण गरेको छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले खुला कारागार, प्रदेश कारागार, विशेष कारागार र संघीय कारागार गरी चार भागमा वर्गीकरण गर्ने गरी विधेयक तयार गरिएको बताए । खुला कारागारमा रहने कैदीले तोकेको समयमा आफूलाई राखिएको ठाउँभन्दा बाहिर समेत गई कुनै काम गर्न पाउने छन् ।
यस्तै प्रदेश कारागार प्रदेश सरकारको मातहतमा हुनेछ भने विशेष कसुरको प्रकृति, सुरक्षा संवेदनशिलता र कैद अवधि समेतको आधारमा सजाय पाएका कैदीहरुलाई राखिने गरी विशेष कारागारको व्यवस्था गरिएको छ । यस्तै, संघीय सरकार मातहत रहने गरी संघीय कारागारको निर्माण गर्ने व्यवस्था पनि विधेयकमा गरिएको सचिव न्यौपानेले स्पष्ट पारे ।
सरकारको यो प्रस्तावलाई सत्तारुढ दलकै सांसद पम्फा भुसालले भने विरोध गरेकी छिन् । उनले प्रदेश र संघ मातहत रहने गरी कारागारलाई वर्गीकरण गर्नुपर्ने कारण के हो भन्दै प्रश्न गरिन् । देशको आर्थिक भारलाई हेरेर भएपनि कारागारलाई संघ अथवा प्रदेश सरकार कुनै एकबाट मात्रै सञ्चालन हुनेगरी राख्नुपर्ने उनको तर्क छ । कारागार व्यवस्थापनमा थप कर्मचारी वा थप संरचना बढाई भार बढाउने काम गर्न नहुने बताए ।
प्रदेशलाई कारागारको जिम्मा दिई संघीय सरकारले अनुगमन गर्ने संयन्त्र निर्माण गर्दा उचित हुने पनि उनको भनाई छ । अथवा सर्वोच्च अदालतबाट फैसला भई सजाय पाएकाहरुलाई केन्द्रीय कारागारमा र उच्च अदालतबाट सजाय पाएकाहरुलाई प्रदेशमा राख्नुपर्ने व्यवस्था गर्नुपर्ने नभए कुन कैदीलाई कहाँ राख्ने भन्ने समस्या उत्पन्न हुन सक्ने उनको भनाई छ । त्यसैले कारागारको वर्गीकरण गर्दा राष्ट्रलाई फाइदा नहुने बताए ।
गृहमन्त्री रामबहादुर थापाले भने संघीय संरचना अन्तर्गत व्यवस्थापन गर्नुपर्ने भएकाले कारागारको वर्गीकरण गरिएको बताए । संघ र प्रदेशको कारागार एउटै बनाउने वा छुट्टयाउने भन्ने विषयमा छलफल भएपनि कानूनी दृष्टिकोणलाई ध्यान दिएर वर्गीकरण गरिएको स्पष्ट पारे । उनले संघ वा प्रदेश कुनै एकलाई मात्रै जिम्मा दिने हो भने कानून नै संशोधन गर्नुपर्ने बताए । संघीयताअनुसार कामको बाँडफाँड गरिएकाले पनि प्रदेशको मातहतमा समेत कारागार राख्न पाउने गरी विधेयक ल्याइएको गृहमन्त्री थापाले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं