शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वयम्भु क्षेत्रलाई संरक्षण गरी चक्रपथ विस्तार गरिन्छः मन्त्री नेम्वाङ

मङ्गलबार, २३ मङ्सिर २०७७, १९ : १६
मङ्गलबार, २३ मङ्सिर २०७७

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले स्वयम्भु क्षेत्रलाई संरक्षण गरी चक्रपथ सडक विस्तार कार्यलाई अगाडि बढाइने बताएका छन् । मन्त्री नेम्वाङले स्वयम्भु विश्व सम्पदा क्षेत्र बचाउ अभियानका अभियन्ताहरुसँग मंगलबार भेट गरी स्वयम्भु क्षेत्रलाई जोगाएर नै सडक विस्तारको कार्य गरिने बताएका हुन् ।

उनले सडक निर्माणको मापदण्ड, विश्व सम्पदा सूचीको प्रावधान र पुरातत्व विभागले गर्न सक्ने क्षेत्रभित्र रहेर सडक विस्तारलाई अगाडि बढाइने बताएका हुन् । हजार बुद्धसहित बोधि चैत्यको संरक्षण गर्नुपर्छ भन्ने कुरामा सरकार दृढ रहेको पनि मन्त्री नेम्वाङ्ले स्पष्ट पारे । भत्काउनेभन्दा बनाउने ढंगले सकारात्मक रुपमा शान्तिपूर्ण तरिकाले समस्याको निराकरण गर्ने पक्षमा सरकार रहेको पनि उनले बताए । प्राविधिक दृष्टिकोणबाट हेरेर सकेसम्म सबै संरचनालाई जोगाउने गरी अगाडि बढ्ने कुरामा विस्वस्त हुन समेत उनले आग्रह गरे ।

छलफलमा स्वयम्भु विश्व सम्पदा क्षेत्र बचाउ अभियानका संयोजक नोर्बु शेर्पाले अहिले डिजाइन गरिएको सडक विस्तार योजनाअनुसार स्वयम्भुको महत्वपूर्ण भाग बौद्धकला सहित निर्मित पर्खाल र ७५ फिट अग्लो हजार बुद्धसहितको बोधि चैत्य रहेको क्षेत्र भत्काइनुपर्ने भएकाले विरोध गरिएको बताए । यसबाट स्वयम्भु क्षेत्र विश्व सम्पदाको सूचिबाट समेत हटने जोखिम हुने भएकाले त्यसको संरक्षण गर्न मन्त्री नेम्वाङसमक्ष आह्वान गरिएको बताए ।

सरकारले चक्रपथ विस्तारको दोस्रो अभियान अन्तर्गत कलंकी देखि महाराजगञ्ज हुँदै धोवीखोला सम्मको सडक क्षेत्र विस्तार गर्दैछ । चक्रपथ विस्तार गर्दा स्वयम्भुको पछाडी पट्टि रहेको हजार बुद्ध सहितको बोधि चैत्य हटाइनुपर्ने भएपछि काठामाडौं महानगरपालिकाले त्यसको प्रक्रिया समेत अगाडि बढाइसकेको छ । त्यसैले स्वयम्भु क्षेत्रका सरोकारवालाहरुले मन्त्री नेम्वाङलाई भेटी उक्त क्षेत्रलाई जोगाई सडक निर्माण गर्नुपर्ने माग गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप