अझै सहज भएन चिनियाँ नाका, भारतीय मिडियाले भन्न थाले, ‘भारत नै अब नेपालको सहारा !’
काठमाडौं । चीनको सीमा नाकामा हुँदै आएको अवरोध अहिले पनि उस्तै छ । कोरोनाभाइरस संक्रमणको जोखिम भएको भन्दै चीनले नेपाली ढुवानीकर्ताहरुलाई चिनियाँ क्षेत्रमा प्रवेश गर्न रोक लगाएपछि सुरु भएको अवरोध अहिले पनि हट्न नसकेको हो ।
चीनबाट आयात गर्ने प्रमुख नाकाको रुपमा रहेको केरुङ र तातोपानी नाकाबाट अहिले मुस्किलले दिनको ७/८ वटा कन्टेनर नेपाल भित्रिने गरेका छन् । जबकी अहिले पनि २ हजारभन्दा बढी कन्टेनर नेपाल आउने प्रतीक्षामा चीनको विभिन्न स्थानहरुमा अड्किएर बसेका छन् । अहिले केरुङ नाकाबाट दैनिक ४ देखि ५ वटा र तातोपानी नाकाबाट दैनिक २ देखि ३ वटा कन्टेनरलाई मात्रै चिनियाँ ढुवानीकर्ताले नेपाली सीमामा ल्याइदिने गरेको सम्बन्धित भन्सारका अधिकारीहरु बताउँछन् ।
भाडा ५ गुणासम्म महँगो
अहिले दुवै नाकाबाट नेपाल भित्रिने कन्टेनरहरु धेरैजसो चिनियाँ व्यापारीकै हुने गरेको राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालको भनाइ छ । कटुवाल भन्छन्, ‘चिनियाँ व्यापारीहरुलाई उता जाने सहज पहुँच छ । उनीहरु भन्सारमा गएर आफ्नो कन्टेनरलाई पहिले जाँचपास गराउन दवाव दिन्छन्, तर नेपाली व्यापारीहरु त्यहाँ जान पाउँदैनन् । त्यसैले धेरैजसो उनीहरुकै सामान आइरहेको हुन्छ । चिनियाँ एजेन्टलाई घुस दिएर अलिअलि नेपाली कन्टेनरले जाँसपास पाउने गरेका छन् ।’
त्यसो त, जाँचपास भएर केरुङबाट रसुवागढीसम्म ल्याउने भाडा निकै महँगो भनेको समेत उनको दाबी छ । ‘केरुङबाट रसुवागढी आउन २८ किलोमिटरको बाटो छ । एउटा कन्टेनर ल्याउन १० देखि १५ हजार लाग्थ्यो । अहिले ५० देखि ६० हजारसम्म तिर्नु परिरहेको छ,’ अध्यक्ष कटुवाल भन्छन्, ‘एकातिर घुस नखुवाई जाँचपास हुँदैन । अर्कोतिर महँगो भाडा तिर्नुपर्दा सामान ल्याएर कुनै नाफा हुन छाडिसक्यो । घरघडेरी धितोमा ऋण लिएर सामान ल्याएकाहरु ऋणको किस्ता तिर्नकै लागि महँगो तिरेरै भए पनि सामान ल्याइरहेका छन् ।’
८८ प्रतिशतसम्म घट्यो सीमानाकाको आयात
अघिल्लो वर्ष चैतदेखि कात्तिक महिनासम्ममा रसुवा नाकाबाट कुल ३० अर्ब ५६ करोडको मालवस्तु आयात गरिएको थियो । यो वर्ष यस्तो आयात घटेर ३ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ । यो करिब ८८ प्रतिशतको गिरावट हो ।
यो वर्ष साउनदेखि कात्तिकसम्म रसुवा नाकाबाट ३ अर्ब ६० करोड रुपैंयाको सामान आयात भएको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा १८ अर्ब ३५ करोडको सामान आयात भएको थियो । अवरोधसँगै नेपालको आयातमा यो नाकाको कुल हिस्सा ४.०८ प्रतिशतबाट घटेर ०.९० प्रतिशतमा झरेको छ । यही अवधिमा अघिल्लो वर्ष सो नाकाबाट ३६ करोड रुपैयाँको सामान निर्यात भएको थियो, अहिले यो शुन्य छ ।
उता, तातोपानी नाकाबाट हुने आयात भने बढेको देखिएको छ । गत चैतदेखि कात्तिक मसान्तसम्म यो नाकाबाट ३ अर्ब ८ करोडको आयात भएको छ । अघिल्लो वर्षको यही समयमा जम्मा २ अर्ब २९ करोडको आयात भएको थियो । भुकम्पपछि बन्द भएको तातोपानी नाका अघिल्लो वर्षको असारको अन्तिम साताबाट मात्रै खुल्न थालेको र त्यो अवधिसम्म आयात नै नभएका कारण यो वर्ष आयात वृद्धि भएको देखिएको हो ।
तर, पछिल्लो ४ महिना भएको आयात हेर्दा तातोपानी नाकाबाट भएको आयातमा करिब ८२ प्रतिशतको कमी आएको छ । यो साउनदेखि कात्तिकसम्म तातोपानी नाकाबाट ४० करोड रुपैयाँ बराबरको आयात भएको छ । जबकी अघिल्लो वर्षको यही अवधिमा २ अर्ब २४ करोडको आयात भएको थियो । आयातमा यो नाकाको हिस्सा समेत घटेर ०.५० प्रतिशत बाट ०.१० प्रतिशतमा झरेको छ । यसरी आयात घट्दै जाँदा सम्बन्धित भन्सार कार्यालयको राजश्व संघलनमा समेत गम्भीर असर गरिरहेको छ ।

सीधा बाटोबाट नयाँ सामान आउन छाडे
चिनियाँ नाकामा भएको अवरोध खुल्ने संकेत नदेखिएपछि अहिले नेपाली आयातकर्ता र व्यापारीहरुले केरुङ र रसुवागढीको बाटो भएर सामान आयात गर्न छाडेका छन् । अहिले कोलकत्ताको बाटोबाट घुमाएर सामानको आयात हुँदै आएको छ । सीमानाका नजिकै आइपुगेका सामान भने घुमाएर ल्याउँदा ज्यादै महँगो पर्ने र समय लाग्ने भएकोले यही नाकाबाट जाँचपास हुने अपेक्षामा छन् ।
अहिले कोलकत्ताको बाटो भएर नेपाल सामान आइपुग्न ३५ दिनदेखि डेढ महिनासम्म लाग्छ । केरुङ र तातोपानीबाट सामान आउँदा भने ८÷१० दिनमै सामान आइपुग्छ । तर, भन्सारबाट सामान आउनै छाडेपछि घुमाउरो बाटो रोज्नुको विकल्प नभएको महासंघका अध्यक्ष कटुवाल बताउँछन् । ‘त्यसैले अहिले यो बाटोबाट सामान ल्याउँला भनेर व्यापारीले सोच्नै छाडिसके, ढिलै भए पनि कोलकत्ताकै बाटोबाट सामान आयात गरिरहेका छन् ।’
भारतीय मिडिया भन्छ, ‘अब भारत नै सहारा !’
भारतीय मिडियाले भने उत्तरी सीमानामा हुँदै आएको आपूर्ति समस्यालाई चीनको अघोषित नाकाबन्दीको संज्ञा दिएका छन् । कोरोनाभाइरसको संक्रमणको जोखिम रहेको भन्दै चीनले आफ्नो सीमामा नेपालीलाई प्रवेश नदिएको विषयलाई भारतीय मिडियाहरुले चासो देखाएका हुन् । उनीहरुले चीनको नाकाबन्दीपछि अब भारत नै नेपालको सहारा बनेको समेत उल्लेख गरेका छन् ।
आइतबार भारतीय अनलाइन संस्करण भाष्करले अर्थ मन्त्रालय स्रोतको हवाला दिँदै १३ अर्ब रुपैयाँ बराबरको नेपाली सामान चिनियाँ क्षेत्रमा फसेको दाबी गरेको छ । अहिले चीनको केरुङ, खासा, सिगात्से, न्यालम लगातका स्थानमा १ हजार २ सय र तातोपानी नाकामा ८ सय कन्टेनर फसेको सो मिडियाको दाबी छ । आपूर्ति व्यवस्थामा आएको अवरोधले चीन र नेपालका सम्बन्धमा समेत दरार उत्पन्न भएको दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण