बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रणब मुखर्जीको प्रकाशित हुन लागेको किताबमा एक आपससँग भिडे उनका छोरा–छोरी

बुधबार, ०१ पुस २०७७, १३ : ०९
बुधबार, ०१ पुस २०७७

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीका छोरा तथा लोकसभा सांसद अभिजित मुखर्जीले मंगलबार आफ्नो पिताको संस्मरण ‘द प्रेसिडेन्सियल इयर्स’ को प्रकाशनको विषयमा आपत्ति जताएका छन् । 

उनले यो किताब प्रकाशन हुनुअघि पाण्डुलिपी हेर्न पाउँ भन्दै माग राखेका छन् । यद्यपि, प्रणब मुखर्जीकी छोरी अर्थात् अभिजितकी बहिनी शर्मिष्ठा मुखर्जीले आफ्नो दाइको आपत्तिलाई अस्विकार गरेकी छिन् । 

शर्मिष्ठाले किताबको पाण्डुलिपी उनको पिता जिउँदो हुँदा नै फाइनल गरिएको जानकारी दिएकी छिन् । उनले सस्तो लोकप्रियताका लागि यो किताब प्रकाशित हुन रोकिन नहुने बताएकी छिन् । 

प्रणबको यसै वर्ष अगस्ट ३१ मा निधन भएको थियो । किताब आउँदो जनवरीमा प्रकाशित हुने बताइएको छ । 

११ डिसेम्बरमा प्रकाशक रुपा बुक्सले किताबका केही अंश जारी गरेकी थिइन् । यो अंश अनुसार दिवंगत राष्ट्रपति प्रणब मुखर्जीले उनी राष्ट्रपति बनेपछि कांग्रेस प्रमुख सोनिया गान्धी र प्रधानमन्त्री मनमोहन सिंह सरकार बचाउन व्यस्त भएका कारण कांग्रेसको राजनीतिक फोकस केन्द्रित हुन नसकेको भनी लेखेका छन् । 


यसका साथै किताबको यसै अंशका अनुसार प्रणब मुखर्जीले नरेन्द्र मोदीको पहिलो कार्यकाललाई निरंकुश बताएका छन् । 

अभिजीत मुखर्जीले किताबका प्रकाशक रुपा बुक्स र यसका प्रमुख कपिश मेहरालाई ट्याग गर्दै लेखेका छन्, ‘म संस्मरण ‘द प्रेसिडेन्सियल इयर्स’ का लेखकका छोरा हुँ । तपाईंलाई अनुरोध गर्न चाहन्छु कि किताबको प्रकाशन रोकियोस् र साथै यो किताबका केही हिस्सा पनि सार्वजनिक गर्न बन्द गर्नुहोस् जुन पहिले नै मिडियालाई दिइसकिएको छ । किताबका अंशलाई मेरो लिखित सहमति बिना प्रकाशित गरिएको छ ।’

छोरा र छोरी भिडेः

अभिजीत मुखर्जीका अनुसार किताबका जुन भाग मिडियामा जारी गरिएका छन् त्यो राजनीतिसँग प्रेरित छन् । 

अभिजित मुखर्जीले रुपा बुक्सलाई यो मामिलामा एक औपचारिक पत्र पठाएका छन् । यो पत्रमा अभिजित मुखर्जीले लेखेका छन्, ‘मेरो पिताको निधन भइसकेको छ र म उनको छोरा भएको नाताले किताब प्रकाशित हुनु अघि पूरा टेक्स्ट हेर्न चाहन्छु । मेरो मान्यता के छ भने यदि मेरा पिता जिउँदो हुनुभएको भए पनि त्यस्तै गर्नुहुन्थ्यो । त्यसैले म तपाईंलाई यो अनुरोध गर्न चाहन्छु कि जबसम्म म किताबको पूरा हिस्सा हेर्दिनँ र लिखित सहमति दिन्नँ, तबसम्म यो नछापियोस् ।’

यद्यपि, प्रणब मुखर्जीकी छोरी शर्मिष्ठाले आफ्ना दाइको आपत्तिलाई खारेज गरिदिएकी छिन् । शर्मिष्ठाले ट्वीटरमा भनिन्, ‘किताबको फाइनल ड्राफ्टमा मेरा पिताको हस्तलिखित नोट पनि राखिएको छ । त्यसमा उनले स्पष्ट रुपमा भनेका छन् कि आफ्नो किताबमा समावेश गरिएका वस्तुप्रति आफ्नो दृढ छन् । उनी आफ्नो नीजि धारणाको आधारमा आपत्ति जताइरहेका छन् र कसैले पनि सस्तो लोकप्रियता हासिल गर्नका लागि किताबको प्रकाशन रोक्ने कोसिस गर्नुहुँदैन । यो मेरो दिवंगत पिताका लागि सबैभन्दा ठूलो अनादर हुनेछ ।’

शर्मिष्ठा मुखर्जीले आफ्नो ट्वीटमा दाइ अभिजित मुखर्जीलाई ट्याग गरेकी छिन् । 

जब कांग्रेसका शीर्ष नेतृत्व चुनाव हार्नुमा आफ्नै पार्टीबाट आलोचनाको सामना गरिरहेका बेला कांग्रेसका दिग्गज नेतासमेत रहेका प्रणब मुखर्जीको किताबले थप मुश्किल बढाउन सक्छ । प्रकाशकको तर्फबाट जारी गरिएको किताबको अंश अनुसार प्रणब मुखर्जीले सन् २०१४ मा आम निर्वाचनमा कांग्रेसको हारका लागि कांग्रेस प्रमुख सोनिया गान्धी र तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहमाथि आरोप लगाएका छन् । 

प्रणब मुखर्जीले भनेका छन्, ‘केही कांग्रेस नेताको मान्यता थियो कि यदि मैले सन् २००४ मा प्रधानमन्त्रीको पद सम्हालेको भए कांग्रेसले सन् २०१४ को चुनाव हार्ने थिएन । यद्यपि, म यो मतसँग सहमत छैन । मेरो मान्यता यो छ कि राष्ट्रपति बनेपछि पार्टीको नेतृत्वको राजनीतिक फोकस छरियो । सोनिया गान्धी पार्टीलाई राम्रोसँग ह्यान्डल गर्न सकिरहेकी थिइनन् । अर्कोतर्फ मनमोहन सिंह सदनबाट लामो समयसम्म गायब भइरहन्थे र सांसदसँग उनको सम्पर्क टुटेको थियो ।’

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप