बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

उर्जाशील जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्नुपर्छः कृषिमन्त्री अर्याल

आइतबार, १२ पुस २०७७, १७ : ५९
आइतबार, १२ पुस २०७७

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले समृद्ध नेपाल निर्माणका लागि उर्जाशील जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्नुपर्ने बताएकी छिन् । आइतबार मन्त्रालयमा पद्भार ग्रहण गर्दै मन्त्री अर्यालले कोभिडका कारण विदेशबाट फर्किएका उर्जाशील जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्न विभिन्न कार्यक्रमहरु ल्याउनुपर्ने दायित्व मन्त्रालयको भएको बताए ।

यसलाई ध्यान दिएर कार्ययोजना बनाई अगाडि बढ्नुपर्ने पनि मन्त्री अर्यालले बताए । कृषिका सम्भावना र समस्या दुवै भएकोले त्यसको विश्लेषण गरी कार्ययोजना बनाई छलफल गरी निकास दिनुपर्ने पनि उनले बताइन् । निवर्तमान मन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा केही नीतिगत स्पस्टता तयार पार्नुभएको जानकारी पाएको उल्लेख गर्दै राम्रा कामलाई अध्ययन गरी अगाडि बढाउने समेत बताइन् ।

मन्त्री अर्यालले रासायनिक मलको विषयमा किसानहरुको मागलाई सम्बोधन गरी सधैका लागि समस्या समाधान गरिने पनि बताइन् । त्यसका लागि सातवटै प्रदेशमा २५ हजार मेट्रिक टन क्षमताको रासायनिक मल भण्डारको स्थापना गर्ने समेत मन्त्री अर्यालले बताइन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत देशका सबै डाँडाकाँडालाई हरियाली बनाउने र दुनियाँलाई हेर्न आउने बनाउने अठोट व्यक्त गरिन् । यस्तै किसानलाई तालिम र वर्गीकरण गरी परिचयपत्र दिने पनि बताइन् । मन्त्री अर्यालले किसानलाई वर्गीकरण गरी फागुनदेखि कृषक परिचयपत्र वितरण गर्ने र पशुपन्छीको नश्ल सुधार गर्ने कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा आजै हस्ताक्षर समेत गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप