सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनको असर– धेरै खेलाडी फुटबल छाड्न बाध्य छन्

खेलाडीलाई कारबाही गर्छु भन्ने एन्फाले गुमेको दश महिनाको तलब दिलाउन सक्छ ?
आइतबार, १८ माघ २०७७, १० : ०७
आइतबार, १८ माघ २०७७

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ११ फागुनबाट ‘बी’ डिभिजन लिग फुटबल आयोजना गर्ने घोषणा ग¥यो । लिगको मिति घोषणा भए पनि प्रतियोगिता खेल्नुपर्ने धेरै खेलाडी अझै सम्बन्धित क्लबको सम्पर्कमा आइसकेका छैनन् । गत बुधबार विज्ञप्ति जारी गर्दै एन्फाले खेलाडीलाई चाँडै क्लबको सम्पर्कमा आउन आग्रह गरेको छ, अन्यथा... कारबाही गरिने धम्की एन्फाको छ ।  आखिर खेलाडीहरू किन क्लबको सम्पर्कबाट गायब भए, उनीहरू कहाँ छन् ? नेपाली फुटबल कुन अवस्थाबाट गुज्रिरहेको छ । यी र यस्तै विषयमा थ्री स्टार क्लब तथा नेपालको यू–१९ टोलीका मुख्य प्रशिक्षक मेघराज केसीसँग रातोपाटीले गरेको कुराकानी ।

एन्फाले प्रतियोगिता आयोजना गर्छु भन्दा पनि खेलाडीहरू क्लबको सम्पर्कमा नआउने स्थिति किन बन्यो ?

गत चैतमा लकडाउन भएयता लामो समयसम्म देश ठप्प रह्यो । लकडाउन खुलेयता अन्य क्षेत्रमा चहलपहल सुरु भए पनि फुटबल शून्यप्रायकै अवस्थामा छ । खेलाडीहरूले प्रशिक्षण गर्न पाएका छैनन् । प्रतियोगिता नहुँदा आम्दानी पनि शून्यमै छ । यस अवधिमा एन्फाले राष्ट्रिय टिमको कार्यक्रम पनि सुरु ग¥यो । तर राष्ट्रिय टिमका केही सीमित खेलाडी व्यस्त भए पनि देशभरका हजारौँ खेलाडी अहिले बेरोजगार छन् । गत चैतमै अधिकांश क्लबसँग खेलाडीहरूको सम्झौता सकिइसकेको थियो । त्यसैले उनीहरूले चैतयता तलब पनि पाएका छैनन् । यस अवधिमा धेरै खेलाडी फुटबलबाट पलायन हुने अवस्थामा पुगिसकेका छन् किनकि फुटबलमै लागेर जीवन निर्वाह गर्नु सामान्य अवस्थामै जटिल थियो, कोरोनाले चुनौती थपिदिएको छ । धेरै खेलाडी लकडाउनका अवधिमा गाउँ गएर खेतीपातीमा सक्रिय भए । काठमाडौँमै रहेका कतिपय खेलाडी कोठामा चुल्हो नबल्दा एन्फा, विभिन्न क्लब र सङ्घसंस्थासँग राहत माग्नुपर्ने अवस्थामा पुगेका थिए । त्यही कुराको असर अहिले देखिएको हो भन्ने मलाई लाग्छ । जहाँसम्म खेलाडीलाई कारबाही गर्ने धम्कीको कुरा छ, त्यो सरासर गलत छ । भोलि यी खेलाडी एन्फामा उपस्थित भएर १० महिनादेखिको तलब दिलाइदिन आग्रह गरे भने एन्फाले तलब दिलाउन सक्छ या सक्दैन ? कारबाही गर्छु भन्नेले तलब दिने कि नदिने भन्ने प्रश्न त आउँछ नि ? यो एउटा उदाहरण मात्रै हो । सारमा, महामारीले फुटबललाई ठूलै क्षति पु¥याएको छ । जतिबेला फेरि फुटबल प्रतियोगिता सञ्चालन हुनेछन् तब कति खेलाडी पलायन भए भन्ने आँकडा पनि बाहिरिन थाल्नेछ ।

महामारीअघिको नेपाली फुटबलको विकासक्रम कस्तो थियो ?

जुन गतिमा विकास हुनुपर्ने थियो त्यो कहिल्यै भएन । ५० सालदेखि अहिलेसम्मको इतिहास  हेर्नुभयो भने यो २७ वर्षको अवधिमा मुस्किलले ११ चोटि लिग भयो होला । जबकि फुटबल विकासको मेरुदण्ड मानिने लिग प्रत्येक वर्ष आयोजना हुनुपर्ने थियो । यसरी हेर्दा २७ वर्षमा गर्नुपर्ने काम त हामीले ११ वर्ष मात्रै गरेछौँ नि, १६ वर्ष त व्यर्थमै गएछ । अनि खेलाडीले पनि १० वर्ष खेल्नुपर्नेमा ३ वर्ष मात्रै खेल्न पाए भने उनीहरू आर्थिक तथा मानसिक रूपमा प्रताडित त हुने नै भए । विगतमा खेलाडीहरू विदेश पलायन हुनुको पछाडि पनि यही पक्षले काम गरेको छ ।

प्रशिक्षणको एउटा नमीठो उदाहरण भन्छु– सन् १९९७ मा नेपालमा पहिलो पटक ‘एएफसी सी लाइसेन्स कोर्स’ भयो । ९७ मा सी लाइसेन्स भएपछि ९९ मा बी लाइसेन्सको परीक्षा उत्तीर्ण हुनुपर्ने, २००१ मा ए लाइसेन्स र त्यसको २–३ वर्षपछि प्रो लाइसेन्स परीक्षा भएको भए नेपालमा २००५ तिरै प्रो लाइसेन्स प्रशिक्षक उपलब्ध हुने थिए ।  तर यो प्रशिक्षण कोर्स सुरु भएको १९ वर्षपछि बल्ल नेपालमा २०१६ मा ए लाइसेन्स कोर्स भयो । यसरी कोर्स सुरु भएको २५ वर्षसम्म पनि प्रो लाइसेन्सवाला कोच उपलब्ध नहुनुमा त हाम्रो व्यवस्थापनको कमजोरी देखियो नि । यही कुरा तत्कालीन समयमा हामीभन्दा निकै कमजोर आँकिएको भुटानको हकमा फरक देखियो । सन्  २००१ मा मसँगै सी लाइसेन्स कोर्स गरेका एक भुटानी प्रशिक्षकले  २०११ मा प्रो लाइसेन्स पाए । उनी त्यसपछि नेपालमा इस्ट्रक्टरका रूपमा पनि आए ।  जबकि त्यतिबेलासम्म मैले बी लाइसेन्स पनि गरेको थिइनँ । अब बुझ्नुस्, हाम्रो प्रशिक्षणमा पनि कति धेरै समस्या रहेछ । खेलाडीका हकमा वर्षको ९ महिनासम्म व्यस्त हुनुपर्ने खेलाडी ९–१० महिना फुर्सदिला हुन्छन् किनकि नेपालमा लिग नै एक डेढ महिना चल्छ । त्यसमा पनि २७ वर्षमा बल्लतल्ल ११ पटक लिग हुँदा कसरी फुटबलको स्तर बढ्छ । अनि आफ्नो करियरका १० वर्षमध्ये एउटा खेलाडीले औसत ३ वर्ष मात्रै खेल्न पाउँछ भने ७ वर्ष त खेर गयो । यस्तोमा न उसको मानसिक विकास सम्भव छ, न त आर्थिक विकास नै । उसको ७ वर्षको ऊर्जा र कमाइ त खेर गयो नि ? विगतमा धेरै खेलाडीहरू यी र यस्तै समस्याका कारण विदेशिन बाध्य भए, कतिपय खेलाडीहरू डिप्रेसन र ड्रग्सको शिकार बनेर ज्यानै गुमाउन बाध्य भए । हामीले ती कमजोरीलाई मनन गर्दै अब नयाँ ढङ्गले अघि बढ्नुपर्छ भन्ने लाग्छ ।

त्यसो भए खेलाडीलाई बाँच्नै मुस्किल छ त ?

फुटबलबाट पैसा कमाएर जीवन धान्ने खेलाडीको नाम औँलामा लिन सकिएला । यो २०, २५ वर्षको उमेरमा मुट्ठीभरका खेलाडीले पैसा कमाए भन्दैमा खुसी हुनुपर्ने काम म देख्दिनँ । कुनै एक क्षेत्रमा हजारौँ व्यक्ति डुबेर एकजना सफल हुँदैमा त्यसलाई सफलता मान्न सकिन्न । आम खेलाडीको कुरा गर्नुहुन्छ भने आज पनि यही क्षेत्रमा लागेर परिवार पाल्नसक्ने अवस्था बनिसकेको छैन ।

महामारीपछिको नेपाली फुटबल कसरी अघि बढ्नुपर्छ ?

संसारलाई नै प्रभावित गरेको यो महामारीले नेपाललाई प्रभावित गर्ने नै भइहाल्यो । त्यसैले अहिले कसैलाई दोष दिन मिल्ने अवस्था छैन । तर यदि साँच्चिकै फुटबलको विकास गर्ने हो भने नेपालले वार्षिक कार्यक्रम तय गर्नुपर्छ, एन्फाले खेलाडीको हकहितलाई ध्यानमा राखेर एउटा फिलोसोफी तयार गर्दै दीर्घकालीन कार्यक्रमहरू ल्याउन जरुरी छ । विगतमा हामीले सधैँ प्रतियोगितालाई मात्रै केन्द्रमा राख्यौँ । फेरि पनि खेलको नतिजालाई मात्रै आधार मानेर अघि बढ्ने हो भने अबको १०–२० वर्षसम्म पनि अवस्था यस्तै हुन्छ । त्यसैले रेफ्री, प्रशिक्षक र खेलाडीहरूलाई उचित रोजगारी दिएर खेलको विकासमा व्यस्त राख्नेगरी कार्यक्रम बनाउनुपर्छ । बालबालिका, किशोर–किशोरी तथा राष्ट्रिय टिमका लागि अलग–अलग कार्यक्रम तय गर्नुपर्छ जस्तो लाग्छ । कुनै प्रतियोगिता जित्नेभन्दा पनि समग्र फुटबलको लेभल बढाउने विषयमा केन्द्रित हुन जरुरी छ । म जापानको उदाहरण दिन चाहन्छु, २०१९ मा जापानले लागू गर्न खोजेको कार्यक्रमको एउटा कोर्समा सहभागी हुने सौभाग्य मैले पनि पाएको थिएँ । जापानले विगत ८० वर्षयताको विश्वको फुटबल विकासबारे अध्ययन गरेर यो कार्यक्रम तयार गरेको थियो । यसको लक्ष्य २०५० मा विश्वकप जित्नेगरी तयारी गर्नु हो । जापानले यस कार्यक्रमअन्तर्गत देशभरका विभिन्न क्षेत्रबाट ४३ जना विज्ञ प्रशिक्षकहरू छानेर उनीहरूलाई पहिले तालिम दियो । त्यसपछि ती प्रशिक्षकमार्फत सम्बन्धित क्षेत्रमा अन्य धेरैलाई प्रशिक्षण दिइँदैछ र उनीहरूले बालबालिकालाई वैज्ञानिक रूपमा आधुनिक फुटबलबारे सिकाउँदैछन् । ३१ वर्षपछि विश्वकप जित्ने सपनासहित जापानले २०१९ देखि गृहकार्य थाल्यो अर्थात् भविष्यमा विश्वकप जित्ने पुस्ताका धेरै खेलाडी त अझै जन्मिसकेको छैनन् । अब हामीले जापानसँग तुलना ग¥यौँ भने हामीसँग  त एक वर्षको कार्यक्रम पनि छैन नि । हामीले यति महत्त्वाकाङ्क्षी कार्यक्रम बनाउन सक्दैनौँ होला, विदेशीसँग तुलना गरेर पनि हुँदैन । तर कम्तीमा उनीहरूबाट सिकेर उपलब्ध स्रोत–साधनको सदुपयोग गर्नेगरी योजना बनाउन सकिन्छ । यद्यपि यस दिशामा कसैको ध्यान गएको देखिँदैन । फुटबलमा विदेशीहरूले गरेको लगानी, धैर्यता, समर्पण र मिहिनेतबाट हामीले सिकेनौँ, समस्या यही नै छ ।

कस्ता कुरा सिक्न जरुरी छ ?

राम्रा क्लब र देशहरूको फुटबल लेभल उनीहरूले खेल्ने खेल शैलीबाटै प्रस्ट हुन्छ । खेल नतिजे पनि उनीहरूले गरेको प्रदर्शन अब्बल शैलीको हुन्छ । त्यो स्थानमा पुग्नका लागि उनीहरूले कस्तो  मिहिनेत गरेका छन् । त्यो हामीले सिक्न जरुरी छ । आधुनिक फुटबल एजुकेसन सिस्टम र साइन्ससँग जोडिएको छ । जसरी हामीले २, ३ वर्षदेखि नै बच्चालाई प्ले ग्रुप, नर्सरी, यूकेजी हुँदै पढाउँदै लग्छौँ । त्यसरी नै फुटबललाई पनि उमेर समूहहरूमा विभाजित गर्नुपर्छ । अनि खेलाडीहरूमा देखिएका कमजोरीलाई सानैदेखि सुधार्नुपर्छ । जस्तो अहिले हाम्रोमा केही खेलाडीको हेडिङ निकै राम्रो हुन्छ, तर फुटवर्क हुँदैन । कसैको देब्रे खुट्टा उत्कृष्ट हुन्छ तर दाइने खुट्टाले राम्ररी बल हान्न पनि सक्दैन । तर युरोपका खेलाडी हेर्नुभयो भने उनीहरूलाई बेसिक ज्ञान सबै हुन्छ । हामीले पनि खेलाडीहरूका कमजोरीलाई बच्चैदेखि तिर्खाने, उनीहरूमा देखिएको प्रगतिको रिपोर्ट तयार गर्ने काम गर्नुपर्छ । बेसिक स्किलसँगै फिजिकल फिटनेस, न्युट्रेसनलगायत विषयमा प्रशिक्षकलाई पर्याप्त जानकारी दिएर उनीहरूमार्फत नयाँ प्रतिभा उत्पादन लाग्नुपर्छ । हार–जित नभएर निरन्तरको लगन र प्रतिबद्धता नै ठूलो कुरा हो भन्ने प्रशिक्षकले बुझ्नुप¥यो र खेलाडीलाई सानैदेखि बुझाउनुप¥यो । हार्दा आत्तिने र जित्दा मात्तिने गर्न भएन । फुटबलमा पनि प्रणालीगत विकास कसरी गर्ने भन्ने विषयमा धेरै पुस्तक र इन्टरनेटमा स्रोत सामग्रीहरू उपलब्ध छन् । त्यसको सदुपयोग गरेर धेरै काम गर्न सकिन्छ । त्यसरी सानैदेखि प्रशिक्षित खेलाडी १७–१८ वर्षको हुँदा बल्ल उनीहरूबाट केही आश गर्न सकिन्छ । त्यसैले मेरो चाहना अन्य देशले फुटबलमा गरेको विकासबारे अध्ययन गर्दै एन्फाले ग्रासरुटका लागि बेग्लै, यू–१२ का लागि बेग्लै र यू–१४ का लागि बेग्लै कार्यक्रम बनाओस् । त्यहाँ कार्यक्रम सञ्चालन गर्नका लागि सही मान्छे चयन गरेर ल्याओस् भन्ने छ । तर यस्ता कुराको सुरुवात अहिलेसम्म भएको छैन ।

अहिले हाम्रो प्रशिक्षण कसरी चलिरहेको छ ?

अहिले हाम्रोमा फुटबल खेलाडीले ग्राउन्डमा गएर खेल्ने, अपोनेन्टसँग बल भयो भने डिफेन्स गर्ने, आफूसँग बल भयो भने गोल हान्ने, जित्यो ट्रफी लियो सिद्धियो । व्यावहारिक र सैद्धान्तिक रूपमा फुटबलका पक्षबारे खेलाडीलाई बुझाइएको छैन । हाम्रा धेरैजसो प्रशिक्षक आफैँमा पूर्वखेलाडी हुन्,  आफूले खेल्दाको समयको जुन सीमित अनुभव छ त्यसैका भरमा प्रशिक्षण गराइरहनुपर्ने बाध्यता हामीसामु छ । यही कारण हामी दक्षिण एसियाली क्षेत्रमा पनि पछि परिरकेका छौँ । अहिले इन्डियाको फुटबलको स्तर हेर्नुस् र नेपालको फुटबलको स्तर हेर्नुस् । आजभन्दा २० वर्षअघि नेपाल र भुटानको गेममा कति अन्तर थियो र के छ ? यी कुरालाई बुझेर हामीले पर्याप्त तयारी गर्न जरुरी छ । तर हामी अझै एक–दुई प्रतियोगिता जितेकै भरमा मख्ख परेर बसेका छौँ ।  अस्ति हामी जितिरहेको थियौँ, पशुपतिनाथको कृपाले फेरि जित्छौँ भनेर हुँदैन । फुटबल पशुपतिनाथले खेल्ने होइन ।

दीर्घकालीन योजना बनाउने विषयमा एन्फाले किन ध्यान दिइरहेको छैन ?

म प्रशिक्षक भएकाले टेक्निकल कुरा जति जान्दछु, व्यवस्थापनबारे मलाई त्यति आइडिया छैन । यद्यपि फुटबलमै आफ्नो जीवन समर्पित गरेकाले नेपाली फुटलबलको उन्नति होस् भन्ने मेरो चाहना हो । जहाँसम्म योजना निर्माणको कुरा गर्नुभयो मेरो बुझाइमा योजना बनाउने ठाउँका मानिसहरू एकजुट नहुँदा यो समस्या देखिएको छ । योजना बनाउनुपर्ने ठाउँमा गएका मानिसहरू नै चार गुटमा भएपछि एउटाले ल्याएको योजना अर्काले विरोध गर्ने नै भयो । फुटबल विकासका लागि हामी जुन बाटोमा जानुपर्ने हो, त्यो बाटो अझै हिँडेका छैनौँ भन्ने नै मलाई लाग्छ ।

तर यी सबै समस्याका बाबजुद लकडाउन अवधिमा पनि केही राम्रा काम भने भएका छन्, जो बाहिर देखिएनन् किनकि फुटबल समर्थकहरूले खेल गतिविधि मात्रै हेर्नुहुन्छ । खेलाडी तथा प्रशिक्षकहरू खेल नहुँदा बेरोजगार भएका छन् । तर लकडाउनको अवधिमा प्रशिक्षकहरूलाई भर्चुअल्ल सम्पर्कमा राखेर प्रशिक्षणका नयाँ तौरतरिकाबारे सिकाउने काम भने एन्फाले गरेको छ । प्रत्येक जिल्लाका प्रशिक्षकले एन्फाको भर्चुअल सिस्टममा जोडिएर प्रत्येक साता क्लास लिँदै हुनुहुन्छ । नेपालमा रहेका प्रशिक्षकहरूले यस प्रोग्राम बनाउने र त्यसलाई एन्फाको साइटमा हाल्ने काम गरिरहेका छन् । यसले प्रशिक्षकहरूलाई एजुकेसन सिस्टममा अभ्यस्त बनाउँदैछ । केही नभए पनि १ सय जना जति प्रशिक्षकले यसबाट धेरै सिक्नुभएको छ । जो कालान्तरमा फुटबलका लागि फाइदाजनक हुन्छ । भर्चुअल माध्यमबाट कार्यक्रम गर्दा केन्द्र मात्रै नभएर जिल्लाका प्रशिक्षकहरूले पनि धेरै सिक्ने अवसर पाउनुभएको छ । धेरैभन्दा धेरै प्रशिक्षक जोडिनुभएको छ । यसको सकारात्मक प्रभाव भविष्यमा देखिन्छ भन्ने लाग्छ । यद्यपि हामीले अझै धेरै गर्न बाँकी नै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अन्वेषण अधिकारी
अन्वेषण अधिकारी
लेखकबाट थप