किसुनजीको नाममा चैत २२ गते हाफ म्याराथन हुने
काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) को नाममा महिला तथा पुरुष हाफ म्याराथन आयोजना गर्ने भएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश संयोजक एवं केन्द्रीय सदस्य दीपक गुरुङले चैत २२ गते प्रथम किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता २०७७ आयोजना गर्न लागिएको जानकारी गराए । समग्र नेपाली राजनीति र नेपाली खेलकुदको क्षेत्रमा किसुनजीको योगदानलाई स्मरण गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ ।
प्रतियोगितालाई भविष्यमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताका रुपमा रुपान्तरित गर्दै जाने र नव खेलाडी उत्पादनलाई समेत जोड्दै जाने लक्ष्य रहेको संयोजक गुरुङले बताए । ९ लाख रुपैयाँ अनुमानित बजेट रहेको प्रतियोगितामा विजयी शीर्ष तीन खेलाडीहरुले नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै चौथो र पाँचौ स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ५÷५ हजार प्राप्त गर्नेछन् ।
म्याराथन काठमाडौ क्षेत्र नं. ४ गोल्फुटारस्थित बास्केटबल कोर्टबाट सुरु हुँदै धुम्बाराही चोक, चावहिल, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, जयनेपाल हल, दरवारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, बुढानिलकण्ठ प्रहरी बिट हुँदै पुनः सोही स्थानमा आएर समापन हुने कार्यक्रममा जानकारी गराईयो ।
कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचन, केन्द्रीय सचिवद्वय मनिषराम जोशी र बखत बहादुर शाही, केन्द्रीय सदस्य राजुविक्रम थापा, कुमार बस्नेत लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ