रसुवागढी नाकाबाट व्यापारिक कारोवार शुरू
धुन्चे । ल्होछार पर्वका कारण बन्द नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका आजबाट पुनः शुरु भएको छ । गत माघ २९ गतेदेखि आयात निर्यात बन्द व्यापारिक नाका खुले लगत्तै आज पहिलो दिन चिनियाँ ठूलो सात वटा कन्टेनरले ल्याएका सामग्री नेपाल भित्रिएको हो ।
रसुवागढी भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चिनियाँ सात वटा सवारी साधनले मितेरी पुलमा पुर्याएका सामग्री नेपाली १५ वटा कन्टेनरमा राख्ने काम सम्पन्न भई भन्सार प्रक्रिया अगाडि बढेको हो । मेशिनरी औजार तथा काठका फर्निचर, जुत्ता, तयारी पोसाकजस्ता मालवस्तु आयात भएका र ती सामग्री छिटो भन्दा छिटो काठमाडौँ पठाउन जाँच परीक्षण कार्यलाई समेत तीव्रता दिइएको छ ।
नेपालीको दशैँ जस्तै चीनको तिब्बतमा वर्षको एक पटक कम्तीमा तीन हप्ता मनाइने ल्होसार मान्न सबै कामदार घर घरमा जाने भएका कारण बन्द भएको व्यापारिक कारोबार अबका दिनमा निरन्तर हुने भन्सार कार्यालयले जनाएको छ । सामग्री परीक्षणका लागि कार्यालयले यथेष्ट जनशक्ति परिचालन गरेको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए ।
गत तीन महिना अगाडिदेखि रसुवामा कोरोनाको सङ्क्रमण शून्यमा झरिसकेको र कोरोनाविरुद्धको खोपसमेत लगाउन शुरू भई सबै नागरिक भयरहित वातावरणतर्फ फर्किसकेकाले जिविकोपार्जनका लागि गर्दै आएका पेशा वा व्यवसाय निर्धक्क साथ अगाडि बढाउन सुझाव दिएको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अनिलकुमार खरेलले बताए ।
रसुवागढी नाका क्षेत्रमा काम गर्ने भन्सार, अध्यागमन कार्यालयका कर्मचारी, मजदूर तथा ढुवानीका सवारी साधन चलाउने चालकसमेतलाई एक महिना अगाडि नै कोरोनाविरूद्धको भ्याक्सिन लगाइ सकिएको बताउँदै प्रमुख भन्सार अधिकृत रेग्मीले सीमा क्षेत्रमा अब कोरोनाको आशङ्का नगर्न सबै पक्षसँग आग्रह गरिएको बताए ।
कोरोना सङ्क्रमणको जटिल समस्या आई देश लकडाउन भएका बेलादेखि हालसम्म चिनियाँ भूभागमा रोकिएका सवारी साधन १८ वटा मात्र भएको पाइएको र ती सवारी साधन लिन जान चाहने सवारीधनीलाई आफ्नो संस्थाको तर्फबाट पहल गरिने रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासका लागि प्रतिबद्ध छौँ : गभर्नर अधिकारी
-
विश्वभर २८ करोड २० लाख मानिस भोकमरीको चपेटामा
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
-
आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती