सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

संसद बैठकपछि नेताहरुको प्रतिक्रियाः कसले के भने ?

बुधबार, २६ फागुन २०७७, १६ : ५४
बुधबार, २६ फागुन २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता झलनाथ खनालले पुनःस्थापित संसदबाट नयाँ खेलको शुरुवात हुने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठक पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले संसद राजनीतिक पार्टी र राजनीतिज्ञहरूको खेल खेल्ने सर्वोच्च राजनीतिक मञ्च भएको उल्लेख गर्दै संसद बाट नयाँ खेलको सुरुवात हुने बताएका हुन् । कुन र कस्तो खेल भन्ने स्पष्ट नपारे पनि उनले नयाँ खेल कसरी हुन्छ भन्ने कुराको परिदृश्य बिस्तारै देखिँदै जाने टिप्पणी गरे । संसदले मुलुकलाई राम्रो निष्कर्षतर्फ लानुपर्ने उनको भनाई छ ।

उनले नेकपा एमाले देशका वामपन्थी एकताको पक्षमा रहेको र सो मुद्दा कहिल्यै पनि नछाड्ने समेत बताए । उनले भने– ‘यो संसद भनेको सबभन्दा माथिको सर्वोच्च राजनीतिक मञ्च हो । देशको सम्पूर्ण राजनीतिक पार्टीहरुले, राजनीतिज्ञहरुले खेल खेल्ने ठाउँ यही हो । अब नयाँ खेलको सुरुवात हुन्छ । त्यो नयाँ खेल कसरी हुन्छ भन्ने कुराको परिदृश्य तपाईहरुले बिस्तारै बिस्तारै देख्दै जानुहुन्छ । तर मलाई लाग्छ, संसदले एउटा राम्रो निष्कर्षतर्फ अब मुलुकलाई लानुपर्छ । नेकपा(एमाले) सधैंभरी यो देशको वामपन्थी एकताको पक्षमा छ । वामपन्थी हरुलाई एकताबद्ध गर्नुपर्छ भन्ने पक्षमा छ । मुलुकको अग्रगतिको पक्षमा छ । प्रगतिको पक्षमा छ । हामी यी मुद्दाहरूलाई कहिल्यै पनि छोड्दैनौँ ।’

नेकपा(एमाले) का नेता माधवकुमार नेपालले पार्टी र सरकारलाई कसरी लाने र अन्य पार्टी सँगको सहकार्यलाई कसरी लाने भन्ने विषयमा विस्तृत रुपमा छलफल गर्ने बताए । उनले भने– ‘हाम्रो पार्टीमा हामी छलफल गर्छौ । कसरी पार्टी लाने, आन्दोलन लाने कसरी, सरकार लाने कसरी, अरु पार्टी सँगको सहकार्य गर्ने कसरी, जनताको बिश्वास जित्ने कसरी, जनताका गुनासोहरू सम्बोधन गर्ने कसरी, पार्टी भित्रको विमतिलाई सम्बोधन गर्ने कसरी, यावत् कुराको बारेमा विस्तृत छलफल गर्छौ । हामी छलफलबाट, बहसबाट, विवादबाट कहिल्यै पनि डराउँदैनौ । छलफल, बहस, विवाद राजनीतिज्ञको एउटा विशेषता पनि हो । लोकतान्त्रिक संस्कार बोकेको राजनीतिज्ञको जिम्मेवारी पनि हो ।’
नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदमा रहेका राजनीतिक दलहरुले आफ्नो स्थिति प्रष्ट नगरेको स्थितिमा ओली नेतृत्वको सरकारको बहुमत गुमेको भन्न नमिल्ने बताए ।

जनता समाजवादी पार्टी सँग सत्ता सहकार्यका निम्ति निरन्तर कुराकानी गरिरहेको भन्दै उपनेता नेम्वाङले रेशम चौधरी लगायतका मधेश आन्दोलनमा भएका मुद्दा फिर्ता लिने र रिहाइ गर्नुपर्ने भन्ने जसपाको मागमा सरकार सकारात्मक र गम्भिर रहेको बताए । उनले भने, ‘अहिले स्थिति के छ भन्दाखेरी प्रधानमन्त्री केपी ओली जुन आधारमा उभिएर उहाँको झन्डै दुईतिहाइ बहुमतको सरकार थियो ।

त्यो जुन आधारमा उभिएको थियो, त्यो पार्टी सर्वोच्च अदालतको पछिल्लो फैसलाले दुई पार्टीमा विभाजित भएको छ । त्यो यथार्थ हो । अर्को यथार्थ के हो त भन्दा संसदमा रहेका राजनीतिक दलहरु आफ्नो स्थिति प्रष्ट गरिसकेका छैनन् । उनीहरु छलफलमा छन् । कसैले पनि सरकारलाई दिएको समर्थनको बारेमा बोलिसकेका छैनन् । स्वयम् प्रचण्ड कमरेडको नेतृत्वको माओवादी केन्द्रले पनि यस बारेमा बोलेको छैन । त्यसकारण अहिले नै भन्नु हतारो हुन्छ । जसपासँग निरन्तर कुराकानीमा छौँ । रेशम चौधरी लगायत मधेश आन्दोलनमा भएका जुन मुद्दा मामिलाहरु छन् त्यसको बारेमा उहाँहरु गम्भिर हुनुहुन्छ, त्यसलाई फिर्ता गर्नुपर्यो, रिहाइ गर्नुपर्यो भनेर उहाँहरुले माग गरिराख्नुभएको छ । त्यस बारेमा सरकार सकारात्मक छ । सरकार गम्भिर छ भनेर हामीले भनेका छौँ ।’

नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले नेपाली काँग्रेस हतारमा सरकारमा जानुभन्दा विश्लेषण गर्नुपर्ने आवश्यकता रहेको बताए । आगामी स्थानीय तहको निर्वाचन र आम निर्वाचनमा बहुमत ल्याउने गरी पार्टी अगाडी बढ्नुपर्ने उनको भनाई छ । उनले भने– ‘हतारमा जानुभन्दा विश्लेषण गर्नुपर्छ पार्टीले । परिस्थितिको आँकलन गरेर अब आउने स्थानीय निर्वाचन र आम निर्वाचनमा बहुमत ल्याउने हिसाबले अघि बढ्ने ।’
नेपाली काँग्रेसका नेता मिन विश्वकर्माले नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा माओवादी, काँग्रेस र जसपाको सरकार बनाउने विषयमा छलफल हुने बताए । सरकारले संसदलाई बिजनेश नदिएका कारण संसद बैठक लम्बिइरहेको पनि उनको टिप्पणी छ । उनले भने– ‘यदि उहाँहरुले समर्थन फिर्ता लिनुभयो भने त्यो बेला नेपाली काँग्रेस, जसपा र नेकपा(माओवादी केन्द्र) ३ वटा शक्तिको बल्ल सरकार बनाउने विषयमा छलफल हुन्छ । सरकारको कार्यशैली, संसदलाई बिजनेस नदिएका कारणले संसदको बैठक लम्बिइरहेको छ ।’
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार सँग कुनै पनि किसिमको सहकार्य तथा सहयात्रा नहुने स्पष्ट पारे । वर्तमान सरकारलाई सत्ताबाट हटाउने नै आफ्नो पार्टीको मूल ध्येय भएको उनको भनाई छ । उनले भने– ‘लोकतन्त्रको रक्षाका लागि, संघीय गणतन्त्रका रक्षाका लागि, संघीयता पक्षधर शक्तिहरूसँग सहकार्य गर्न सक्छौँ । जसले हाम्रा मधेशका मुद्दाहरुलाई समर्थन गर्दछ । संविधान संशोधन लाई अगाडी बढाउँछ । त्यस्ता शक्तिहरूसँग सहकार्य गर्ने हो । त्यो शक्ति भनेको नेकपा(एमाले) होइन । त्यो विगतदेखि हामीले अहिलेसम्म जाँच परक टेष्ट गरेर व्यवहारमा हेरिसकेका छौँ । अहिलेको सरकारसँग कुनै किसिमको सहकार्य, सहयात्रा हुन सक्दैन ।’

जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरी लगायतका मुद्धा फिर्ता, मधेश/थारुहट आन्दोलनका मुद्दाहरु फिर्ता, संविधान संशोधन लगायतका सवालहरू केपी ओली समक्ष पटक पटक राखिएको भएपनि ओलीले ठग्ने बाहेक केही काम नगरेको बताए । आफ्नो मागहरु जसले पुरा गर्छ, उसैलाई समर्थन गर्ने नेता महतोको भनाई छ । उनले भने, ‘केपी ओलीको सरकारलाई पहिल्यै समर्थन गरेर हेरिसक्या होइन ? फेरि गर्ने ? त्यसैको लागि जन्मिया हामी ? यी शासक, सम्भ्रान्तहरुलाई सित्तैमा समर्थन गर्न जन्म्या हो हामी ? मागहरु पुरा गरे हुन्छ नत्र हुँदैन । हामीले भन्दै आएका मागहरु जसले पुरा गर्छ, त्यसप्रति सहानुभूति हुन्छ हाम्रो । रेशम चौधरी लगायतका मुद्दा फिर्ता, मधेश/थारुहट आन्दोलनका मुद्दाहरु फिर्ता, संविधान संशोधन लगायतका सवालहरू आजको होइन नि, यो त पटक पटक राखेकै हो नि केपी ओलीलाई नि राखेको, समर्थन पनि गरेको हो नि त । ठग्ने बाहेक केही काम गरेको छ केपी ओलीले ? अनि केपी ओलीको नाम लिनुहुन्छ ? काम गरेर देखाउनुपर्यो नि ।’

जसपाका नेता लक्ष्मणलाल कर्णले आफ्नो इस्युहरु सबै सरकारसँग कुरा गर्दै आएको र वर्तमान सरकारसँग पनि आग्रह गरिएको बताए । नेकपा(एमाले)सँग सत्ता समीकरण बारे छलफल गर्न कार्यदल नबनेको उनको जिकिर छ । उनले भने, ‘हामीले सरकारको स पनि चर्चा गरेको छैन अहिले । कार्यदल बनेको छैन । तर हाम्रो जो इस्यु हो त्यो इस्युको लागि सबै सरकारसँग आग्रह गर्दै आएको कुरा आज पनि आग्रह गरिएको हो । हामीले अहिले सत्ता समीकरणको कुनै कुरा गरेको छैन ।’ सत्ता समीकरणको सम्बन्धमा जसपा कुनै पक्षसँग नभएको उनले स्पष्ट पारे । आफ्नो मुद्दाहरु सम्बोधन भए सरकार बारे सोच्ने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप