बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशको खेलकुद विकासमा बेलायतका नेपालीको सहयोग प्रतिवद्धता

मङ्गलबार, १० चैत २०७७, २२ : ००
मङ्गलबार, १० चैत २०७७

लन्डन । नेपालको गण्डकी प्रदेशमा खेलकुद विकासका लागि बेलायतका नेपालीले सहयोग प्रतिवद्धता व्यक्त गरेका छन् । गण्डकी प्रदेशका नवनियुक्त सदस्यसचिव तेजबहादुर गुरुङको सम्मानमा बेलायतमा आयोजित भर्चुअल कार्यक्रममा सहभागी बेलायतका नेपाली अभियन्ताहरुले आफ्ना तर्फबाट आर्थिक तथा भौतिक सहयोग प्रतिवद्धता गरेका हुन् । सो अठोट पुरा गर्न बेलायतका नेपालीहरुले यहांका अग्रज समाजसेवी मीनप्रसाद गुरुङको संयोजकत्वमा ‘गण्डकी प्रदेश खेलकुद समन्वय मञ्च यूके’ घोषणा पनि गरेका छन् । 

पूर्व राष्ट्रिय खेलाडी समेत रहेका तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङको संयोजनमा गठित मञ्चमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने बेलायतस्थित विभिन्न क्षेत्रीय तथा खेलकुदसम्बन्धि संघसंस्थाको प्रतिनिधित्व रहने बताइएको छ । सम्मान कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्तले सदस्यसचिव गुरुङलाई बधाई तथा शुभकामना दिंदै गुरुङको नयां जिम्मेवारीले गण्डकी प्रदेशले खेल क्षेत्रमा मनग्य लाभ लिने विश्वास व्यक्त गरे । 

सम्मानित व्यक्तित्व सदस्य सचिव गुरुङले बेलायतका नेपालीको साथ र सहयोगप्रति आभार व्यक्त गर्दै प्राप्त राय सुझाव मनन गरी अगाडि बढ्ने बताए । उनले खेलकुद मनोरन्जनमात्र नभइ अर्थव्यवस्था उकास्ने ठूलो माध्यम भएको धारणा राख्दै गण्डकी प्रदेशमा नेपाली डायस्पोराको सहयोगबाहेक बेलायतबाट खेल विकासमा हुन सक्ने सहयोग र सहकार्यका लागि मितेरी सम्बन्ध गांस्न पनि आफूले चाहेको बताए । 

गण्डकी प्रदेशको खेल स्तर सशक्त अहिले खस्केकाले त्यो उकास्ने आफ्नो योजना सुनाउँदै उनले विभिन्न उमेर समूहमा खेलकुद गतिविधि विस्तार गर्ने, प्रदेश र राष्ट्रको गौरव अभिवृद्धि गर्ने गरी खेलाडी उत्पादन गर्ने आफ्नो सोच रहेको सुनाए । सदस्य सचिव गुरुङले पहाडी भेगमा खेलिने मौलिक खेल छेलो र तारो धनुष हान्ने खेल प्रवर्धनका लागि बजेट निकासा भइसकेको पनि जानकारी दिए । 

‘हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टर’ खोल्ने प्रोजेक्ट रहेको पनि उनले बताए । खेलकुदले दोश्रो पुस्तालाई आफ्नो मातृभूमितर्फ आकर्षित गर्ने भएकाले अभिभावकहरुलाई पनि यसमा लाग्न आग्रह गरे । गण्डकी प्रदेशको खेल विकासमा गैर आवासीय नेपाली संघबाट धेरै अपेक्षा राखेको बताउंदै उनले आफू सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै एनआरएनए यूकेका संरक्षक एवं समाजसेवी सूर्य गुरुङले खेलकुद क्षेत्रको विकास र स्तरोन्नतिका लागि जीवन नै समर्पण गरेका गुरुङको सक्षम र क्षमतावान नेतृत्वबाट गण्डकी प्रदेशको खेलकुदले थप उचाई हासिल गर्ने अपेक्षा व्यक्त गरे । 

कार्यक्रममा एनआरएनए आइसीसी महासचिव डा. हेमराज शर्मा, एनआरएनए आइसीसी युवा संयोजक हिमाल गुरुङ, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, तमुधि यूके अध्यक्ष हितकाजी गुरुङ, तमु पे ल्यू संघ यूके निवर्तमान अध्यक्ष मेजर खुशीमान गुरुङ, पोखरेली मञ्च यूके अध्यक्ष मानप्रसाद गुरुङ, सहारा यूके अध्यक्ष कुमार गुरुङ, हङकङ नेपाली मञ्च यूके अध्यक्ष ह्यारी गुरुङ, घोताने समाज यूके अध्यक्ष ले. चन्द्रबहादुर गुरुङ, स्याङजा समाज यूके अध्यक्ष शारदा गुरुङ लगायतले बधाइ तथा शुभकामना दिएका थिए । 

वक्ताहरुले खेल क्षेत्रमा लामो योगदान र अनुभव संगालेका गुरुङको नियुक्ति सुःखद रहेको धारणा राख्दै उनको कार्यकालमा खेलकुद विकासमा उल्लेखनीय प्रगति हुने आशा राखे । कार्यक्रममा पूर्व राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङ राईले सदस्यसचिव गुरुङको व्यक्तित्वबारे बताइन् । को हुन् सदस्य सचिव गुरुङ ? नवनियुक्त सदस्यसचिव गुरुङ ह्यान्डबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक हुन् ।

देशभित्र थुप्रै प्रतियोगितामा सहभागी र अवार्ड जित्न सफल उनले खेलकुदमा सहभागिताकै क्रममा दर्जनौं देशको भ्रमण गरिसकेका छन् । सक्रिय खेल जीवनबाट अवकाश लिएपछि गुरुङ खेलकुदकै कासमा निरन्तर क्रियाशिल रहंदै आएका छन् । गुरुङ नेपाल ओलम्पिक कमिटीमा दोस्रो कार्यकाल उपाध्यक्षको जिम्मेवारीमा छन् भने नेपाल ह्यान्डबल संघमा पनि अहिले दोस्रो कार्यकाल अध्यक्ष छन् ।

एशिएन ह्यान्डबल महासंघमा सदस्य रहेका उनी दक्षिण एशियाली ह्यान्डबल महासंघमा उपाध्यक्ष छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिमा कोषाध्यक्ष एवं भूतपूर्व खेलाडी मञ्च नेपालमा अध्यक्ष पनि छन् । गुरुङले खेलकुद क्षेत्रमा पुरयाएको योगदानको खातिर देश, विदेशबाट कयौं सम्मान पनि पाइसकेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप