सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

फेवातालका डुङ्गा व्यवसायीको पीडा : पर्यटक नआउँदा दैनिकी चलाउनै समस्या

बुधबार, ११ चैत २०७७, ११ : १६
बुधबार, ११ चैत २०७७


पोखरा । ओखलढुङ्गाका चित्रबहादुर मगरको दैनिकी गाउँघरमा राम्रै चल्दै थियो । बिहान उठ्यो, कुटो–कोदालो, मेलापात र अर्म–पर्ममै दिन बित्दै थिए । आफ्नै गाउँ छिमेकका आधा दर्जनभन्दा धेरै युवाले पोखराको फेवातालमा डुङ्गा चलाएर राम्रो आम्दानी गर्दै आएको गाउँभरी चर्चा चलिरहेको थियो । उनले पनि पोखरा आएर गाउँकै साथीसंगीसँग फेवातालमा डुंगा चलाउने योजना बनाए ।

२०७४ सालमा पोखरा आएका उनले साथीहरूसँगै फेवातालमा डुङ्गा चलाउन थाले । डुंगा चलाएर उनले राम्रै आम्दानी गरिरहेका थिए । यसैक्रममा कोरोनाभाइरसको संक्रमण जोखिमका कारण गत वर्ष चैतदेखि सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाले ६ महिना उनको डुङ्गा चल्न पाएन । पेशा व्यवसाय ठप्प बन्यो । डुङ्गा चलाएर दैनिक घरखर्चको जोहो गर्दै आएका मगरले आम्दानीको स्रोत नै बन्द भएपछि ज्याला मजदुरीको काम गरे ।

‘सरकारले लामो समयसम्म लकडाउन गरेपछि दैनिक खर्च धान्नका लागि ज्याला मजदुरीको काम गरेर खर्चको जोहो गरेँ,’ उनले भने, ‘लकडाउनसँगै डुङ्गा चलाउन बन्द भएपछि घर निर्माणको काममा चार÷ पाँच महिना मजदूरी गरेर घरखर्च जुटाएँ ।’

सरकारले लामो समयसम्म बन्दाबन्दी गरे पनि दैनिक ज्यालादारीमा काम गरेका आफूहरु जस्ता निम्न वर्गका मजदूरहरुका लागि राहतको व्यवस्था नगरेको उनको गुनासो छ । ‘लामो समयसम्म जारी बन्दाबन्दीमा पनि सरकारले हामीजस्ता निम्न वर्गका जनताका लागि कुनै राहतको व्यवस्था गरेन,’ उनले भने, ‘लामो समय कोठामै थुनिएर बस्दा पनि डुंगा व्यवसायी समितिले बाहेक कसैले राहत दिएनन् ।’

चैत महिना सुरु भएपछि भने स्कूल र कलेजका विद्यार्थी भ्रमणका लागि आउने क्रम बढेकाले डुङ्गा व्यवसायीलाई राहत मिलेको मगर बताउँछन् । ‘एकसाता भयो, कलेज र स्कूलको भ्रमण टोली आउन थालेपछि डुङ्गा चालकलाई भ्याइनभ्याइ भएको छ’, उनले भने, ‘भ्रमणको सिजन सुरु भएपछि भने दैनिक ८/९ सय कमाइ हुन थालेको छ ।’

मगरले बन्दाबन्दीका बेला बेखर्ची भएर कयौं दिन एकछाक खाएर दिन गुजारेको सम्झिए । ‘कति दिन एक छाक खाएर हिँडियो’, उनले भने, ‘घरमा खाने रासन नभएपछि केही दिन त भोकै पनि बसियो, तर, राज्य निर्दयी बन्यो, सहयोग गरेन ।’ 

उनले सरकारले असोज १ गतेदेखि डुङ्गा चलाउन छुट दिए पनि आन्तरिक तथा बाह्य पर्यटक नआउँदा दैनिक खर्चको जोहो गर्न समस्या भएको बताए । ‘बिहानदेखि बेलुकासम्म पालो कुर्दासमेत दैनिक ४/५ सय रुपैयाँ आम्दानी हुँदैन,’ उनले भने, ‘कुर्दाकुर्दा घण्टौंसम्म पनि पालो आउँदैन, दिनमा ५/७ टिप पाउन पनि गाह्रो पर्छ ।’

सरकारले गत असोजदेखि डुङ्गा सञ्चालन गर्न दिए पनि कोरोना संक्रमणको त्रासका कारण पर्यटक आगमन नहुँदा व्यवसायले गतिलिन नसकेको उनले बताए । ठुलो संख्यामा डुङ्गा व्यवसायमा आवद्ध व्यवसायीका लागि फाट्टफुट्टरुपमा आउने पर्यटक पर्याप्त नभएको उनको भनाइ छ । असोजदेखि पर्यटकका लागि डुङ्गा खुल्ला गरिए पनि सामान्य संख्यामा मात्र डुङ्गा सयर गर्ने आन्तरिक पर्यटक आएको उनले बताए ।

चैत महिना सुरु भएपछि भने स्कूल र कलेजका विद्यार्थी भ्रमणका लागि आउने क्रम बढेकाले डुङ्गा व्यवसायीलाई राहत मिलेको मगर बताउँछन् । ‘एकसाता भयो, कलेज र स्कूलको भ्रमण टोली आउन थालेपछि डुङ्गा चालकलाई भ्याइनभ्याइ भएको छ’, उनले भने, ‘भ्रमणको सिजन सुरु भएपछि भने दैनिक ८/९ सय कमाइ हुन थालेको छ ।’

उनले विस्तारै पर्यटन व्यवसाय चलायमान हुन थालेसँगै व्यवसाय लयमा फर्किने आस जागेको बताए ।

विगत १९ वर्षदेखि फेवातालमा डुङ्गा चलाउने अर्का पाका चालक हुन् चिजमान गुरुङ । कास्कीको घान्द्रुक घर भएका उनको फेवामा तीनवटा डुङ्गा चल्छन् । झण्डै २ दशकदेखि निरन्तर फेवामा डुङ्गा चलाउँदै आएका चिजमानले कोरोनाका कारण लामो समयसम्म व्यवसाय थला परेको बताए ।

‘एक वर्षदेखि व्यवसाय चौपट भएको छ,’ उनले भने, ‘सरकारले असोजदेखि डुङ्गा संचालन गर्न खुल्ला गरेपनि पर्याप्त पर्यटक नआउँदा अहिले पनि व्यवसायी मारमा परेका छन् ।’

उनले आन्तरिक तथा बाह्य पर्यटकको आगमन शून्य भएका कारण फेवातालमा आश्रित डुङ्गा व्यवसायी एक वर्षदेखि समस्यामा परेको बताए । लामोसमय कायम रहेको बन्दाबन्दीमा पनि सरकारले व्यवसायीलाई राहत उपलब्ध नगराएकोमा उनले गुनासो गरे । ‘दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका श्रमजीवीलाई त्यतिका लामो बन्दाबन्दीमा समेत राज्यले कुनै राहत दिएन,’ उनले भने, ‘कामकाज ठप्प भएर बिहान–बेलुका हातमुख जोर्न नपाएर भोकभोकै भएको अवस्थामा पनि राज्य निरीह बन्यो ।’

कामकाज बन्द भएर डुङ्गा चालक भोकभोकै हिड्न वाध्य भएपछि फेवा ताल डुङ्गा ब्यवसायी समितिले राहत दिएर उनीहरुको प्राण बचाएको गुरुङले बताए ।

सिजनको बेला डुङ्गा चलाउँदा उनले दैनिक एक हजार रुपैयाँभन्दा बढी कमाइ गर्दथे । तर, बन्दाबन्दी पछि डुङ्गा खुले पनि पहिलेजस्तो कमाइ छैन । बिहानदेखि बेलुकासम्म फेवाको किनार कुर्दासमेत ४/५ सय रुपैयाँमात्र कमाउने गरेको उनले बताए ।

१९ वर्षदेखि आफै डुङ्गा खियाउनेमात्र होइन, आफ्नै तीनवटा डुङ्गा फेवातालमा सञ्चालन हुँदासमेत भाडाकै घरमा बस्दै आएका उनलाई जीविकोपार्जनकै लागि भने समस्या थिएन । तर, वर्ष दिनदेखि काम रोकिँदा उनलाई पनि खर्च धान्न हम्मेहम्मे परेको छ । ‘आम्दानीको मुख्य श्रोत नै डुङ्गा हो । तीनवटा डुङ्गालाई लाइनमा राख्दा आक्कलझुक्कल पालो आउँछ,’ उनले भने, ‘दिनभरी बाराहीघाट कुर्दा पनि साँझ–बिहान जोहो गर्ने पैसा कमाउन पनि मुस्किल हुन्छ ।’

डुङ्गा चालक गुरुङले एक वर्षदेखि थलिएको व्यवसाय केही दिनदेखि क्रमशः तङ्ग्रिन थालेको बताए । गुरुङले आन्तरिक पर्यटकका कारण नै पोखरामा डुंगा व्यवसायसँगै अन्य व्यवसाय पनि तङ्ग्रिन थालेको बताए ।

आन्तरिक पर्यटकलाई पर्यटक नै नमान्ने लेकसाइडका व्यवसायीहरु अहिले आन्तरिक पर्यटककै भरमा व्यवसायमा टिकिरहेको उनको भनाइ छ ।

सिन्धुलीका सुरेश विकले पर्यटकलाई डुङ्गामार्फत फेवातालमा सयर गराउन थालेको एक दशक भयो । परिवारका पालन पोषणका लागि पैसाको जोहो गर्न बिहानदेखि बेलुकासम्म ग्राहकको प्रतीक्षामा बस्ने विकको कमाइले घर खर्च चलाउनसमेत कठिन भएको छ ।

डुङ्गा चलाएको एक दशक अवधिमा परिवारको खर्च धान्न उनलाई कहिल्यै सकस परेको थिएन । तर, कोरोनाभाइरस संक्रमणले पर्यटक आगमन ठप्प भएपछि विकलाई दैनिक घर खर्च चलाउन पनि मुस्किल छ ।

कोरोना संक्रमणले पर्यटन क्षेत्र ठप्प हुँदा विकको आम्दानी पनि शून्य भएको छ । श्रीमती र दुई सन्तानसहित पोखराको बुलौदीस्थित डेरामा बस्दै आएका विक आन्तरिक तथा बाह्य पर्यटक नआउँदा तनावमा छन् ।

‘कोरोना संक्रमण देखिनु अघि डुङ्गा चल्दा बिहान बेलुकाको दालभात र छोराछोरीको स्कूल खर्च सहजै चलेको थियो,’ उनले भने, ‘गत चैतदेखि ६ महिना पूर्णरुपमा डुङ्गा चलाउने काम रोकियो, असोजदेखि खुले पनि पर्यटक आगमन नहुँदा व्यवसाय नै धरापमा प¥यो ।’

सिजनको बेला डुङ्गा चलाउँदा उनले दैनिक एक हजार रुपैयाँभन्दा बढी कमाइ गर्दथे । तर, बन्दाबन्दी पछि डुङ्गा खुले पनि पहिलेजस्तो कमाइ छैन । बिहानदेखि बेलुकासम्म फेवाको किनार कुर्दासमेत ४/५ सय रुपैयाँमात्र कमाउने गरेको उनले बताए ।

‘यस्तो कमाइले त घरखर्च होइन, पोखराको बढ्दो महँगीमा खाजा खानमात्र ठिक्क हुन्छ,’ उनले भने, ‘घर खर्च र छोराछोरीका विद्यालय शुल्कका लागि ऋण खोज्नुपर्ने अवस्था छ ।’

फेवामा किनारामा रहेका विभिन्न ८ वटा घाटमा सञ्चालनका लागि करिव ८०० वटा डुङ्गा दर्ता भएका छन् । त्यसमध्ये सबैभन्दा बढी बाराही मन्दिर जान बाराहीघाटबाट चल्दछन् । बाराहीघाटबाट करिव ३ सय ५० डुङ्गा सञ्चालन हुने गरेका छन् ।

फेवातालमा बाराहीघाट सहित गौरीघाट, अम्बोट, फिस्टेल, पहारी, फेवा, स्वीमिङ पुल र बंगलादी गरी ८ घाटबाटै डुङ्गा चल्छन् । समितिको निर्देशनमा पर्यटकको चाप हेरेर आवश्यकताको आधारमा आलोपालो प्रणाली मार्फत ती डुङ्गा सञ्चालन हुँदै आएका छन् ।

एउटा डुङ्गामा बढीमा ७ जनासम्म यात्रु राखेर सञ्चालन गरिदै आएको फेवा डुङ्गा व्यवसायी समितिले जानकारी दिएको छ । सुरुमा भौतिक दूरी कायम गर्दै ४ जनामात्र चढाएको भए पनि हिजोआज ७ जना यात्रु राखेर सञ्चालन गरिदै आएको समितिको भनाइ छ । कोरोना संक्रमण पहिले फेवातालमा डुङ्गा चलाएर करिब ५ सय डुङ्गा चालकले रोजीरोटी चलाउँदै आएका थिए । कोरोना संक्रमणले व्यवसाय थलिएपछि धेरै डुङ्गा चालकहरू पलायन भएको समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप