शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमती मार्न दुबईबाट पैसा पठाउने काजीमानको कथा

श्रीमतीको चरित्रबारे गाउँलेको कुरा सुनेर बिन्दाको हत्या
बुधबार, ०१ वैशाख २०७८, १८ : १८
बुधबार, ०१ वैशाख २०७८

काठमाडौं । २०७६ साल फागुन २७ गते अपरान्हदेखि सञ्चार माध्यममा एउटा समाचारले स्थान पाउन थाल्यो । समाचार थियो–तेह्रथुमको आठराई गाउँपालिका–४ तीनसल्लेमा २८ वर्षीया महिलाको विभत्स हत्या ।

घटनास्थलको दृश्य दर्दनाक थियो । भान्सा कोठामा २८ वर्षीया महिला बिन्दा पुरीको शव घाँटी रेटी हत्या गरिएको अवस्थामा फेला परेको थियो । घरैमा रहेका १० वर्ष र १५ महिनाका छोरा भने सकुशल थिए । तर, आफ्नै काकाहरुले अवोध बालकहरुको मातृवात्सल्य खोसेर लगे ।

बिन्दाको घाँटी मात्रै रेटिएको थिएन, सुरुवाल र भित्री बस्त्र पनि खोलिएको अवस्थामा फेला परेको थियो । घटनास्थलको प्रकृति हेर्दा कसैले बलात्कारपछि हत्या गरेको आशंका गरियो ।

श्रीमान विदेशमा रहेका बेला गाउँमै एक महिलाको हत्या भएपछि तीनसल्ले गाउँ र पूरै तेह्रथुम डरले काँपेको थियो ।

घटनालगत्तै विराटनगरबाट तालिमप्राप्त कुकुर लगेर अनुसन्धान सुरु भयो । घटनामा संलग्न हुन सक्ने भन्दै स्थानीय ५ जना युवालाई पनि नियन्त्रणमा लिइयो ।

२०७६ साल फाल्गुण २६ गते राति भएको हत्याको चार दिन नबित्दै प्रहरीले अभियुक्तहरूलाई सार्वजनिक ग¥यो । अभियुक्त थिए, बिन्दाकै दुुई देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरी ।

भाउजूसँग आर्थिक लेनदेन नमिलेको भन्दै आफूहरुले हत्या गरेको प्रारम्भिक वयान उनीहरुले दिए । पोष्टमार्टम रिपोर्टमा भने बलात्कार गरेको देखिएन ।

यसरी भयो हत्या

विन्दा पुरीका दुईजना देवरहरु ३२ वर्षीय सुरेन्द्र पुरी र २५ वर्षीय बालकृष्ण पुरी झापामा बस्दै आएका थिए । २०७६ साल फागुन २६ गते बिहानै उनीहरु झापाबाट इटहरी आए । एउटा टाटा सुमो रिजर्भ गरेर भाउजूू बस्दै आएको तेह्रथुमको आठराई गाउँपालिका–४ तीनसल्लेतर्फ लागे ।

टाटा सुमो तीनसल्ले गाउँभन्दा केही वरै रोकियो र फिर्ता पठाइयो । रातको समयमा उनीहरु तीनसल्ले पुगे । गाडीबाट ओर्लिएर करिब आधा घण्टा हिँडेर भाउजू बस्दै आएको पुर्खौली घरमा पुगे ।

रातको करिब ११ बजे भाउजूूको घरमा पुुग्दा ढोका बन्द थियो । उनीहरुले ढोका ढक्ढकाएर खोल्न लगाए । भाउजूू विन्दाले ढोका खोलिन् । रातको समयमा देवरहरु आइपुुगेको देखेपछि राति किन आएको भनेर पनि सोधिन् । उनीहरुले दाइले पैसा पठाएकाले दिन आएको बताए । भाउजूले भित्र बोलाइन् र खाना बनाउन थालिन् ।

तर, भाउजूको हत्याको योजना बनाएर गएका दुुई दाजुुभाइलाई खाना खानु थिएन । मौका कुरेर बसेका देवरहरु विन्दाले खाना पकाउन लाग्दै गर्दा आफूले लिएर गएको डोरीले घाँटी कसे । विन्दाले फुत्कने कोसिस गर्दै गर्दा डोरी चुँडियो । त्यसपछि उनीहरुले आफूले साथमै लिएर गएको चक्कुले विन्दाको घाँटी रेटे र हत्या गरे ।

हत्यापछि दुुबैजना त्यहाँबाट निस्किए । आफ्नो कपडामा रगतसमेत लागेपछि उनीहरुले ती कपडा नजिकैको खोलामा बगाइदिए र रातारात हिँडेर र गाडीसमेत प्रयोग गरेर भोलिपल्ट बिहान इटहरी पुगे । त्यहाँबाट उनीहरु अर्को गाडी चढेर झापा फर्किए ।

यसरी पत्ता लागे अपराधी

घटनापछि अनुसन्धानमा जुटेको प्रहरीले घटना चिनजानकै व्यक्तिबाट भएको हुनुपर्ने भन्दै यौन वा आर्थिक लाभसँग जोडिएको निस्कर्ष निकाल्यो ।

महिलासँग धेरै उठबस भइरहने स्थानीय पाँच युवकलाई पनि प्रहरीले पक्राउ ग¥यो । तर, उनीहरुको संलग्नताको कुनै प्रमाण प्रहरीले पाउन सकेन ।

अनुसन्धानकै क्रममा प्रहरीले मृतक विन्दाका देवरसँग घटना हुनुभन्दा केही समय अगाडिमात्रै कुराकानी भएको पत्ता लगायो । त्यसपछि उनीहरुसँग पनि सामान्य सोधपुछ गरियो । तर, पीडित परिवारकै सदस्य भएकाले धेरै केरकार गरेन । यद्यपि सोधपुछका क्रममा धेरै आत्तिएकाले प्रहरीले उनीमाथि शंका भने गरिरह्यो ।

दोस्रोपटक पुनः सोधपुछ गरेपछि देवरहरु सुरेन्द्र र बालकृष्ण पुरीले आफ्नो अपराध कबुल गरे ।

हत्याका लागि आफूहरु सो मितिभन्दा १५ दिन पहिले पनि तीनसल्ले पुुगेको, तर हत्या गर्न असफल भएपछि फर्किएको वयान पनि उनीहरुले प्रहरीलाई दिए ।

दोस्रोपटक हत्या गर्नका लागि आफूहरु इटहरीबाट टाटा सुमो रिजर्भ गरेर गएको, इटहरीकै एक पसलबाट डोरी र अर्को पसलबाट चक्कुसमेत किनेर गएको बयान उनीहरुले दिए ।

उनीहरुले दिएको बयान अनुसार सकेसम्म डोरीले घाँटी कसेर हत्या गर्ने र त्यसपछि झुण्ड्याउने अनि आत्महत्या गरेर मरेको जस्तो बनाउने उनीहरुको योजना थियो । तर, उक्त योजनाले काम नगरेपछि आफूहरुले घाँटी रेटेर हत्या गरेको र कपडा खोलिदिएर बलात्कारजस्तो देखाउन खोजेको बयान दिए ।

हत्याको कारणमा चाहिँ दाइले पठाएको पैसा भाउजूले आफूहरुलाई नदिएको अभियुक्तले प्रहरीलाई बताए । तर, प्रहरी भने दाजुले पठाएको पैसा आफूहरुलाई नदिएकै कारण भाउजूको हत्या गरेको कुरामा विश्वस्त हुन सकेन । किनभने, दाजु काजीमान पुरी पहिले नै छुट्टिएर बसिसकेका थिए ।

प्रहरीले थप केरकार गरेपछि देवरहरु सुरेन्द्र पुरी र बालकृष्णले बताए कि दुुबईमै रहेका दाजुकै काजिमान पुरीकै योजना र निर्देशनमा भाउजूको हत्या गरेको हो । त्यसपछि, अभियुक्तहरुलाई अदालतमा उपस्थित गराइयो र पुर्पक्षका लागि जेल चलान गरियो ।

हत्याको मुख्य योजनाकार मानिएका श्रीमान काजीमान भने दुुबईमा रहेका कारण तत्काल पक्राउ गर्न सकिएन । उनीमाथि इन्टरपोलमार्फत् रेड कर्नर नोटिस जारी भयो ।

तेह्रथुमका डीएसपी गौतम थापाका अनुसार उनलाई तेह्रथुम प्रहरीमार्फत् संघीय प्रहरी इकाई कार्यालय हुँदै इन्टरपोलमा रेड कर्नर नोटिस जारी गरिएको थियो । अपराधी सजाय भुक्तान गर्ने अवस्थाबाट भाग्न नपाओस् भनेर उनलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी गरिएको हो ।

हत्यामा संलग्नताको प्रमाणका लागि काजीमानले विन्दाको हत्या गर्न भन्दै भाइलाई पठाएको म्यासेज, हत्या गर्न जाँदा लाग्ने खर्चका लागि भन्दै पठाएको पैसा र हत्यापश्चात् पठाएको पैसाको हिसाब र भरपाईसमेत प्रहरीले इन्टरपोलमा पठाएको थियो ।

नेपाल प्रहरीको इन्टरपोलअन्तरगत अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखाका प्रमुख एसएसपी प्रदीप श्रेष्ठका अनुसार काजीमानलाई युएईबाट नेपाल ल्याउन करिब ६ महिना मेहनत गर्नुपरेको थियो ।

तथ्य र प्रमाणले पुुष्टि गर्ने आधार दिएपछि अभियोग तथा मिसिलका कागजातहरु अङ्ग्रेजीमा उल्था गरी अदालतबाट प्रमाणित गराएर दुुबई पठाइयो । दुुबई प्रहरी र त्यहाँको इन्टरपोल शाखा काजीमानले अपराध गरेको कुरामा विश्वस्त भएपछि उनलाई पक्राउ गर्ने तयारीमा जुट्यो ।

दुुबई प्रहरीको सीआइडी टोलीले काजीमानलाई कामबाट आवास स्थलमा फर्कंदै गर्दा ३० मार्च २०२१ को साँझ पक्राउ ग¥यो । पक्राउ गरेलगत्तै सोधपुछका क्रममा काजीमानले आफ्नो अपराध कबुल गरेपछि दुुबई प्रहरी काजीमानलाई नेपाल पठाउन तयार भयो ।

अभियुक्तलाई नेपाल फिर्ता ल्याई अदालतमा उपस्थित गराउने उद्देश्यले प्रहरी महानिरीक्षकको सचिवालयअन्तरगतको इन्टरपोल शाखाका कर्मचारीलाई युएई पठाउने गरी गृह मन्त्रालयसँग आवश्यक समन्वय एवं स्वीकृतार्थ पत्राचार गरियो । यद्यपि नेपालले युएईसँग सुपुर्दगी सन्धी नगरेका कारण उनलाई नेपाल ल्याउन केही समस्या भएको प्रहरी अधिकारीहरु बताउँछन् । यद्यपि, कागजी प्रक्रिया मिलाएर इन्टरपोलका डीएसपी निशान्त श्रीवास्तव र प्रहरी सहायक निरीक्षक रञ्जिस उप्रेती दुुबई गएर । र, काजीमानलाई १३ अप्रिल अर्थात् चैत ३१ गते बिहानै नेपाल ल्याइपुर्याए ।

काजीमानको बयान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काजीमानलाई भेट्दा उनका साथमा एउटा सानो प्लाष्टिकको झोला थियो । केही पश्चाताप र अपराधवोध गरेका काजीमानले आफूले गरेको अपराधको सजाय भोग्न तयार भएर नेपाल आएको बताए । उनले अदालतलाई सहयोग गर्ने र सजाय भोग्ने बताए ।

तेह्रथुम जिल्ला हालको आठराई गाउँपालिका–४ तीनसल्लेका काजीमान पुरीले ताप्लेजुङको फुुङलिङ माइती भएकी विन्दा पुरीसँग सन् २००७ मा विवाह गरे । मलेसियामा रोजगारी गरी फर्किएका २७ वर्षीय काजीमानको विवाह तत्कालीन समयमा १८ वर्षकी विन्दा पुरीसँग भएको थियो । मागेरै काजीमानले विन्दासँग आफ्नो लगनगाँठो कसेका थिए ।

सन् २००२ देखि वैदेशिक रोजगारीमा मलेसिया पुुगेका काजीमान सन् २००७ मा नेपाल फर्किए । त्यसपछि उनले विवाह गर्ने सोच बनाए, आफन्तमार्फत् विन्दा पुरीसँग मागी विवाह गरे । त्यसपछि करिब ९ महिना उनी नेपालमै बसे । विन्दाको गर्भमा बच्चा आएको पक्का भएपछि काजीमान पैसा कमाउन भन्दै सन् २००८ मा कतार गए ।

सन्तान लाभको अपेक्षा गरेका काजीमानले बुवा बन्ने अवसर भने पाएनन् । विन्दाले माइतीको सल्लाहमा गर्भपतन गराएको कुरा उनले थाहा पाए । उमेरमा सानै भएको भन्दै गर्भपतन गराएको भनेपछि काजीमानले केही भनेनन् । कतारबाटै आवश्यक खर्च पठाइरहे ।

सन् २०१० मा काजीमान पुनः नेपाल आए । त्यसबेला उनी लामो समय नेपाल बसे । छोरो जन्मियो । छोरो ४ महिनाको भएपछि उनी फेरि पैसा कमाउन भन्दै दुुबई गए । दुुबईमा बस्दै गर्दा पनि उनले लगातार पैसा पठाउने र श्रीमती विन्दासँग कुराकानी गरिरहे ।

तर, सन् २०१४ देखि विन्दाको व्यवहारमा परिवर्तन आउन थालेको काजीमानले महसुस गरे । उनको वयान अनुसार बिन्दा कहिले फोन नै नउठाइदिने, कहिले हराइदिने गर्न थालिन् । फोन उठाए पनि नबोल्ने गर्न थालिन् । गाउँलेले विन्दाका बारेमा विभिन्न कुरा काजीमानसम्म पु¥याउन थाले । विन्दा अरुसँग लागी भनेर कुरा लगाउन थाले ।

काजीमान सन् २०१५ मा नेपाल आए । तीनसल्लेमा रहेको गाउँको घर छाडेर श्रीमतीलाई सुखसयल दिन भन्दै गाउँ नजिकैको डेउडी बजारमा घर किनिदिए । घरमा पसल पनि राखिदिए ।

घरमा सँगै हुँदा पनि विभिन्न पुरुषहरुको फोन र म्यासेज आउन थालेको काजीमानले प्रहरीलाई वयान दिएका छन् । उनले विन्दालाई सम्झाए । विन्दाले पनि अब यस्तो नगर्ने बताइन् । सामाजिक इज्जतका कारण काजीमानले यो कुरा कसैलाई भन्न सकेनन् । उनले हिजो जे भयो भयो, अब त्यस्तो गल्ती नगर भनेर सम्झाए । यो अन्तिम मौका हो भन्दै अब नसुध्रिए किनेको घर पनि बेचिदिने र पसल बन्द गराएर गाउँमै फर्काउने उनले बताए । त्यसपछि करिब डेढ महिना विन्दासँगै बसेर काजीमान दुुबई फर्किए । त्यतिबेला विन्दाको गर्भमा दोस्रो बच्चा थियो ।

आफू दुुबई फर्किएपछि विन्दाले गर्भपतन गराएको र गाउँलेहरुसँग ऋण लिएर खर्च गर्न थालेको काजीमानको वयान छ । केमा खर्च भयो भन्दा पनि केही बताउन नसकेको तर आफूले नियमितरुपमा खर्च भने पठाइरहेको उनको भनाइ छ ।

विन्दाका बारेमा गाउँलेहरुबाट धेरै कुराहरु सुन्न थालेपछि काजीमान सन् २०१८ मा पुनः नेपाल आए । विन्दाको व्यवहार नसुध्रिएको भन्दै उनले पसल बन्द गराइदिए र परिवारलाई बजारबाट गाउँमै लगे । केही समय विन्दासँगै बसे र फेरि पनि सम्झाए ।

अघिल्लोपटक नै अन्तिम मौका भनेका काजीमानले सुध्रनका लागि भन्दै विन्दालाई फेरि एकपटक अन्तिम मौका दिए । केही समय सँगै बसे र गर्भमा बच्चा बसेपछि बिग्रिन्न कि भनेर गर्भ रहेको पक्का गरी जाँच गराएर पतन गरायो भने डिभोर्स गर्ने भन्दै फेरि दुुबई गए ।

त्यसपछि ३÷४ महिना राम्रैसँग कुराकानी भयो । बिन्दाले बच्चा जन्माइन्, जुन छोरो अहिले २७ महिनाको भएको छ । र, उसले आमाको काख गुमाएको छ ।  

कान्छो छोरो जन्मिएपछि केही समय श्रीमान–श्रीमतीको बोलचाल राम्रै भइरहेको थियो । तर, गाउँमै रहेकी एक आफन्तले काजीमानलाई विन्दाको चरित्रका बारेमा नराम्रो कुरा सुनाइन् । परिवारसँग छुट्टिएर बसेका काजीमानलाई बुवा–आमा र भाइहरुले पनि श्रीमतीले इज्जत फाली भन्दै कुरा लगाउन थाले ।

करिब १८ वर्षको जवानी, पसिना र पैसा खर्च गरेका काजीमान श्रीमतीकै कारण आफ्नो बेइज्जत भएको र पैसा पनि सकिएको भन्दै बरु श्रीमतीलाई मारेर ‘शान्ति’ लिने आपराधिक मनस्थितिमा पुुगे । उनले छोराहरुलाई साथमा लिएर बाँकी जीवन बिताउने तर श्रीमतीलाई आफ्नो बाटोबाट हटाउने षड्यन्त्र रचे । त्यसपछि भाइहरुसँग उनले श्रीमतीको हत्याका लागि योजना बनाए र हत्या गर्न लगाए ।

हत्याका लागि पहिले करिब २० हजार रुपैयाँ पठाएका काजीमानले हत्यालगत्तै ५० हजार रुपैयाँ पठाएका थिए ।

भाइहरु पक्राउ परेमा आफू पनि पक्राउ पर्नेमा काजीमान विश्वस्त थिए । नभन्दै भाइहरुले अपराध कबुल गरेलगत्तै काजीमानमाथि पनि अभियोग लाग्यो ।

काजीमानले प्रहरीलाई दिएको वयानअनुसार उनलाई एक मनले नेपाल गएरै सजायँ भोग्छु जस्तो पनि लाग्यो । अर्को मनले नेपाल गएर सजायँ भोग्नुुभन्दा त दुबईमै आत्महत्या गरेर मरुँ जस्तो पनि लाग्यो । उनी आत्महत्या गर्न भनेर २ पटक समुन्द्रमा पनि पुुगे । तर उनलाई छोराहरुको याद आयो । आफंै मरें भने त छोराहरु झनै टुहुरा हुन्छन् जस्तो लाग्यो । त्यसपछि उनी आत्महत्या नगरी डेरामा फर्किए ।

काजीमानले बुबासँग कुरा गरे । उनका बुवा धेरै रोए । उनले नेपाल आएर सजायँ भोग्छु भनेर बताए । लकडाउनका कारण चाँडै नेपाल आउन पाएनन् । यद्यपि कमाएको रकम भने बुवालाई पठाइरहे र छोराहरुका लागि खर्च गरिदिन भने ।

जब अप्रिल १२ मा काठमाडौंबाट इन्टरपोलको प्रहरी दुबई पुुग्यो, त्यसपछि काजीमान राजीखुसीका साथ नेपाल आउन र सजायँ भोग्न तयार भए ।

अहिले काजीमानलाई तेह्रथुम लगिँदैछ । यसलगत्तै कारागारमा पठाइनेछ ।

‘श्रीमतीको हत्या गरेकोमा पश्चाताप लागेको छैन ?’ यो प्रश्नमा काजीमानको जवाफ छ, ‘पश्चाताप लागेको छ । पीडा मभित्र गुम्सिएको थियो, सम्झाउने मान्छे कोही थिएन । आवेशमा गलत निर्णय लिएँ । अब सजाय भोग्छु ।’

विमानस्थलमा प्रहरीसँगै भेटिएका काजीमानले थप भने, ‘देशमै रोजगारी थियो भने म १८ वर्षसम्म विदेश जाने थिइनँ होला, परिवार राम्रो हुन्थ्यो होला । युवा अवस्थामा विदेशमा पसीना बगाउनुपर्दाको पीडा र प्रतिफल हो यो ।’

इन्टरपोलको ज्याकेट लगाएका दुुई प्रहरीले काजीमानलाई अगाडि बढाए । उनको एउटा हातमा हत्कडी थियो, अर्को हातमा त्यही एउटा सेतो प्लाष्टिकको झोला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप