शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना रोकथामका नाममा ५ अर्बभन्दा बढी खर्च

सोमबार, १० जेठ २०७८, २३ : ०६
सोमबार, १० जेठ २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड—१९) रोकथाम तथा नियन्त्रणका लागि ५ अर्ब १७ करोड ७२ लाख ८३ हजार खर्च भएको जनाएको छ । मन्त्रालयले पीसीआर किट, एक्स्ट्राक्सन किट, भाइरल ट्रान्सपोर्ट मिडिया (भिटीएम), एन्टीजेन किट, मास्क, गाउन र सर्जिकल पन्जाहरू, अक्सिजन प्रणाली सुदृढीकरण, आईसीयु, तथा अन्य औषधि उपकरणको व्यवस्थापनमा उक्त रकम खर्च गरेको जनाइएको छ । यस्तै, स्वास्थ्यकर्मीको जोखिम भत्ता, निःशुल्क परीक्षण तथा उपचार, खोप खरिद तथा अभियान सञ्चालन लगायत कोभिड—१९ रोकथाम तथा नियन्त्रणका गतिविधिमा पनि उक्त रकम खर्चिएको मन्त्रालयको भनाइ छ ।

कोभिड—१९ को द्रुत कार्ययोजनाका आधारमा खोप लगायत निदान, उपचार, व्यवस्थापनका लागि १४ अर्ब श्रोत सुनिश्चित गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए ।

खोप कार्यक्रम र ‘हाइ डिपेन्डन्सी युनिट’ (एचडीयू)का लागि २ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको उनको भनाइ छ ।

स्वास्थ्य संकटकालको संकेत

स्वास्थ्य मन्त्री त्रिपाठीले मुलुकमा स्वास्थ्य संकटकाल लाग्न सक्ने संकेत गरेका छन् । कोरोना महामारीको दोस्रो लहर अझै एक महिनासम्म तीव्र गतिमा फैलिन सक्ने भएकाले रोकथामका लागि स्वास्थ्य संकटकालको विषयमा छलफल भइरहेको उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

देशमा राजनीतिक हलचल भए पनि स्वास्थ्य मन्त्रालय कोरोना महामारीको युद्धमा निरन्तर लडिरहेको मन्त्री त्रिपाठीको भनाए छ । कोरोनाविरुद्धको खोप खरिदका विषयमा अमेरिका, बेलायत, चीन, रुस लगायतका देशसँग सकारात्मक छलफल भइरहेको उनले जानकारी दिए । खोप खरिदका लागि राजनीतिक, कुटनीतिक व्यक्तिगत तवरबाट निरन्तर पहल भइरहेको उनको भनाइ छ ।

कोभिशिल्ड खोप पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा लगाउन पाउने संकेत पनि उनले गरे । कोरोनाविरुद्धको खोप खरिदका लागि भएको छलफल केही देशहरुसँग अन्तिम चरणको पुगेको उनको दावी थियो । यस्तै युरोपेली संघसँग मौज्दातमा रहेको खोप ल्याउने विषयमा छलफल भइरहेको उनले बताए ।

जनस्वास्थ्यविद्हरुको सुझावका आधारमा नै स्वास्थ्य मन्त्रालय अगाडि बढ्ने मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए ।    

आगामी ४ हप्तामा संक्रमण घट्न थाल्ने

विगत एक हप्ताको तथ्याङ्क हेर्दा दैनिक औसत ८ हजार ३ सय नयाँ संक्रमित थपिँदै गएका छन् । आवतजावतमा प्रभावकारी रुपमा नियन्त्रण नहुँदा र केही सेवा कार्यहरु निरन्तर सुचारु भइरहेकाले संक्रमण दर अपेक्षाकृत रुपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्य सचिव अर्याल बताउँछन् ।

कोरोना संक्रमण आगामी ४ हप्तामा क्रमशः घट्दै जान सक्ने उनले बताए । उनका अनुसार, नेपालमा हाल तीनवटा नयाँ भेरियन्टमध्ये भारतमा पहिलो पटक पत्ता लागेको बी १.६१७.२ भेरियन्ट मुख्य रूपमा फैलिएको छ । देशमा सक्रिय संक्रमित १ लाख १५ हजार ५४७ रहेकोमा १ लाख ८ हजार १९८ जना अस्पतालमा र ७ हजार ३५० संस्थागत आइसोलेसनमा छन् ।

अस्पतालको सघन उपचार कक्ष आइसियुमा १ हजार ७२१ र  भेन्टिलेटरमा ४८४ जना उपचाररत छन् ।   

समुदायमा एन्टिजेन परीक्षण

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण नियन्त्रणका लागि सातै प्रदेशमा एन्टिजेन परीक्षण अगाडि बढाउने भएको छ । स्थानीय तहहरूसँग समवन्य गरेर समुदायमा एन्टिजेनमा आधारित परीक्षण गर्न सुरु गरिएको स्वास्थ्य मन्त्री त्रिपाठीले बताए ।

प्रदेश १ मा १ लाख ७५ हजार, प्रदेश २ मा २ लाख, बागमतीमा ३ लाख, गण्डकी प्रदेशमा १ लाख ५० हजार, लुम्बिनीमा २ लाख, कर्णालीमा १ लाख ५० हजार र सुदूरपश्चिममा १ लाख ७५ हजार थप एन्टिजेन पठाएको मन्त्रालयले जनाएको छ ।

कोभिड—१९ का भेरियन्टहरुको अनुगमन गर्नका लागि नियमितरुपमा जिन सिक्‍वेन्सिङ गर्नुका साथै प्रमाणीकरणका लागि विदेशस्थित प्रयोगशालाहरूसँग सहकार्य भइरहेको मन्त्री त्रिपाठीको भनाइ छ ।

देशभरका सरकारी तथा निजी गरी १५७ अस्पतालमा कोभिड—१९ का बिरामीको उपचार हुँदै आएको छ । यी अस्पतालमा निःशुल्क उपचार हुने गर्छ । स्वास्थ्य मन्त्रालयले ०७८ वैशाखमा मात्र उपचारका लागि ४५  करोड सोधभर्ना गरेको जनाएको छ ।

स्वास्थ्य पूर्वाधारको अवस्थामा सुधार

दोस्रो लहर फैलिएपछि बिरामीको चाप बढ्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य पूर्वाधारमा पनि सुधार गरिएको मन्त्रालयले जनाएको छ । ३२७ वटा भेन्टिलेटरबाट थप गरेर ९०४ पुर्याएको साथै १८० भेन्टिलेटर थप्ने प्रक्रिया सुरु गरिएको मन्त्रालयको भनाइ छ । यस्तै, इन्टेन्सिभ केयर युनिट अर्थात् आइसियु बेड संख्या २ हजार ६०० बाट ३ हजार पु¥याइएको छ भने ६३० बेड थप गर्ने प्रक्रिया अगाडि बढाइसकेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

हाइ डिपेन्डेन्सी युनिट बेड संख्या सरकारी अस्पतालमा २ हजार ७५ र निजीमा ७७८ थप गरी सञ्चालनमा ल्याइएको पनि मन्त्रालयले जनाएको छ । निकट भविष्यमै एक हजार ४०० बेड थप गर्ने लक्ष्यसहित प्रक्रिया अगाडि बढाइएको मन्त्रालयको भनाइ छ ।

हाल ३२ वटा अक्सिजन प्लान्ट सञ्चालनमा रहेकोमा १९ वटा थप गर्ने चरणमा रहेको मन्त्री त्रिपाठीले बताए । लिक्विड अक्सिजन ट्याङ्क २४ वटा थप्न लागेको उनले बताए । यस महामारीको समयमा ९०० अक्सिजन कन्सन्ट्रेटर थप गरिएको छ । यस्तै अक्सिजन सिलिन्डर संख्या यस अवधिमा ५ हजार थप गरिएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप