शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरो झरेर १८ घण्टा देखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

मङ्गलबार, ०१ असार २०७८, २० : ०३
मङ्गलबार, ०१ असार २०७८

पहिरोले अवरुद्ध भएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग र कालीगण्डकी करिडोर अझै पनि खुल्न सकेको छैन । गए राति २ः०० बजे पहिरो झरेर रोकिएको लोकमार्गमा आज पनि थप पहिरो झरेको छ । पर्वतको कुश्मा नगरपालिका–१, सहस्रधारामा ठूलो पहिरो झरेर रोकिएको सडक १८ घण्टासम्म पनि खुलाउन सकिएको छैन । दिनभरी निरन्तर वर्षा भैरहेको र पहिरो झर्ने क्रम नरोकिँदा खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्ग पहिरोले रोकिएपछि वैकल्पिक सडक प्रयोग गर्न थालिएको छ । 

सहस्रधारामा सडक बन्द भएपछि पाङ हुँदै खुर्कोट निस्किएर आवातजावत हुन थालेका छन् । दिनभरी वर्षा जारी रहेकोले कालीगण्डकी करिडोरमा पनि निरन्तर पहिरो खसिरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वराज अधिकारीका अनुसार कालीगण्डकी करिडोरमा पर्ने केरावारी, लामाखेत, ज्यामिरे र फर्सेमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । प्रहरीले दिउँसो खुलाएको सडक फेरि पहिरो झरेर सडक अवरुद्ध भएको अधिकारीले जानकारी दिए ।
जिल्लाका मुख्य सडकसँगै अधिकांश ग्रामीण सडक पनि अवरुद्ध छन् । हुवास–वालिङ सडक, फलेवास– रानीपानी सडक, लमाय– लुँखु सडक, पातीचौर– देउराली सडक पनि पहिरोले रोकिएका छन् । जलजला गाउँपालिकाका अधिकाँश सडक अवरुद्ध भएका छन् । 

सडक बन्द हुँदा एम्बुलेन्स, खाद्यन्न ढुवानी गर्ने सवारी, निर्माण सामग्री बोकेका ट्रक बाटोमा रोकिएका छन् । पहिरोका कारण भत्किएका र अवरुद्ध भएका सडकहरू खुलाउन वर्षाका कारण समस्या भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । 

उनले सडकसँगै बस्तीमा पनि पहिरो आउने खतरा रहेकाले सतर्क रहन अनुरोध गरिएको बताइन् । निरन्तरको वर्षाका कारण भिरालो स्थानमा रहेका बस्तीहरुमा पहिरो आउने खतरा रहेकाले सचेत रहन प्रशासनले सूचित गरेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप