शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मौलापुर नगरपालिकाको नगर सभा बैठक चलिरहँदा झडप, पूर्वमन्त्री प्रभु साहको उपस्थितिलाई लिएर विवाद

बिहीबार, १० असार २०७८, १५ : ४५
बिहीबार, १० असार २०७८

रौतहट । रौतहटको मौलापुर नगरपालिकाको १० औं नगरसभाका क्रममा विवाद बढेर झडप भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्रसहितका दलहरुले नगरसभा बिथोल्न खोजेपछि झडप भएको हो । नगरसभामा पूर्वमन्त्री प्रभु साहलाई प्रमुख आतिथ्यता ग्रहण गराएपछि विवाद थप चर्किएको हो ।

नगर प्रमुख रिना कुमारी साह पूर्वमन्त्री साहकी पत्नी हुन् । विपक्षी दलहरुले यसअघि नगरपालिकामा अनियमितता भएको आरोप लगाउँदै आएका थिए । नगरसभामा पूर्वमन्त्री साहलाई निम्त्याइएपछि विवादले थप राजनीतिक रङ लिएको हो ।

जसपाका स्थानीय नेता धिरज पटेलले नगरपालिकाभित्र अनियमितता भएको र पूर्वमन्त्री साहसमेतले नगरपालिकामा अनावश्यक राजनीतिक हस्तक्षेप गर्न थालेपछि आफूहरु विरोधमा उत्रिएको बताए ।

दुई पक्षबीच झडपमा केही घाइतेसमेत भएका छन् । झडपलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दुई दर्जनभन्दा बढी राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।

मौलापुर– ६ का वडाध्यक्ष उपेन्द्रप्रसाद जयसवालले विधि र पद्धतिलाई मिचेर अपारदर्शी तरिकाले नगरसभा गर्न खोजेपछि आफूहरु विरोधमा उत्रिएको बताए ।

तर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले नगरसभाको मिति निर्धारण गर्नु अघिनै चालु आर्थिक वर्षको सम्पूर्ण हिसाब सार्वजनिक गरिसकेको दावी गरे । नगरपालिकाको कुनै पनि हिसाब माग गर्दै लिखित रूपमा निवेदन आएमा आफूहरु सहजरूपमा हिसाब देखाउन तयार रहेको उनको भनाइ छ ।

मेयर रिना कुमारी साहले मौलापुर नगरपालिका प्रदेश २ मै विकासको गतिमा सबैभन्दा अगाडि रहेको दाबी गरिन् । उनले विकास विरोधीहरुले विभिन्न बहानामा निहुँ खोज्ने काम गरेको आरोप लगाइन् ।

विरोध प्रदर्शनकै बीच नगरसभा बैठक चलिरहेको छ । नगरसभा चलिरहँदा बाहिर ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप