शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पथरी शनिश्चरे नगरपालिकाद्वारा ३ पत्रकार पुरस्कृत

शुक्रबार, ११ असार २०७८, १८ : १३
शुक्रबार, ११ असार २०७८

पथरी शनिश्चरे नगरपालिकाले स्थानीय तीन सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ । नगरपालिकाले पथरी शनिश्चरेमा रही निरन्तर पत्रकारितामा सक्रिय अर्जुन जम्नेली राई र कुमार खड्कालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । सोही कार्यक्रममा  मिडिया हाउस कुरकुरे डटकम साप्ताहिक सञ्चालक मोहन भट्टराईलाई पनि पुरस्कृत गरिएको छ । 

पथरी शनिश्चरे नगरपालिकाले बार्षिक रुपमा अग्रज पत्रकार सम्मान तथा एक जनालाई उत्कृष्ट पत्रकार र सञ्चारमाध्यमलाई पुरस्कार प्रदान गर्दै आएको छ ।  नगरपालिकाले यो बर्ष पत्रकार राईलाई अग्रज पत्रकार सम्मान–२०७८’, उत्कृष्ट पत्रकारको रुपमा कुमार खड्का र संस्थाको रुपमा कुरकुरे डटकम साप्ताहिक सञ्चालक मोहन भट्टराईलाई पुरस्कृत गरेको हो ।  

नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना बिष्ट र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले संयुक्त रुपमा पत्रकार राईकै मुहारभित्र (मुहारको पेन्टिङ नक्सा), सम्मानपत्र र दोसल्ला ओढाएर नगरको अग्रज पत्रकार सम्मान दिएको हो । 

सम्मानित राई २०५८ सालबाट पथरीबाट प्रकाशित मोफसल साप्ताहिक पत्रिकाबाट पत्रकारिता सुरु गरेका हुन । पथरीशनिश्चरे नगरपालिकाले संस्थाको तर्फबाट पुरस्कृत कुरकुरे डटकम साप्ताहिक सञ्चालक मोहन भट्टराई र प्राइम टेलिभिजनका मोरङ समाचारदाता कुमार खड्कालाई क्रमश: २५ र १५ हजार नगद तथा कदर पत्रले पुरस्कृत गरेको हो । कुरकुरे डटकम साप्ताहिक विगत नौ वर्षदेखि निरन्तर रुपमा प्रकाशन हुँदै आएको पत्रिका हो भने कुमार खड्का उदीयमान युवा पत्रकार हुन ।  

अग्रज पत्रकार सम्मान भने यसै वर्षदेखि नगदसहित प्रदान गर्न थालिएको हो । पथरी शनिश्चरे नगरपालिकाले सञ्चार क्षेत्रको विकासको लागि २०७५ सालमा सूचना तथा सञ्चार कार्यविधि ल्याएर पत्रकारलाई सम्मान, पुरस्कार र नगरमा स्थापित मिडिया हाउसहरुलाई वार्षिक रुपमा प्रोत्साहन स्वरुप रकम प्रदान गर्दै आएको हो । 

नगरपालिकाले पथरी शनिश्चरे नगरलाई मुख्य कार्यक्षेत्र बनाएर काम गर्दै आएका नेपाल पत्रकार महासंघको सदस्यहरुलाई बार्षिक रुपमा लेखन वृति फेलोसिप प्रदान गर्दै आएको छ । यो बर्ष ब्लाष्ट टाइम्स दैनिकको पथरी समाचार दाता दिनेश सुब्बा, सिम्रिक एफएमकी एलिना दियाली, सम्मानित राई र पुरस्कृत खड्कालाई लेखनवृत्ति दिएको नगरपालिकाको सूचना तथा सञ्चार प्रमुख भूपेन्द्र तिम्सिनाले बताए । 

एफएम रेडियोलाई ४२, साप्ताहिक पत्रिकालाई ३६ र अनलाइनलाई ३० हजारको दरको बार्षिक रुपमा रकम उपलब्ध गर्दै आएको नगरपालिकाको सूचना तथा सञ्चार प्रमुख तिम्सिनाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप