शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल एयरलाइन्सले पायो सातामा ६ अन्तर्राष्ट्रिय उडान भर्ने स्वीकृति, अन्य कम्पनीले कति ?

बुधबार, १६ असार २०७८, १८ : ३१
बुधबार, १६ असार २०७८

नेपाल एयरलाइन्सले सातामा ६ अन्तर्राष्ट्रिय उडान भर्न पाउने गरी ६ गन्तव्यको स्वीकृति पाएको छ । जुलाई महिनाका लागि अन्तर्राष्ट्रिय उडानका लागि नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणसँग अनुमति माग गरेकोमा एयरलाइन्सले उक्त स्वीकृति पाएको हो । 

योसँगै निगमका जहाजले जुलाई महिनामा हप्ताको ६ वटा उडान मार्फत नियमित अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्नेछ । प्राधिकरणको स्वीकृतिअनुसार नेपाल एयरलाइन्सले आइतबार र मंगलबार कतारको दोहा उडान भर्नेछ भने बुधबार दोहा र दिल्ली दुईवटा उडान एकैदिन भर्नेछ । 

यस्तै, शुक्रबार जापानको नारिता उडान भर्ने एकिन भएको नेपाल एयरलाइन्सले शनिबार भने मलेसियाको क्वालालम्पुर उडान भर्ने अनुमति पाएको छ ।  अन्य फ्लाइटहरुले कुन–कुन बार पाए उडान अनुमति ? सातामा २१ अन्तर्राष्ट्रिय उडान भर्ने गरी ९ वटा उडान (फ्लाइट) कम्पनीहरुलाई प्राधिकरणले दिएको स्वीकृति अनुसार भारत, चीन, जापान, कोरिया, मलेसिया, टर्की, कतार, यूएई, साउदी अरेबिया, कुवेत र ओमान गरी ११ गन्तव्य तोकिएका छन् । 

जसमध्ये सातामा ६ उडान स्वीकृति नेपाल एयरलाइन्सले पाएकोमा  अर्को नेपाली कम्पनी हिमालयन एयरलाइन्सले ४ वटा, कतार एयरवेज, जजीरा एयरवेज र टर्कीश एयरलायन्सले सातामा २–२ उडान भर्ने अनुमति पाएका छन् ।  यस्तै, एयर अरेबिया, मालिन्दो एयर, एयर इण्डिया, फ्लाइ दुबई र सलाम एयरले हप्तामा १–१ उडान भर्नेछन् ।

नयाँ तालिकाअनुसार आइतबार एउटा मात्रै उडान हुने छ भने सोमबार, मंगलबार, बुधबार र बिहीबार ३–३ वटा र शुक्रबार र शनिबार ४–४ वटा उडान हुनेछन् ।  अन्तर्राष्ट्रिय उडानका लागि हवाई कम्पनीहरूबाट जुलाई महिनाका लागि माग भए बमोजिम प्राधिकरणले यस्तो तालिका सार्वजनिक गरेको हो । अनुमति दिएका मुलुकमा नेपाल र सम्बन्धित मुलुकका वायुसेवा कम्पनीले बराबर संख्यामा उडान अनुमति पाएका छन् भने कोरिया र चीनबाट भने अझै वायुसेवा कम्पनीले उडानको अनुमति मागेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप