शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यपश्चिम विश्वविद्यालयका सबै मौका परीक्षा स्थगित

शुक्रबार, ०८ साउन २०७८, २२ : ५६
शुक्रबार, ०८ साउन २०७८

शुक्रबारबाट सञ्चालन हुने भनिएका मध्यपश्चिम विश्वविद्यालयका विभिन्न संकायका परीक्षा स्थगित गरिएका छन् । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि परीक्षा स्थगित गरिएको हो ।
विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले एक सूचना जारी गर्दै मौका परीक्षाका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ । 

परीक्षा व्यवस्थापन प्रमुख डा.आनन्दप्रसाद सुवेदीले  मानविकी र सामाजिकशास्त्र संकाय व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय र शिक्षाशास्त्र संकाय अन्तर्गतका स्नातक तह आठौँ सेमेष्टरको मौका परीक्षा शुक्रबारदेखि प्रारम्भ हुनुपर्नेमा  विशेष प्रतिकूल परिस्थितिका कारण सञ्चालन हुन नसकेको बताए । 

साथै मौका परीक्षाका आगामी कार्यक्रम समेत स्थगित गरिएको उनले बताए । शुक्रबार दिउँसो १२ बजेदेखि परीक्षा सञ्चालन गर्ने तयारी थियो । तर, परीक्षा सञ्चालन गर्ने समय अगावै विद्यार्थीहरुले विश्वविद्यालय परिसरमा आन्दोलन गरेपछि परीक्षा सञ्चालन हुन सकेन । संयुक्त विद्यार्थी संगठनले गत आइतबारदेखि विभिन्न १८ बुँदे माग राख्दै आन्दोलन गरिरहेका छन् । बिहीबार विद्यार्थीहरुले विश्वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी समेत गरेका थिए । 

गत आइतबार विश्वविद्यालयसमक्ष आफुहरुले राखेका मागहरुप्रति ध्यान नदिइएको भन्दै  विश्वविद्यालयको केन्द्रीय क्याम्पस, परीक्षा व्यवस्थापन कार्यालयलगायत सम्पूर्ण संकायको क्याम्पसहरुमा अनिश्चितकालका लागि बिहीबार तालाबन्दी गरिएको थियो । 

अनेरास्ववियुका (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा प्रदेश सह–संयोजक तिर्सना हमालले विश्वविद्यालय अझै पनि वार्तामा आएर विद्यार्थीको समस्या समाधान गर्न नसकेको बताइन्  । ‘वार्तामा किन आउन सकिरहेको छैन् ? जबसम्म हामीले उठाएका माग सम्बोधन हुँदैनन् तबसम्म निरन्तर आन्दोलनमै रहने छौँ’उनले भनिन् । 

साथै हमालले शुक्रबार विद्यार्थीहरुले परीक्षा दिन नपाएकोप्रति स्वयम् विश्वविद्यालय जिम्मेवारी रहने स्पष्ट पारिन् । अनेरास्ववियु क्रान्तिकारीकी नेतृ ममता अधिकारीले  विद्यार्थीका सम्पूर्ण मागहरु उचित ढंगले सम्बोधन हुन नसके विश्वविद्यालयमा लगाइएको तालाबन्दी खुल्न नदिने बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप