शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कथा : अठोट

शनिबार, २३ साउन २०७८, १६ : १७
शनिबार, २३ साउन २०७८

रेखा जग्गासम्बन्धी कामको सिलसिलामा जिल्ला अदालतमा गएकी थिइन् । आफ्नो वकिल ठीक समयमा नआइपुगेका कारण समय बिताउन गाह्रो भएकाले अदालतमा यताउता डुल्दै थिइन् । अचानक रेखाको नजर कैदी कक्षमा पुग्यो । त्यहाँ हातमा हत्कडी लगाएर राखिएका धेरै कैदीहरू थिए । तर रेखाको नजर एक अधबैँसे महिलामा गएर टक्क रोकियो । झ्यालनिर दुब्ली, काली झट्ट हेर्दा रोगी जस्ती देखिने महिला मैलो धोतीको सप्कोले आँसु पुछ्दै सुँक्कसुँक्क रुँदै थिइन् । कोठाभित्र जाने अनुमति थिएन । त्यसैले रेखा त्यही झ्याल छेउमा गएर महिलालाई बोलाइन् ।

‘दिदी हजुरको नाम के हो ? महिलाले भनिन्, सुन्तली । यहाँ कुन गल्ती अपराध गरेर आउनुभएको अथवा ल्याइएको हो नि ?’ सुन्तली दिदी रेखाले बडो प्रेम पूर्वक सोधिन् । सुन्तलीले मुख घोप्टो पारेर भुइँमा हेर्दै जवाफ दिइन् ‘मैले चोरी गरेकी थिए बहिनी ।’ 

‘ओहो चोरी ? के चोरी गर्नुभएको थियो ?’ रेखाले आश्चर्यजनक शैलीमा सोधिन् । ‘अन्नको बोरा चोरेको थिएँ’ सुन्तलीले छोटो जवाफ फर्काइन् । रेखाको जिज्ञासा झन् बढ्दै गयो । ‘दिदी कति अन्न थियो त्यो बोरामा ?’ रेखाले सोधिन् ।
‘दस किलो जति चामल र चार किलो जति पिठो थियो ।’ सुन्तलीले सुँक्क सिँगान पुछ्दै भनिन् । दिनभरि काम गरेको भए पनि त्यति अन्न किन्ने पैसा कमाउन सक्थ्यौ, फेरि चोरी किन गरेऊ ? चोर्नु नराम्रो आदत हो दिदी । त्यति अन्न चोरी गर्दा हत्कडी लगाएर अदालत आउनुपर्याे । चोरी गर्नुको कारण के थियो दिदी ?’ रेखाले सोधिन् ।

सुन्तलीले सुँक्क सुँक्क गर्दै भनिन् ‘म केही दिनदेखि बिरामी थिएँ । काम गर्न नसक्ने गरी थला परेकी थिएँ । घरमा ससाना छोराछोरी छन्, खानका लागि अन्नको एक दानासम्म थिएन । छोराछोरीको पेट भर्न म बल्लबल्ल उठेर भीक माग्न मन्दिरको छेउमा बसेकी थिएँ तर मन्दिरमा पूजा गर्न आउने जतिले सिसाभरि दूध, फलफूल ल्याएर मूर्तिमाथि चडाए । मलाई कसैले हेर्दा पनि हेरेनन् । एक पैसा कसैले दिएनन् । मूर्तिमाथि बगाएको दूध अबिरमा मिसिएर रातो खोलाझैँ बगिरहेको थियो । म भोकले मर्नै लागेकी थिएँ । मन्दिरको नजिकै पसल रहेछ । एक जना व्यक्तिले त्यही अन्नको बोरा किनेर ल्यायो र मन्दिरको गेटमा राख्यो । ऊ भित्र दर्शन गर्न गयो । अलिपर एक बालक चिच्याई चिच्याई रोएको देखेँ । अनि मैले घर छोडेर आएका साना साना छोराछोरी सम्झेँ । उनीहरू पनि भोकले यसरी नै रोएका होलान् भन्ने लाग्यो । पापी पेटका लागि मैले दायाँ बायाँ, सही गलत केही सोचिनँ । मेरा आँखा अगाडि छोराछोरीको आकृति थियो । त्यही अन्नको बोरा समातेर घरतर्फ जाँदै थिएँ । पुलिसले समात्यो र मलाई नजिकको चौकीमा लग्यो ।’

सुन्तलीको कुरा सुनेर रेखाको आँखा रसाए । लामो स्वास फेरिन् र भनिन्– अनि हजुरको श्रीमान् कहाँ हुनुहुन्छ ? चौकीमा छोराछोरी लिएर छुटाउन आउनु भएन ? श्रीमान् बितिसक्नुभयो । उहाँ साहुको घरमा काम गर्नुहुन्थ्यो । एक दिन खेतमा पानी लगाउन जाँदा सर्पले टोक्यो । उपचार गर्ने पैसा थिएन । साहुसँग माग्दा अब तँ मरिस भने मेरो ऋण कसले तिर्छ । तेरी स्वास्नी रोगी छ भनेर एक पैसा दिएनन् । गाउँमा गुहार मागियो । कसैले सहयोग गरेनन् । अनि बित्नुभयो  । छोराछोरी चौकीमा आएर सबै कुरा भनेका थिए । हामी गरिबको कुरा कसले सुन्थ्यो र बहिनी छोराछोरीको भोक मेटाउँछु भनेर चोरी गर्दा मलाई एक सालको सजाय तोकियो बहिनी भन्दै सुन्तली जोडले रुन थालिन् ।

सुन्तलीलाई सान्त्वना दिनका लागि रेखासँग कुनै शब्द थिएन । नरुनुस् दिदी आफूलाई सम्हाल्नुस् भनेर रेखा अदालतको बाहिर निस्किन् र बगैँचाको कुर्सीमा थचक्क बसिन् ।  सुन्तलीको कथा सुनेर मनभरि अनेक प्रश्न खडा भए । देशको दरिद्रता र यिनी निरीह गरिबहरूको दुःख कस्ट हटाउने कुनै उपाय छैन ? एकै देशका जनता हामी सबैको खाने लगाउने समान अधिकार त हुनुपर्ने नियम कानुन सबैलाई बराबर हुनुपर्ने तर त्यस्तो छैन भ्रष्टाचार गरेर रातारात अर्बपति हुने, चोरी तस्करी गर्ने, कलिला मुना छोरी चेलीको बलात्कार गर्ने जस्ता पापी यही समाजमा सम्मानित भएर हिँडेका छन् । भोको पेटका लागि अन्न चोरी गर्दा सुन्तली जस्तालाई जेलको सजाय भएको छ ।

ससाना छोराछोरीलाई एक्लै अलपत्र पारिदिएको छ । नेपालको अन्धो कानुनले जो गरिब, असक्षम छ उसैलाई कानुन लाग्छ । हुनेखाने, सम्पन्नशालीका लागि अलग नीति नियम र सिद्धान्त छ । धिक्कार छ नेपालको कानुन । जुन सरकार आए पनि दुःखी गरिब मजदुरको अवस्था फेरिएन । राज्यले गरिबी निवारण गर्न सकेन । उसैमाथि विश्वव्यापी रूपमा फैलिएको कोरोनाको सबभन्दा बढी असर गरिबलाई नै परेको छ ।

कहिले आउने रैछ र गरिबका दिन ? सोच्दासोच्दै रेखा अर्कै दुनियाँमा पुगेकी थिइन्, जहाँ विभेदरहित सभ्य समाज हुन्छ, सरकार हुँदैन, नेता हुदैनन् । सबै जनताले रोजगार पाउँछन् ।  सबै जनताको, सबै कुराको बिमाको व्यवस्था गरिएको   हुन्छ । बेरोजगारीलाई बेरोजगार भत्ता उपलब्ध गराइएको हुन्छ । रोगीलाई निःशुल्क उपचार गरिन्छ । जति पनि राज्यको स्रोत साधन छन्, सबै समान हुन्छन् । त्यो दुनियाँको कल्पनामा डुबिरहेकी थिइन् रेखा । अचानक पछाडिबाट कसैले आवाज दिँदा झस्किन् । ‘रेखाजी हजुर यहाँ पो बस्नुभएको रैछ, कति पटक फोन गरेँ, उठाउनु भएन । अब फर्कन्छु भनेर हिँड्दै थिएँ, हजुरलाई देखेर देखेँ ।’ रेखाका वकिलले भने ।

ओ हो पदमजी माफ गर्नु होला । मैले फोनको बजेको सुनिनँ । ल जाऊँ जग्गाको मञ्जुरीनामा सम्बन्धी काम सकौँ भन्दै दुवै जना अदालतभित्र पसे ।  केही समयमा सबै काम सकियो । वकिललाई फिस बुझाएर धन्यवाद दिँदै बिदा मागिन् । अदालतबाट फर्किनुअघि सुन्तलीलाई भेटिन् ।

उनका अबोध छोराछोरीको हेरचाह गर्ने वचन दिएर घर फर्किन्  । सुन्तलीले खुसीका आँसु पुछ्दै सन्तोषको सास फेरिन् । रेखा भने सुन्तलीका आँखाबाट खुसीका आँसु बर्सिँदा  केहीबेर अघि आफूले देखेको साम्यवादी व्यवस्थाको सपना सम्झेर एक्लै मुसुक्क हाँसिन् । यी जिउँदै मरेका नेताले के ल्याउँथे र बरै   साम्यवादी  व्यवस्था । दुःखी गरिब, निमुखा जनताको खुन पसिना चुस्न पल्केका नामर्दहरू यस्तै केके भटभटाउँदै मूल गेटबाट बाहिर निस्किन्  ।  बाटोभरि मनमा अनेक तर्कबितर्क खेलाउँदै घर पुगिन् ।  रेखाले अब सुन्तलीका मात्र होइन, सुन्तली जस्तै हजारौँ लाखौँ आमाका सन्तानलाई आश्रय दिन, पालन पोषण गर्न र शिक्षादीक्षा दिनका लागि बाल आश्रम खोल्ने र आश्रमको नाम ह्याप्पी होम राख्ने अठोट गरिन् । ।

गैँडाकोट, नवलपुर
हाल : खजुरा बाँके 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना पौडेल ‘जिज्ञासु’
कल्पना पौडेल ‘जिज्ञासु’
लेखकबाट थप