बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

घरेलु हिंसामा प्रदेश २ कहालीलाग्दो, काठमाडौँ दोस्रो

मोहना अन्सारी भन्छिन्, ‘घटना बाहिर आउनु सकारात्मक’
सोमबार, ३२ साउन २०७८, ०७ : ४१
सोमबार, ३२ साउन २०७८

नेपाल प्रहरीको केन्द्रीय तथ्याङ्क हेर्ने हो भने अहिले पनि नेपालमा वार्षिक १४ हजारभन्दा बढी घरेलु हिंसाका घटनाहरू भइरहेका छन् । देशभर करिब १४ हजार घरेलु हिंसाका घटना हुँदा प्रदेश २ मा कहालीलाग्दो अवस्था छ ।

आर्थिक वर्ष २०७७–७८ मा देशभर कुल १४ हजार २३२ घरेलु हिंसाका घटना प्रहरीसमक्ष पुगेका छ । यीमध्ये झण्डै २५ प्रतिशत घरेलु हिंसाका घटना भने प्रदेश २ मा मात्रै भएका छन् । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७७–७८ मा प्रदेश नम्बर २ मा ३ हजार ५५६ वटा घरेलु हिंसाका घटना भएका छन् ।  

घरेलु हिंसाको तथ्याङ्क हेर्दा प्रदेश नम्बर २ पछि काठमाडौँ उपत्यका सबैभन्दा बढी घरेलु हिंसा हुने क्षेत्र देखिएको छ । करिब ४५ लाख जनसङ्ख्याको बसोबास हुने काठमाडौँ उपत्यकामा गत आर्थिक वर्षमा २ हजार ७४५ वटा घरेलु हिंसाका उजुरी र घटना भएका छन् ।

घरेलु हिंसाको हिसाबले हेर्दा प्रदेश नम्बर १ मा १ हजार २८०, प्रदेश नम्बर २ मा ३ हजार ५५६, बागमती प्रदेशमा १ हजार १२६, गण्डकी प्रदेशमा १ हजार १९६, लुम्बिनी प्रदेशमा २ हजार ३१८, कर्णाली प्रदेशमा ८७२ र सुदूरपश्चिम प्रदेशमा १ हजार १३९ वटा घटना भएका छन् ।

देशैभरका मानिसहरू आएर बसोबास गर्ने भएकाले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लालाई छुट्याएर बागमती प्रदेशमा अन्य जिल्ला समेटेको प्रहरीले बताएको छ ।

​आदर्श समाजमा घरेलु हिंसा हुँदैन भन्ने मान्यता राखिन्छ । तर, शिक्षा, स्वास्थ्य, रोजगारी आदिका दृष्टिकोणले काठमाडौँ उपत्यका सबल भए पनि काठमाडौँ उपत्यकामा पनि घरेलु हिंसाका घटनाहरू वार्षिकरुपमा बढिरहेका छन् ।

घरेलु हिंसाका दृष्टिकोणले प्रदेश नम्बर २ अगाडि हुनुको कारण प्रदेश नम्बर २ मा चेतनाको स्तर कम हुने र अन्य सामाजिक तथा आर्थिक कारणहरू रहेको महिला अधिकार तथा मानव अधिकारकर्मी मोहना अन्सारीको भनाइ छ ।

अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर २ मा घरेलु हिंसाको घटना बढी भएको तथ्याङ्क देखिएपछि यसको कारण के हुनसक्छ भनी राष्ट्रिय मानव अधिकार आयोगको पूर्व सदस्य मोहना अन्सारीलाई सोधेका थियौँ ।

अन्सारीको भनाइको सार सङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ ।

मचाहिँ यसलाई सकारात्मकरुपमै लिन्छु

तपाईँले प्रदेश नम्बर २ मा घरेलु हिंसाका घटना बढी देखिएको तथ्याङ्कबारे जानकारी दिनुभयो । तर, मचाहिँ यसलाई सकारात्मकरुपमै लिन्छु । सकारात्मक रूपमा यस कारणले कि यस्ता घटनाबारे प्रहरीमा जानकारी र उजुरी आउन थाल्यो ।

जब प्रहरीमा सूचना र उजुरी आउन थाल्छन्, हिंसा न्यूनीकरणका लागि यसले सहयोग पुराउँछ । त्यस कारण यो सकारात्मक कुरा हो । मुख्य विषय के हो भने प्रहरीकोमा उजुरी आएपछि प्रहरीले सम्बोधन गर्‍यो कि गरेन वा कसरी सम्बोधन गर्‍यो भन्ने कुरा हो ।

प्रदेश नम्बर २ मा घरेलु हिंसाको घटना वृद्धि भयो भनेर भयभित हुनुपर्ने कारण छैन । जब घटना प्रहरीको जानकारीमा आउँछ, त्यसले समस्या समाधानका लागि पनि सहयोग पुराउँछ । घटनाबारे प्रहरीमा जानकारी आउनु भनेको त्यहाँ रहेका महिला र अन्य मानिसको चेतनामा वृद्धि हुनु पनि हो । त्यस क्षेत्रमा मिडियाहरू बढी फोकस भएछन् भन्ने पनि हो ।

प्रदेश नम्बर २ मा घरेलु हिंसाका घटना बढी हुनुमा मुख्य कारण भनेको गरिबी र चेतनाको स्तर पनि हो । प्रदेश नम्बर २ मा गरिबीको रेखामुनी रहेका जनसङ्ख्या धेरै छन् । जुन घरमा बिहान के खाने र बेलुका के खाने भन्ने चिन्ता हुन्छ, त्यहाँ घरेलु हिंसाको सम्भावना बढी हुन्छ । गरिबीले घरेलु हिंसालाई कुनै न कुनै प्रकारबाट सघाइरहेको हुन्छ ।

अर्को कुरा भनेको सामाजिक, आर्थिक क्षेत्रमा महिलाको अधिकार कति छ भन्ने कुराले पनि हिंसाको अवस्थालाई अध्ययन गर्न सकिन्छ । जुन समाजमा महिलालाई सामाजिक, आर्थिक र राजनीतिक अधिकार बढी दिइएको हुन्छ, त्यहाँ घरेलु हिंसाका सम्भावना अन्यत्रभन्दा कम हुन्छन् ।

अर्को कुरा जुन स्थानमा मानिसहरूको ओहोर–दोहोर बढी हुन्छ, त्यस्ता स्थानमा घरेलु हिंसाका सम्भावना पनि बढी नै हुन्छन् । प्रदेश नम्बर २ मा धेरै सिमानाका पनि छन् र बजार पनि छन् । त्यस कारण ती क्षेत्रमा घरेलु हिंसाका सम्भावना केही बढी नै हुन्छ ।

घरेलु हिंसाको एउटा प्रमुख कारण मदिराको सेवन पनि हो । जुन क्षेत्रमा मदिराको सेवन बढी हुन्छ, त्यहाँ घरेलु हिंसाको घटना पनि बढी हुन्छन् । प्रदेश नम्बर २ मा मदिरा सेवनको समस्या पनि बढी नै छ । मदिरा सेवन गरिसकेपछि हुने घरेलु हिंसाका घटना प्रदेश नम्बर २ मा बढी भएको देखिन्छ । तर पनि यसको समग्र पक्ष भनेको गरिबी, अशिक्षा, चेतनाको स्तरमा कमी, महिलालाई कम अधिकार आदि नै हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप