प्रेरक प्रसंग

यसरी बने बालक उपमन्यु गोत्रप्रवर्तक ऋषि

person explore access_timeभदौ ४, २०७८ chat_bubble_outline0

उहिले कुनै समयमा एउटा गाउँमा उपमन्यु नामका बालक थिए । त्यतिबेला आठ वर्षकै उमेरमा ब्रतबन्ध गर्ने चलन थियो । सोही अनुसार उनको पनि आठै वर्षमा ब्रतबन्ध भयो । त्यसपछि उनले आयोध धौम्य नामक ऋषि (गुरु) समक्ष गएर पढाइदिन आग्रह गरे । त्यतिबेलाका जानेमाने विद्वान् थिए उनी, जो परको गाउँमा गुरुकुल (विद्यालय) चलाएर बस्थे ।  उनलाई देख्नासाथ गुरुले शिरदेखि पाउसम्म हेर्दै परीक्षा लिने उद्देश्यले भने–

‘त्यो त केही छैन, पढाउनै बसेको हुँ तर आश्रमको निमय अनुसार सुरुमा केही दिन गाईको गोठालो बन्नुपर्छ, सक्छौ ?’

विचरा पढ्न गएका बालक उपमन्यु गाईको गोठालो बन्नुप¥यो तर त्यसको विकल्प पनि थिएन । त्यसैले उनले टाउको हल्लाउँदै भने–

‘हुन्छ गुरुदेव ! सक्छु । आश्रमको नियम नै यही छ भने मैले गर्नैपर्छ ।’

उनको कुरा सुनेर गुरु खुसी भए । त्यो साँझ उनी सँगै राखे र भोलिपल्ट बिहानै केही गाई दिएर चराउन पठाए । खानपानबारे न गुरुले केही भने न उनले नै भन्न सके । केही दिन त्यत्तिकै बिते । बिहान सबेरै गाई चराउन जान्थे र बेलुका घर आएर चुपचाप बस्थे ।

केही दिनपछि गुरुले सोधे–

‘बाबु उपमन्यु ! निकै मोटाएछौ के खाने गरेका छौ ?’

उनले दुई हात जोड्दै भने–

‘गाउँमा भीक्षा मागेर खाने गरेको छु गुरुदेव !’

‘ओ हो ! त्यस्तो कसरी ग¥यौ ?’ निधार खुम्च्याउँदै गुरुले भने–

‘शिष्यकोे भीक्षामा गुरुको हक लाग्छ भन्ने थाहा छैन ? मेरा आज्ञा बिना कसरी खाने हिम्मत ग¥यौ ?’

त्यस दिनदेखि आफूले मागेको भीक्षा गुरुलाई दिन थाले । उनी भीक्षा ल्याएर गुरुलाई दिन्थे गुरु चुपचाप राख्थे ।

 

केही दिनपछि गुरुले फेरि सोधे–

‘बाबु उपमन्यु भीक्षा त सबै मलाई दिने दिने गरेका छौ । आफूले चाहिँ के खाने गरेका छौ नि ?’

‘फेरि मागेर खाने गरेको छु ।’ असजिलो मान्दै उनले भने–

‘बिहान पहिलो पटकको भीक्षा हजुरको लागि राख्छु र फेरि मागेर खाने गरेको छु गुरुदेव !’

‘यो पनि राम्रो गरेनौ ।’ गुरुले हप्काए जस्तो गर्दै भने–

‘दो¥याएर भीक्षा माग्दा लोभी भन्छन् भन्नेसम्म पनि थाहा छैन ?’

त्यस दिनदेखि त्यो पनि छाडे । केही दिन यसै बित्यो । एक दिन फेरि गुरुले सोधे–

‘बाबु उपमन्यु ! एकपटक मागेको भीक्षा मलाई दिन्छौ । दो¥याएर मागेका पनि छैनौ । तैपनि मोटै देख्छु । के खाने गरेका छौ ?’

‘बाच्छाको जुठो गुरुदेव ! मलीन स्वरमा उनले भने–

‘गाईको बाच्छाले दूध चुस्दा उसको मुखबाट फिँज निस्केको फिँज खाने गरेको छु गुरु !’

‘राम ! राम ! के भनेको त्यस्तो ।’ गुरुले हकार्दै भने–

‘बाच्छाको मुखबाट निस्केको चीज उसकै हुन्छ नि । उसको भाग तिमीले कसरी खायौ ?’

त्यस दिनदेखि त्यो पनि खान छाडे । बिहान भोकै गाई चराउन जान्थे । बेलुका घर आएर भोकै सुत्थे । दिन बित्दै गयो । ज्यादै भोक लाग्दा पानी खान्थे । प्राय त्यो पनि खाँदैन थिए । एक दिन निकै भोक लागेकाले खाने कुरा खोज्दै जाँदा एउटा आँकको (कुनै विषाक्त दुधे वनस्पति) बोट भेटेछन् र त्यसैलाई चपाइदिए । यसले विषले उनको आँखा फुटाइदियो । दिन जसोतसो बिताए । बेलुका घर आउँदै थिए बाटो बिराएर कुवामा खसे ।

साँझसम्म पनि उनी नआएपछि गुरु आफैँ खोज्न गए । गुरुको आबाज सुनेपछि उनले कुवाभित्रबाट भने–

‘म यहाँ छु गुरुदेव ! कुवामा ।’

गुरुले जसोतसो कुवाबाट निकालेर कारण सोधे । उनले सबै कुरा बताए । उनको कुरा सुनेर गुरुलाई दया लाग्यो र वेदका मन्त्रद्वारा स्वर्गका वैद्य अश्विनिकुमारलाई बोलाएर आँखा ठीक पारिदिन आग्रह गरे । अश्विनिकुमारले एउटा औषधी दिँदै भने–

‘लाऊ औषधी खाऊ बालक ! सबै ठीक हुन्छ ।’

तर, त्यस्तो अवस्थामा पनि गुरुको आज्ञा बिना उनले खान मानेनन् । गुरुले हुन्छ खाऊ भनेपछि मात्र खाए, जसले उनको आँखा जस्ताकोतस्तै बनाइदियो । अस्विनिकुमार उनको गुरुभक्ति देखेर निकै खुसी हुँदै विद्या सिद्धिको वरदान दिएर हिँडे । त्यसपछि उनलाई गुरुले आफ्नै आश्रममा राखेर पढाउन लागे ।

अश्विनिकुमारको आशीर्वाद र गुरुको कुपाको कारण उनी चाँडै नै सबै विद्या अध्ययन गरी ठूला विद्वान् बन्न पुगे । यसैका कारण पछि गोत्रप्रबर्तक ऋषि बनेर परिचित हुन भए । हाल उपमन्यु गोत्रीय जति पनि मानिस छन् सबैका पुर्खा उनै मानिन्छन् ।

यसरी एउटा सामान्य बालक गुरुभक्तिका कारण ठूला विद्वान् मात्र भएनन् । गोत्रप्रवर्तक ऋषि नै बन्न पुगे ।

महाभारतमा आएको यस प्रसङ्गमा के कति सत्यता छ त्यो त थाहा छैन तर यस प्रसङ्गले विद्या अध्ययन गर्न चाहनेले गुरुप्रति कसरी समर्पित हुन पर्दोरहेछ भन्ने कुराको भने राम्रै शिक्षा दिएको छ । यसको अर्थ गुरुभक्ति त्यस्तै हुनुपर्छ भन्ने होइन । आजको जमानामा त्यस्तो सम्भव पनि हुँदैन तर विद्यार्थीको गुरुप्रति गर्नुपर्ने व्यवहारको भने पक्कै केही सङ्केत गरेको छ । यो भनेको गुरुहरूले पढाएका कुरा राम्ररी पढ्ने, नजानेको कुरा सोध्ने, उनीहरूका कुरालाई गम्भीरतापूर्वक लिने, हमेशा उनीहरूका सामु शौम्य र शिष्ट भएर प्रस्तुत हुने आदि नै हो ।

गुरु भनेका स्कुलमा पढाउने सर र मिसहरू मात्र होइनन् । सर र मिसहरू त हुँदैहुन् । पहिले गुरु भनिन्थ्यो, अहिले सर र मिस भन्ने गरिन्छ । यसबाहेक बाबु, आमा, दाजु, भाउजु, दिदी, भिनाजु, काका, काकी, मामा, माइजू लगायत आफूभन्दा अघिल्लो पुस्ताका मानिस सबै गुरु हुन् । सबैले उनीहरूबाट केही न केही शिक्षा पाएकै हुन्छन् । जसले उनीहरूको सम्मान गर्छ । उनीहरूप्रति आदरभाव राख्छ उही नै ज्ञानी, गुणी, विवेकी र ठूलो विद्वान् बनेर सर्वत्र चिनिने र मानिने अवसर प्राप्त गर्छ । त्यसैले धर्मशास्त्रले ‘आचार्य देवो भव’ अर्थात् गुरुलाई देवता जस्तै मान्नुपर्छ भन्ने गरेको हो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।