शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुला तुइन प्रकरण : कहिले आउँछ छानविन प्रतिवेदन ?

शनिबार, ०५ भदौ २०७८, २० : ११
शनिबार, ०५ भदौ २०७८

साउन १५ गते : गते भारतीय सुरक्षाकर्मीले तुइन काटेपछि दार्चुला व्यासका ३३ वर्षका जयसिंह धामीको महाकाली नदीमा खसेर वेपत्ता

साउन १७ गते : सरकारले गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन, १० दिनको समय 

साउन १९ गते : प्रतिनिधिसभाको बैठकमा सांसदहरुको गृहमन्त्री बालकृष्ण खाणँसँग सांसदहरुको सवाल जवाफ, संसदीय छानविन समिति बनाउन माग 

साउन १९ : छानविन समिति अनुसन्धानका लागि छानविन टोली खलंगामा 

साउन २१ गते : भारततर्फको घटनास्थलको अवलोकन

साउन २२ गते : नेपाल तर्फको घटनास्थल, मालघाटको अवलोकन 

साउन २५ गते : छानविन समितिको म्याद एक साताका लागि थप 

भदौ १ गते : पुन एक साताका लागि म्याद थप, छानविन समिति प्रतिवेदन लेख्दै

 सरकारले महाकाली नदी तर्ने क्रममा वेपत्ता भएका जयसिंह धामीको मृत्यु सम्बन्धमा छानविन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न ढिलाई गरेको छ । छानविन टोली काठमाडौं फर्किएपनि प्रतिवेदन लेख्नका लागि भन्दै तेस्रोपटक समय थप गरिएको छ ।  

गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुला व्यास २ का जयसिंह धामीको भारतीय सुरक्षाकर्मी एसएसबीका जवानहरूले तुइन काटीदिएपछि नदीमा खसेर बेपत्ता भएका थिए । यो घटनाको छिटो सत्य तथ्य सार्वजनिक गर्न सांसदहरुले माग गरिरहेका छन् ।  

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले यो विषयलाई उठाए । उनीहरुले छिटो प्रतिवेदन सार्वजनिक गर्न माग गर्दैै दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गरे । 

काँग्रेसका तर्फबाट दार्चुलाका सांसद दिलेन्द्रप्रसाद बडुले छानविन प्रक्रिया छिटो बाहिर ल्याउन, पीडितलाई क्षतिपूर्तिको व्यवस्था र पीडकलाई कारवाही गर्न माग गरे । उनले सो घटनापछि दार्चुलाबाट भारततर्फ जाने सबै तुइन भारतीय पक्षले बन्द गरेको र दार्चुलामा जाने सडक मार्गपनि अवरुद्ध भएकोले खाद्य संकट आएको बताए । 

एमालेका सांसद महेश बस्नेतले घटना भएको २२ दिन पुग्दासमेत किन सत्यतथ्य बाहिर नल्याएको भन्दै प्रश्न गरेका थिए । उनले यसबारे सरकारले किन ढिलाई गरेको हो, समितिले छुट्टै बैठक राखेर सरकारलाई निर्देशन दिन माग गरेका थिए । 

किन भइरहेको छ ढिलाई 

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले छानविनका लागि समितिलाई भदौ ९ गतेसम्मका लागि म्याद थप गरेको बताए । उनले काठमाडौंबाट टाढाको घटना भएकोले अध्ययनका लागि समय लाग्ने भन्दै म्याद थपेको र  समितिले छानविन सकेपछि प्रतिवेदन सार्वजनिक गर्ने उल्लेख गरे । 

सरकारले सुरुमा एक सातामा अनुसन्धान गर्ने र बाटोको लागि ३ दिन समय सहित १० दिनको समय दिएको थियो । तर सो समयभन्दा बाहेक थप २ पटक गरेर १४ दिनको म्याद थप गरेको छ । यसरी म्याद थप्दै जाने र प्रतिवेदन नआउँदा छानविन प्रभावित हुने त हैन भन्दै सांसदहरुले चिन्ता व्यक्त गरेका छन् । 

प्रतिनिधिसभा अन्तरगतको राज्यव्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले रातोपाटीसँग कुरा गर्दै यसबारे पहिला पनि गृहमन्त्रीसँग कुरा गरेको बताइन् । उनले समितिले फेरि दार्चुला घटनाको बारेमा सरकारले छानविनको काम के गर्दैछ यसबारे जानकारी माग्न छिट्टै बैठक बोलाउने उल्लेख गरिन् । घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरुले भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएका कारण जयसिंह महाकालीमा वेपत्ता भएको बयान दिइसकेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप