शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘पेन्टियम वान’ पार्टी र समृद्धिको प्रश्न

आइतबार, ०६ भदौ २०७८, १० : १८
आइतबार, ०६ भदौ २०७८

नेपाल विश्वको सत्रौं पुरानो देश मानिन्छ । तर, सामाजिक न्याय र विकासको दृष्टिकोणले नेपाल विश्वका गरिबमध्येको एक देशमा दर्ज छ आज पनि । यस्तो कसरी हुन गयो ? के नेपालमा प्रजातन्त्र ढिलो आएर हो ? नेपालको विकास नहुनुमा भूराजनीतिक प्रभावले काम गरेको छ वा हाम्रा आफ्नै मौलिक कमजोरी छन् ? कतै देश विकासको वातावरण नै तयार गर्न नसकेर पो हो कि ? वा प्रणालीकै खराबी ? प्रायः नागरिकले लगाउने आरोप हो, नेता गतिला नभएर । नागरिकको यो आरोपमा सत्यता कति छ ? देश विकास नहुनुमा नीति, नेतृत्व, प्रणाली, राजनीतिक व्यवस्था वा थप अन्य कारण छ ? खासमा हामी चुक्यौँ चाहिँ कहाँ ?

यी प्रश्नको निरन्तर जवाफ खोज्ने अभिप्रायले म यहाँहरु माझ उपस्थित हुने जमर्को गरेको छु । भलै, यस लेखमा केवल मुलुकको समृद्धि र राजनीतिक दललाई केन्द्रमा राखेर बहस हुने छ ।

अमेरिकाका ३४ औं राष्ट्रपति डिवाइट्ले भनेका थिए, ’यदि कुनै राजनीतिक दल आफ्नो मूल्य–मान्यता प्रवर्द्धनमा दृढ छैन भने त्यो सही र नैतिकवान् राजनीतिक पार्टी नै होइन, त्यो त केवल सत्ता कब्जा गर्ने षड्यन्त्र मात्र हो ।’ डिवाइट्ले यो कुरा झण्डै ७ दशक अगाडि भनेका थिए । तर, नेपालमा आज पनि उनको यो भनाइ उत्तिकै सापेक्षित देखिन्छ ।

विसं. २००४ मा गठन भएको प्रजापरिषद्देखि आजसम्म आइपुग्दा नेपालमा राजनीतिक दलको इतिहासले झण्डै ७ दशक पार गरिसकेको छ । परन्तु, सामाजिक न्याय र आर्थिक–भौतिक विकासको कोणबाट हेर्दा ७ दशक अगाडि र आजको नेपालमा उल्लेखनीय परिवर्तन छैन । यसको मुल कारण भनेको यो ७ दशकमा नेपालमा गतिशील, मजबुत र मूल्यको राजनीति गर्ने एक सशक्त पार्टी बन्न नसक्नु नै हो । २००४ सालदेखि आजसम्म आइपुग्दा योबीचमा सयौं पार्टी बन्ने र विघटन हुने शृंखला चल्यो र आज पनि चलिरहेको छ ।

यो लेख लेखिरहँदा पनि नेपालको कम्युनिष्ट आन्दोलनको मुख्य मध्येको एक घटक नेकपा एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दल निर्वाचन आयोगमा दर्ताको क्रममा छ । नेकपा एमालेको विभाजन पछिल्लो उदाहरण भएता पनि नेपालमा पार्टीहरु बन्ने र विभाजन हुने कुरा पोथी कुखुराले अण्डा पारेजस्तै सामान्य हो ।

बहुदलीय व्यवस्थामा देशको नीति निर्माण र नेतृत्व गर्ने वस्तुतः राजनीतिक दलहरुले नै हो । तर, राजनीतिक दलहरु मुल्यमा आधारित नहुँदा डिवाइट्ले भनेजस्तै अन्ततः सत्ता कब्जामा मात्र सीमित हुन पुगे । बहुदलीय व्यवस्थामा मुलुकको समृद्धिका लागि एक शसक्त पार्टी अनिवार्य पूर्व सर्त हो । तर, आजसम्म पनि त्यस्तो पार्टी निर्माण हुन सकेन । फलतः नेपाल विश्वका पुरानो मध्येको एक देश भएर पनि समृद्धिको हिसाबले विश्वका गरिबमध्येको देश बन्न पुग्यो ।

योबीचमा नागरिकले समृद्धि नखोजेको र नेताले समृद्धि दिन्छु नभनेका पनि होइनन् । तर, समृद्धि हात परेन । किनकि, आजसम्म पनि राजनीतिक दल र नागरिकले परिणाम विहीनताको कारण खोज्ने कष्ट गरेनौं ।

हाम्रो विशेषता भनेकै परिणामको पछि लाग्ने अर्थात् यो सन्दर्भमा भन्दा देश बनेन भनेर चिच्याउने, तर बन्न नसक्नुको कारण खोज्न फिटिकै अग्रसर नहुने हो । हामी यस्तो परिवार र समाजमा हुक्र्यौँ, जोसँग हरेक कुराको उत्तर पहिली नै छ । हामी हुर्किएको समाजको केन्द्रमा भाग्य र दूर्भाग्य छ । हाम्रो सम्पूर्ण चेतना नै भाग्य र दुर्भाग्य अर्थात् भ्रमपूर्ण ज्ञानमा आधारित भएकाले असफल भयौं भने त्यसको कारण खोज्दैनौं, किनकि हामीलाई पहिले नै थाहा छ, भाग्यमा नभएकाले सफल भएनौं । जस्तो कि, देशका गरिब र निरीह बनाइएका मानिसले आफ्नो भाग्यलाई दोष दिएर बाच्नु !

खैर, हामी यहाँ नेपाल गरिब हुनुको पछाडि राजनीतिक दल कति जिम्मेवार भन्ने विषयमा कुरा गरिरहेका छौं । बहुदलीय व्यवस्थामा राजनीतिक दल नै असल र खराब परिणामका लागि जवाफदेही हुन्छ । यो व्यवस्थामा शसक्त राजनीतिक दल बन्न सके मुलुकको अग्रगति र त्यस्तो दल बन्न नसके दुर्गति हुन्छ । अझ आजको विज्ञान प्रविधिको युगमा सशक्त पार्टीलाई ‘स्मार्ट पार्टी‘ भन्नु सापेक्षित हुन्छ । तर, नेपालमा राजनीतिक दल गठनको ७ दशक भइसक्दा पनि ‘स्मार्ट पार्टी’ बन्नै सकेन, जुन निकै नै गम्भीर प्रश्न हो । त्यसकारण, यही प्रश्नको वरिपरिरहेर यहाँ चर्चा गर्नु सान्दर्भिक हुन्छ ।

कल्पना गरौं त, हाम्रो दिमागमा स्मार्ट भन्ने वित्तिकै के प्रतिविम्वित हुन्छ ? पक्कै पनि सबैको दिमागमा सुग्घर, सफा, चिटिक्क परेको मान्छेको चित्र आएको हुनुपर्छ । आजको युवा पुस्ताको दिमागमा चाहिँ स्मार्ट फोनको चित्र प्रतिविम्वित भयो होला ! किनकि, आज स्मार्ट फोन र युवा पुस्ताकाबीच अन्योन्याश्रित सम्बन्ध बनेको छ । अतः स्मार्ट पार्टीको उदाहरणका रुपमा स्र्माट फोनलाई नै लिएर छलफल गरौं ।

हामीलाई थाहा भएकै कुरा हो, कुनै समय यस्तो पनि थियो, हामी आफ्ना कुरा चिठी–पत्र लेखेर हुलाकीमार्फत् आफन्तसम्म पुर्‍याउँथ्यौँ । त्यसपछि ल्यान्डलाइन टेलिफोन आयो । टाढा रहेका आफन्तसँग कुरा गर्न घण्टौं हिँडेर तारवाला ल्यान्डलाइन फोनबाट कुरा गर्नुपर्दथ्यो । त्यसपछि मोवाइल आयो । हातमा मोवाइल आइपुग्नु ठूलो परिवर्तन थियो ।

जतिबेला नेपालमा मोवाइल फोनको सुरुवात हुँदैथ्यो, त्योबेला हामी सामान्य नोकिया वा सामसुङका सेट बोक्थ्यौँ । त्यसबाट केवल टेलिफोन र म्यासेजमा कुरा गर्न सकिन्थ्यो । त्यसता मोबाइलमा थप सुविधा यतिमात्र थियो कि टर्चलाईटसम्म बाल्न मिल्थो । तर, आज स्मार्ट फोन मानिसका हातहातमा छ । आजको स्मार्ट फोनसँग तुलना गरेर हेरौं त, त्यो बेलाको मोवाइल सम्झँदा कस्तो अनौठो लाग्छ !

विगत दुई दशकमा विज्ञान प्रविधिमा यसरी द्रुत विकास भयो कि हिजो सामान्य मोबाइल किन्न लाग्ने पैसाभन्दा अझ सस्तोमा स्मार्ट फोन किन्न पाइन्छ । स्मार्ट फोनको अवधारणा भनेकै ‘अल इन वान’ हो । अर्थात्, सबै कुरा केवल एउटा मोबाइलमा । स्मार्ट फोनको चुस्तता, पर्फमेन्स्, उपयोगिता, सुन्दरता र अनिवार्यता ! हो, विज्ञानप्रविधिको विकासले आज विश्व ब्रह्माण्ड केवल एउटा स्मार्ट फोनमा अटाउन सकेको हो ।

विज्ञान र प्रविधि यतिमा मात्र रोकिएको छैन, कुनैबेला डेस्कटप कम्प्युटरले काम गरेको देख्दा अचम्म मान्ने हामी इन्टरनेट आएपछि त झनै अचम्ममा परियो । हुँदा हुँदा अब त एलन मक्सजस्ता सृजनशील हस्तीले ‘स्टारलिंक’ नामक परियोजनाका माध्यमबाट विज्ञान प्रविधि र आम सञ्चारको क्षेत्रमा नयाँ क्रान्ति गर्दैछन् । अर्थात्, अबको समय भनेकै स्मार्टको हो, न कि डेस्कटपको !

तर, सामाजिक न्याय र समृद्धिका लागि जिम्मेवार हाम्रा राजनीतिक पार्टीहरू हेर्‍यौँ भने तिनीहरु अझै पनि पेन्टियम वान डेस्कटप कम्प्युटरकै अवस्थामा छन् । अर्थात्, नीति, नेतृत्व र संगठन गतिशील छैन । उनीहरुको एकमात्र ध्येय केवल सत्ता कब्जा हो । विगतदेखि वर्तमानसम्मका पार्टी हेर्‍यो भने उनीहरुको अन्तिम उपलब्धीको सूचक नै सत्तामा पुग्नु हो भन्ने स्पष्ट देखिन्छ । सत्ता प्रधान पार्टीले आफूलाई अपडेट गर्न कहिलै ध्यान दिएनन्, ध्यान दिए त केवल सत्तालाई । जेमा ध्यान थियो, त्यो त पाए । तर, जे नगरी हुँदैनथ्यो, त्यसबाट चुके ।

वस्तुतः जुनसुकै परिणामका लागि गतिशीलता जरुरी हुन्छ । गतिशीलताले उर्जा पैदा गर्दछ । उर्जाले परिणाम दिन्छ । तर, नेपालका राजनीतिक पार्टीहरू गतिशील नहुँदा उनीहरु पदार्थमा सीमित हुन पुगे ।

हाम्रा राजनीतिक दलको मूलभूत समस्या भनेकै गतिशीलता नहुनु हो । नीति, नेतृत्व र संगठनको गतिशीलताबिना नयाँ र जुझारु पार्टी बन्न सक्दैन । नयाँ र जुझारु पार्टीबिना देशको विकास र समृद्धि सम्भव नै छैन । त्यसकारण, बहुदलीय राजनीतिक प्रणाली भएको नेपालमा देशको समृद्धिभन्दा पहिले समृद्ध अर्थात् स्मार्ट पार्टी निर्माणमा केन्द्रित हुनुपर्छ ।

स्मार्ट पार्टी भन्नेवितिकै त्यसमा स्मार्ट नीति, स्मार्ट नेता र स्मार्ट कार्यकर्ता अपरिहार्य हुन्छ । स्मार्ट नीति, स्मार्ट नेता र स्मार्ट कार्यकर्ता भएपछि त्यो पार्टी स्वतः स्मार्ट बन्न जान्छ । स्मार्ट पार्टीले मात्र स्मार्ट देश निर्माणको ग्यारेन्टी गर्न सक्छ । यसर्थ, अब हामी यो निष्कर्षमा सहजै पुग्न सक्छौं कि देश नबनेको होइन, यहाँ स्मार्ट पार्टी बन्न नसकेको हो ।

यहाँ अर्को स्मरण गर्नुपर्ने विषय के हो भने स्मार्ट भनेको सापेक्षित हुनु हो, सापेक्षित हुनु भनेको विज्ञानलाई अंगाल्नु हो । जब राजनीति दलले विज्ञानलाई आत्मसाथ गर्दछ, तब उ आफैंमा एक चलायमान शक्तिका रुपमा विकास हुन पुग्दछ । चलायमान पार्टीले पार्टी जीवनमा विज्ञानको अधिकतम् प्रयोग गर्दछ । परम्परागत ढर्राका पार्टीबाट नागरिक चाहना र राष्ट्रिय हित हासिल हुनै सक्दैन । २१ औं शताब्दीका पार्टीहरू हरेक सेकेन्ड परिणाम दिने घडीको सेकेन्ड सुईजस्तो चलायमान हुनुपर्दछ । यसमा यदि÷तर भनेर अलमलिनु हुँदैन । पार्टीहरुले आफूलाई स्मार्ट बनाउने साहस गर्नैपर्दछ ।

स्मार्ट पार्टी बन्न मूलतः तीनवटा कुरा सुनिश्चित हुनुपर्दछ ।

पहिलो, अग्रगामी नीति कार्यक्रम: स्मार्ट पार्टीको पहिलो सर्त हो, अग्रगामी नीति कार्यक्रम । जुन पार्टीले मुलुकको सापेक्षतामा वैज्ञानिक ढंगले आफ्ना नीति कार्यक्रम तर्जुमा गरी लागू गर्छ, त्यो पार्टीले मात्र नागरिकको आकांक्षा र मुलुकको आवश्यकता सम्बोधन गर्न सक्दछ । तर, नेपालमा भोटको राजनीतिका कारण रुपमा अग्रगामी देखिने पार्टीहरू पनि सारमा रुढीवादीलाई नै मलजल गर्ने नीति कार्यक्रमबाट निर्देशित छन् । किनकि, सत्ता तिनको पहिलो प्राथमिकता हो । पार्टीहरू भोट केन्द्रित राजनीतिको बिलखवन्दनमा पर्दा मुलुकको दुर्गति हुन जान्छ, जुन आज भइरहेको छ । अतः पार्टीहरुले अग्रगामी नीति कार्यक्रम निर्माण र लागू गर्नबाट चुक्नु हुँदैन । 

दोस्रो, गतिशील नेता कार्यकर्ता: स्मार्ट पार्टीको अर्को महत्वपूर्ण विशेषता भनेको गतिशील नेता कार्यकर्ता हो । सफल फिल्म बन्नका लागि राम्रो कथा (स्क्रिप्ट) भएर मात्र पुग्दैन, कथाले मागेअनुसारका पात्र जरुरी हुन्छ । ठीक त्यस्तै, स्मार्ट पार्टीका लागि पनि अग्रगामी नीति कार्यक्रमले माग्ने भनेको गतिशील नेता कार्यकर्ता हो । गतिशील हुनु भनेको विज्ञानलाई अंगाल्नु हो । विज्ञानलाई अंगाल्नु भनेको सत्यलाई स्वीकार्नु हो । अतः सत्यलाई स्वीकार्ने नेता कार्यकर्ता युगको आवश्यकता हो । इतिहासको ब्याजका रुपमा पद ओगटेर पार्टीलाई पेण्डुलम बनाउने नेता कार्यकर्ता होइन, परिणामका लागि जिम्मेवार र जवाफदेही नेता कार्यकर्ता स्मार्ट पार्टीको विकल्पविहीन सर्त हो ।

तेस्रो, चुस्तदुरुस्त संगठन : पार्टीका लागि संगठन मेरुदण्ड हो । अतः स्मार्ट पार्टीका लागि चुस्तदुरुस्त संगठन झनै अपरिहार्य हुन्छ । चुस्तदुरुस्त संगठनले मात्र पार्टीको अग्रगामी नीति कार्यक्रमलाई ठीक ढंगले कार्यान्वयन गरी परिणाम दिन सक्दछ । यसकारण, पार्टीहरुले आफ्नो संगठन निर्माणमा विज्ञानको प्रयोग गर्नु पर्दछ । वैज्ञानिक प्रयोगबाट निर्माण गरिने संगठन स्वतः चुस्तदुरुस्त हुन्छ ।    

भलै, आज देशका हरेक राजनीतिक दलको अवस्था हरिबिजोग छ । कम बिजोग कसको भन्नेमात्र कुरा हो । नागरिकमा आएको चेतना र मुलुकको आवश्यकताले पार्टीहरूलाई भरे–भोलि भन्ने छुट अब दिँदैन तत्काल अर्थात् भर्खरै परिणाम दिनुपर्ने हुन्छ । परिणाममुखी पार्टी निर्माणका लागि विद्यमान राजनीतिक दलहरुले आफूलाई नयाँ भर्सनमा रुपान्तरण गर्नुपर्दछ । त्यो पनि एकपटक होइन, पटक–पटक । अर्थात् निरन्तर अपडेट हुनुपर्दछ । यदि अपडेट नहुने हो भने सनिकट भविष्यमा आउटडेटेड हुन तयार भएर बसे हुन्छ ।

भर्खरै नेकपा एमालेको विभाजन भएको छ । एमालेको विभाजनको ग्राउण्ड पनि यही हो । एमाले विभाजनको अन्तर्यमा हेर्ने हो भने त्यहाँ स्पष्ट भेट्न सकिन्छ, अग्रगमन र पश्चगमनबीचको भीषण द्वन्द्व, सामूहिकता र व्यक्तिवादबीचको टकराब, लोकतान्त्रिक विधि र पद्दति कि सीमित व्यक्तिको सर्वोपरिता आदि । माधव नेपाल र उनको समुहले एमालेको अपडेट चाहन्थ्यो । तर, केपी ओली पार्टीलाई नयाँ भर्सनमा रुपान्तरण गर्न अनिच्छुक हुँदा पार्टी विभाजनको भौतिक परिस्थित निर्माण हुन पुग्यो ।

हो, हिजो एउटा अवस्था थियो, जहाँ बहुदलीय व्यवस्थाले मात्र नागरिक र देशको हितमा काम गर्न सक्दछ भनेर बुझाइयो र त्यही बुझियो । त्यही बुझाइले पञ्चायतविरुद्ध आन्दोलन भयो । बहुदल पनि आयो । बहुदलीय व्यवस्था आएसँगै २०४६ देखि आजसम्म राजनीतिक दलहरुले मुलुकको सत्ता सम्हालिरहेका छन् । तर, विज्ञान र प्रविधिको विकासले मानिसका आकांक्षा र देशको आवश्यकतालाई बृहत् बनाइदिएको छ । अब बहुदलीय व्यवस्था अर्थात् एकथान राजनीतिक पार्टीले मात्र देश र नागरिकको भलो गर्न सक्दैन । भलो गर्न सक्छ त केवल स्मार्ट पार्टीले ।

अतः स्मार्ट देश निर्माण गर्न स्मार्ट पार्टी अनिवार्य सर्त हो । वर्तमान राजनीतिक दलहरुले आफूलाई फगत राजनीतिक दलको ब्यानरमा सीमित नगरेर स्मार्ट पार्टी निर्माणमा केन्द्रित गर्नुपर्दछ । यस्तो पार्टीले मात्र निश्चित समयभित्र सामाजिक न्याय र देशलाई समृद्धि दिन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश विकल्प
प्रकाश विकल्प
लेखकबाट थप