शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ : महत

सोमबार, ०७ भदौ २०७८, १७ : ३२
सोमबार, ०७ भदौ २०७८

सत्तारुढ दल नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महतले अबको केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका हुन् । सबै पार्टीहरूलाई मिलाएर सरकार बनाउनुपर्ने भएकाले मन्त्रिपरिषदले पूर्णता पाउन ढिलाई हुन गएको उनको स्पष्टिकरण थियो । सहमहामन्त्री महतले काँग्रेस नेतृत्वको सरकारले नेपाली जनतालाई कोरोना भाइरसबाट सुरक्षित गर्ने र कम्युनिष्ट शासनमा भएका संस्थागत भ्रष्टाचारबाट मुलुकलाई मुक्त गराउने लक्ष्य लिएको पनि बताए । उनले सरकारले जनताको आर्थिक र सामाजिक जीवनमा भएका अस्तब्यस्तलाई ध्यानमा राखेर काम गर्ने योजना पनि सुनाए ।

सहमहामन्त्री महतले भने, ‘सरकार नेपाली काँग्रेसको नेतृत्वमा, शेरबहादुर देउवाजीको नेतृत्वमा बनेको छ, चुनौतिहरु धेरै छन्, अवसर पनि छ, यो चुनौतीलाई पार गर्न सक्यौँ भने धेरै ठूलो अवसर नेपाली काँग्रेसको अगाडि छ, नेपाली काँग्रेसलाई अवसर भनेको जनताका लागि पनि एउटा अवसर हो, ट्रयाकभन्दा बाहिर गएको यो देशलाई ट्रयाकमा ल्याउने अवसर हो भन्ने मलाई लाग्छ, नेपाली काँग्रेसको नेतृत्वमा बनेको सरकारले आकाश पाताल जोडेर हुने, नहुने कुरा गर्दैन, जनताप्रति केन्द्रीत भएर, जनताका प्राथमिक आवश्यक्ताहरु के छन् ? त्यसमा केन्द्रीत हुने प्रण प्रधानमन्त्रीजीले पनि गर्नुभएको छ, अहिले सम्पूर्ण नेपाली जनतालाई सुरक्षित गर्ने पहिलो प्राथमिकता हो, यद्यपि समयमा मन्त्रिपरिषद् पाउन सकेन घटकलाई जोडेर सरकार बनाउनुपर्ने बाध्यता छ, तर अब मलाई लाग्छ केही दिनमै मन्त्रिमण्डल पूरा हुन्छ भनेर प्रधानमन्त्रीजीले विश्वास दिलाउनुभएको छ, अनि रफ्तारमा काम हुन्छ ।’

सहमहामन्त्री महतले नेपाली काँग्रेसले निर्वाचनबाट एकल पूर्ण बहुमतका साथ सरकार बनाउन सक्ने हैसियत राखेपछि मात्रै पूर्ण रुपमा नेपाली जनताको पक्षमा काम गर्न सक्ने बताए । साथै उनले पार्टी महाधिवेशन नै अन्तिम लडाइँ भएको जसरी लड्न नहुने बताए । सहमहामन्त्री महतले आउँदो आम निर्वाचन महत्वपूर्ण भएकोले पार्टीको महाधिवेशनमा नलडी अगाडि बढ्नुपर्ने धारणा राखे । सहमहामन्त्री महतले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुधार गरेर अघि बढ्ने पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप