शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले बैठकमा तेस्रो धारको 'इन्ट्री', तस्बिरमा हेर्नुहाेस्

मङ्गलबार, ०८ भदौ २०७८, १५ : ३४
मङ्गलबार, ०८ भदौ २०७८

नेकपा एमालेको स्थायी समिति बैठकमा पार्टीभित्र तेस्रो धारको नेतृत्वका नेताहरु सहभागी भएका छन् ।  मंगलबार ११ बजेका लागि तय भएको बैठक चार घण्टा पछि सुरु भएको हो । तयारी पुरा नभएकाले बैठक केही घण्टा पछि सार्नुपरेको बताइएको छ । बैठक ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बसेको छ ।

नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्ने अन्तिम तयारी गरिरहेका बेला अध्यक्ष ओली र तेस्रो धारका नेताहरुबीच सोमबार भएको छलफलपछि उनीहरू ओलीले बोलाएको बैठकमा सहभागी हुन तयार भएका हुन् ।

स्थायी समिति बैठकले यसअघि एमाले एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि मोडालिटी तयार गर्नेछ ।

सोमबार अध्यक्ष ओली निवास बालकोटमा भएको झन्डै तीन घण्टाको छलफलमा अध्यक्ष ओली २०७५ जेठ २ को एमालेको संरचनाअनुसार अघि बढ्न र १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न तयार भएका थिए । त्यसपछि नेपाल समूहमा रहेका तर नयाँ पार्टी दर्ताको प्रक्रियामा नेपाललाई साथ नदिएका नेताहरू ओलीले बोलाएको बैठकमा बस्न तयार भएका थिए । 

बैठकमा उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिवहरु भीम आचार्य, योगश भट्टराई, गोकर्ण विष्ट, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, अमृत बोहरा र रघु पन्त सहभागी भएका हुन् ।
सोही बैठकमा सहभागी हुन माओवादीबाट प्रवेश गरेका रामबहादुर थापा, वादल, लेखराज भट्ट र टोपबहादुर रायमाझी र मणिचन्द्र थापा पनि बैठकस्थल पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप