सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शैक्षिक क्षेत्रमा कोरोनाबाट सिर्जित चुनौती

आइतबार, १३ भदौ २०७८, ११ : २३
आइतबार, १३ भदौ २०७८

सन् २०१९ को डिसेम्बरमा चीनको उहान सहरबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण क्रमशः विश्वका सबै महादेश र राष्ट्रहरूमा फैलियो । २०२१ को अगस्ट अन्त्यसम्म आइपुग्दा विश्वका २१ करोड ६२ लाख २४ हजार ३५१ मानिस सङ्क्रमित हुन पुगे भने दशौँ लाख (२.०८ प्रतिशत) मानिसले ज्यान गुमाइसकेका छन् ।

यो रोगको सङ्क्रमणलाई नियन्त्रण गर्न विश्व स्वास्थ्य सङ्गठन लगायत अन्य सङ्घ–संस्था र सरकारको आह्वानमा विश्वका अधिकांश देशहरूले पूर्ण तथा आंशिक निषेधाज्ञा तथा यात्रा प्रतिबन्ध लगाउने कार्य गर्दै आइरहेका छन्; जसबाट स्वास्थ्य, शिक्षा, यातायात, पर्यटन, कृषि, उद्योगलगायत सबैजसो क्षेत्र प्रभावित भइरहेका छन् ।

सरकारी तथा निजी शैक्षिक संस्थाहरूबाट भौतिक उपस्थितिमा हुने पठनपाठनमा प्रतिबन्ध लगाइयो । त्यसको परिणाम स्कुल, कलेज तथा विश्वविद्यालयबाट हुने भौतिक पठनपाठन लगातार अवरुद्ध भइरहेको छ । केही निजी स्कुल तथा सुविधा सम्पन्न कलेज र विश्वविद्यालयले भर्चुअल माध्यमबाट सैद्धान्तिक विषयको पठन–पाठन सञ्चालन गरे पनि विद्यार्थीहरूको सीप विकास गर्ने प्रयोगात्मक पठनपाठन हुन सकेको छैन ।

कोभिड–१९ महामारीका रूपमा फैलिएको छ । यसबाट करोडौँ मानिस सङ्क्रमित भइरहेका छन् । त्यसैगरी लाखौँ मानिसले ज्यान गुमाए । यसले विश्वलाई नै प्रयास गतिहीन बनायो । तथापि कोभिड–१९ का कारण विश्वका सरकारहरू लगायत आम जनसमुदाय यसको वैकल्पिक उपाय अवलम्बन गर्न बाध्य भइरहेका छन् । सबैतिर भौतिक उपस्थितिको विकल्प खोजी गरेर भर्चुअल माध्यमबाट जनजीवनलाई गतिशील पर्ने प्रयासमा आम व्यक्ति लागिरहेका छन् ।

कोभिड–१९ ले शिक्षा क्षेत्रमा पनि थप रूपान्तरण हुन शिक्षक, विद्यार्थी, अभिभावक लगायत सरोकारवाला सबैलाई बाध्य परेको छ । सरकारी तथा निजी विद्यालय, कलेज, क्याम्पसलगायत विश्वविद्यालयहरू आआफ्नो क्षेत्रमा प्रविधिको विकास र उपयोगमा जोड दिई प्रविधि मैत्री भइरहेका छन् । त्यसैगरी अभिभावकहरूले पनि छोराछोरीको शिक्षाका लागि घरमा सूचना प्रविधिको व्यवस्था गर्न र उनीहरू आफैलाई पनि सूचना मैत्री हुन थप दबाब सिर्जना गरेको छ ।

कोभिड–१९ बाट विद्यालय स्तर तथा उच्च शिक्षामा परेको असरलाई मध्यनजर गरी नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, विश्वविद्यालय, एकेडेमी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् जस्ता निकायले पनि भौतिक रूपमा हुने पठनपाठन र मूल्याङ्कनको विकल्पमा भर्चुअल माध्यमबाट पठनपाठन र मूल्याङ्कन क्रियाकलाप सञ्चालन गर्न विभिन्न नीति–नियम तर्जुमा गर्ने र सञ्चालन निर्देशिका जारी गर्ने कार्य निरन्तर गरिरहेका छ ।

सहरी क्षेत्र तथा सुविधायुक्त ग्रामीण क्षेत्रमा रहेका अधिकांश निजी तथा सरकारी स्कुल, कलेजहरूले थप पूर्वाधार विकास गरी गत वर्षदेखि नै भर्चुअल माध्यमबाट शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आएका छन् । यो विधि सहरी क्षेत्रमा बढी प्रभावकारी देखिएको छ । तर नेपालका दुर्गम ग्रामीण क्षेत्रमा विद्युत् तथा इन्टरनेटको अनियमितताका कारण भर्चुअल शिक्षण विधि, क्रियाकलापमा त्यति प्रभावकारिता देखिएको छैन ।

उच्च शिक्षामा भर्चुअल शिक्षण क्रियाकलाप बढी प्रभावकारी हुने विज्ञहरू बताउँछन् । तर भर्चुअल शिक्षण सिकाइको प्रभावकारी कार्यान्वयनका लागि स्थापित पूर्वाधार, प्रविधिको अनुभव भएको तालिम प्राप्त शिक्षक र सीमित विद्यार्थी सङ्ख्या भएमा बढी प्रभावकारी हुने देखिन्छ । नेपालका सबैजसो विश्वविद्यालयहरूले भर्चुअल शिक्षण अपनाइरहेका छन् । तथापि सीमित विद्यार्थी भएका विश्वविद्यालयको तुलनामा विद्यार्थी सङ्ख्या बढी भएका संस्थाहरूमा भर्चुअल शिक्षण प्रभावकारी हुन सकेको छैन ।

नेपालका शैक्षिक संस्थाहरू भर्चुअल शिक्षण मात्र होइन, शिक्षण सिकाइ क्रियाकलापको अभिन्न अङ्गका रूपमा रहेको मूल्याङ्कनलाई पनि भर्चुअल माध्यमबाट सञ्चालन गर्न दबाबमा रहेका छन् । कोभिड–१९ को सङ्क्रमण पश्चात नेपालका प्रायजसो शैक्षिक संस्थामा भौतिक रूपमा मूल्याङ्कन हुन सकेको छैन । विद्यार्थीहरूको अध्ययन अवधि लम्बिएको छ ।

कोभिड–१९ को निरन्तर बढ्दो सङ्क्रमण र यसबाट शैक्षिक क्षेत्रमा परेको असरलाई ख्याल गरी नेपालका विश्वविद्यालयहरूले भर्चुअल–वैकल्पिक मूल्याङ्कनको अभ्यास अगाडि बढाउन बाध्य भएका छन् । पूर्वाञ्चल, काठमाडौँ, मध्यपश्चिमाञ्चल लगायतका विश्वविद्यालयहरूले गत वर्षदेखि नै भर्चुअल मूल्याङ्कनको सुरुवात गरेका थिए भने त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगायतले भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने अनुकूलता पर्खिरहेका थिए ।

यस वर्ष आएर त्रिभुवन विश्वविद्यालय विविध बाधा अड्चनका बीच पनि भौतिक उपस्थितिमै परीक्षा सञ्चालनमा अडिग देखिन्छ भने काठमाडौँ विश्वविद्यालयले प्रायजसो मूल्याङ्कनमा भर्चुअल विधिलाई निरन्तरता दिइरहेको छ । त्यसैगरी अन्य कतिपय विश्वविद्यालयहरू के गर्ने भन्ने दुविधामै रहेको देखिन्छ ।

यस वर्ष पोखरा विश्वविद्यालयले निरन्तर बढ्दो कोभिड–१९ को  महामारी र आम विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाहरूको आवाजलाई मध्यनजर गरी आफ्ना ‘स्प्रिङ सेमेस्टर’ का सम्पूर्ण स्नातक तथा स्नातकोत्तर तहका परीक्षाहरू ‘पोखरा युनिभर्सिटी वैकल्पिक मूल्याङ्कनका लागि पोखरा विश्वविद्यालयको निर्देशिका– २०२१’ जारी गरी निरन्तर सञ्चालन गरिरहेको छ भने स्नातक तह अन्तिम सेमेस्टरका सम्पूर्ण कार्यक्रमको परीक्षाफल पनि प्रकाशित गरिसकेको छ । विश्वविद्यालयले वैकल्पिक मूल्याङ्कनलाई विश्वसनीय बनाउन मिश्रित विधि ‘टाइम बाउन्ड लिखित परीक्षा’ र बाह्य परीक्षकबाट अनलाइन अन्तरवार्ता सञ्चालन गरी मूल्याङ्कन गरिरहेको छ ।

कोभिड–१९ कोरानाबाट हुने अति सङ्क्रमित रोग हो । यो भाइरसजन्य रोग हुनाले यसको भरपर्दो उपचार छैन । त्यसैले यसको उपचारभन्दा पनि रोकथाममा जोड दिनुपर्छ । निरन्तर प्रयासपश्चात वैज्ञानिकहरूले यस विरुद्धको खोप विकास गर्न सफल भएका छन् । त्यसैले यसको रोकथामका लागि कोभिडविरुद्धको खोप लगाउनतर्फ जोड दिनुपर्छ । नेपालको संविधानले स्वास्थ्यलाई जनताको मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ । त्यसैले राज्यले आफ्ना जनतालाई आवश्यक पर्ने खोपको व्यवस्था गरी अविलम्ब खोप लगाउन अभिप्रेरित गर्नुपर्छ ।

हाल शिक्षा क्षेत्रमा उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राखी राज्यले विद्यालय तथा उच्च शिक्षामा संलग्न सबै विद्यार्थी, शिक्षक तथा अन्य कर्मचारीलाई प्राथमिकतामा राखी खोपको व्यवस्था मिलाउनुपर्छ । हाम्रोजस्तो न्यून साधन–स्रोत तथा भौगोलिक विकटता भएको देशमा भर्चुअल शिक्षण सिकाइ तथा मूल्याङ्कन आफैँमा चुनौतीपूर्ण छ । त्यसैले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवाला सबै नागरिकलाई पूर्ण खोप दिई भौतिक उपस्थितिमै पठनपाठन र परीक्षा सञ्चालन गराउनु वाञ्छनीय देखिन्छ ।

(लेखक पोखरा विश्वविद्यालय, कास्कीका परीक्षा नियन्त्रक हुन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. तुल्सीराम भण्डारी
डा. तुल्सीराम भण्डारी
लेखकबाट थप