शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अरूलाई ‘चुनाव हार्छस्’ भन्ने ओली झापामा कति बलियो ?

बुधबार, १७ कात्तिक २०७८, १२ : २८
बुधबार, १७ कात्तिक २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरुलाई चुनाव जितेर देखाउन चुनौती दिएका दियै छन् । उनले प्रचण्डलाई चुनाव जितेर देखाउन भनिरहेका छन् । त्यस्तै सिन्धुपाल्चोकबाट चुनाव जितेर देखाउन सभामुख अग्निप्रसाद सापकोटालाई पनि चुनौती दिइसके । माधव कुमार नेपाललाई त कहीँ पनि चुनाब जित्दैनन् भनेर ओलीले चुनौती दिइरहेकै छन् । ओलीले शेरबहादुर देउवालाई चाहिँ डडेलधुरामा चुनाव जितेर देखाउन चुनाैती दिइसकेका छैनन् ।

आखिर सत्तारुढ गठबन्धनका नेताहरूलाई चुनाव जितेर देखाउन चुनौती दिइरहेका केपी शर्मा ओली चाहिँ आगामी निर्वाचनमा जित हात पार्नका लागि कति सुरक्षित छन् ? के उनी आफूले नहार्ने पक्का भएकै कारण अरूलाई चुनाव जितेर देखाउन चुनौती दिइरहेका हुन् ? वा केपी ओली पनि चुनौतीको सँघारमा छन् ?

अघिल्लो २०७४ सालको चुनावी नतिजा हेर्दा केपी ओलीको निर्वाचन क्षेत्र झापा ५ को अङ्कगणित ओलीकै पक्षमा बलियो देखिन्छ । सम्भवतः यही गणितका आधारमा ओलीले प्रचण्ड र माधव कुमार नेपाललाई चुनाव जितेर देखाउन चुनौती दिइरहेका हुन् ।

एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओली झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद हुन् । ०७४ सालको चुनावमा माओवादी र एमालेबीच गठबन्धन भएको थियो । ओलीको चुनाव क्षेत्रमा चाहिँ एमाले, माओवादी र राप्रपासहितको तीन दलीय गठबन्धन बनेको थियो ।  झापा क्षेत्र नम्बर ३ मा एमाले र माओवादीले राप्रपाका राजेन्द्र लिङदेनलाई भोट हालेका थिए भने ५ नम्बरमा राप्रपाले ओलीलाई भोट दिएको थियो ।

२०७४ सालमा केपी ओली निकै नै लोकप्रिय थिए । यही लोकप्रियताका बीचमा दमक नगरपालिकामा बलियो जनमत भएको राप्रपाले समेत सघाएका कारण केपी ओलीले ५७ हजार १३९ अर्थात् ६२.५५ प्रतिशत मत ल्याएर जितेका थिए ।

अब झापा क्षेत्र नम्बर ५ मा केपी ओलीको शक्तिबारे विश्लेषण गरौँ ।

आफ्नो चुनाव क्षेत्रमा केपी शर्मा ओलीले २०७४ सालमा पाएको कुल मत ५७ हजार १३९ हो । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत मात्रै पाएका थिए । ओली र अधिकारीबीचको मतान्तर २८ हजार ८४२ देखिएको थियो । अर्थात् ओलीको चुनाव क्षेत्र झापा ५ मा एमाले र काँग्रेसबीचको मतान्तर २८ हजार बढी देखिएको थियो २०७४ सालमा ।

केपी ओलीले पाएको ५७ हजार १३९ मतमा माओवादी र राप्रपाको पनि मत मिसिएको छ । आखिर झापा क्षेत्र नं ५ मा माओवादी र राप्रपाको मत कति थियो त ? यसतर्फ विश्लेषण गर्नका लागि समानुपातिकतर्फ ती दलले पाएको मतलाई आधार मान्नुपर्ने हुन्छ ।

झापा क्षेत्र नम्बर ५ मा राप्रपाले समानुपातिकतर्फ ९ हजार ५९ मत पाएको थियो । त्यसैगरी माओवादीले यस क्षेत्रमा समानुपातिकतर्फ ६ हजार ३५२ मत पाएको थियो । १५ हजार ४११ मत हुन जान्छ ।

ओलीले पाएको मतमा राप्रपा र माओवादीको १५ हजार मत घटाउने हो भने पनि उनको दलले एक्लै पाएको मत ४२ हजारभन्दा बढी हुन जान्छ । यसमा काँग्रेसका उम्मेदवारले पाएको २८ हजार मत घटाउने हो भने पनि ओलीले करिब १४ हजार मतले अग्रता कायम गर्छन् ।

यसरी २०७४ सालमा प्राप्त मतका आधारमा विश्लेषण गर्दा केपी ओलीले झापा क्षेत्र नम्बर ५ मा काँग्रेस, एमाले, माओवादी सबैलाई एकातिर राख्दा पनि १४ हजार बढी मतले लिड गरेको देखिन्छ । र, यही विगतको नतिजालाई हेरेर ओली आगामी चुनावमा आफूले  एक्लै गठबन्धनलाई हराइदिनेमा ढुक्क देखिन्छन् ।

स्थानीय तह हेर्दा ढुक्क हुने अवस्था छैन

केपी शर्मा ओली २०७४ को चुनावमा निकै नै लोकप्रिय थिए । यही लोकप्रियताका कारण संघीय चुनावमा उनले पार्टीलाई अत्यधिक मत जुटाए । जस्तो कि झापा क्षेत्र नम्बर ५ मा एमालेले समानुपातिकतर्फ पाएको मत ४२ हजार २२५ थियो । ओलीले पनि माओवादी र राप्रपाबाट पाएको मत घटाउँदा लगभग ४२ हजारकै हाराहारीमा मत पाएका थिए । यो तथ्यलाई हेर्दा झापा क्षेत्र नम्बर ५ मा ओली मात्रै होइन, सिंगै एमालेसमेत लोकप्रिय रहेको देखिन्छ ।

तर, ओलीको निर्वाचन क्षेत्रअन्तर्गत स्थानीय तहको ७४ को मत परिणामलाई हेर्दाखेरि चाहिँ एमाले एक्लैले गठबन्धनको सामना गर्नु चुनौतीपूर्ण नै देखिन्छ ।

ओलीको चुनाव क्षेत्रमा दुई वटा नगरपालिका र दुई वटा गाउँपालिका छन् । चार स्थानीय तहमध्ये एउटामा एमाले, एउटामा काँग्रेस र अर्को एउटामा राप्रपाले जितेको छ । बाँकी एउटा स्थानीय तहमा चाहिँ काँग्रेस र एमालेका प्रमुखबीच बराबरी मत हुँदा गोला तानेर एमालेले जितेको अवस्था छ । दमक नगरपालिकामा एमालेले एक्लै जितेको छ । तर, यहाँ राप्रपाले सघाएन भने एमाले एक्लैले माओवादी र काँग्रेसको गठबन्धनलाई जित्न मुस्किल देखिन्छ, २०७४ को परिणाम हेर्दा ।

त्यसैगरी गौरीगञ्ज गाउँपालिकामा त एमाले चौथो स्थानमा छ । कमल गाउँपालिकामा एमाले र काँग्रेसले बराबरी मत ल्याएका छन् । गौरादह नगरपालिकामा २०७४ को चुनावमा काँग्रेसले माओवादीको सहयोगबिनै जीतको झण्डा गाडेको छ ।

स्थानीय तहको यस्तो मतान्तरलाई हेर्दा अनि काँग्रेस र माओवादीबीच गठबन्धन बनेको अवस्थामा झापा क्षेत्र नम्बर ५ मा ओलीको विगतका १४ हजार मतान्तर खल्बलिँदैन पनि भन्न सकिँदैन । किनभने केपी ओली विगतमा झापामा दुईचोटि चुनाव हारिसकेका नेता हुन् । त्यस्तै, २०७४ को चुनावमा बर्दियामा वामदेव गौतमले  काँग्रेससँग २६ हजार मतान्तर जोडेर बसिरहेका बेला ७ सयको मतान्तरले चुनाव हारेको रेकर्ड पनि छ नेपालको चुनावी इतिहासमा ।

तर, झापाका नेपाली काँग्रेसकै नेताहरू पनि केपी ओलीले चुनाव हार्ने सम्भावना कमै रहेको स्वीकार गर्छन् । ओलीको क्षेत्रमा मात्रै होइन, झापा जिल्लाभरि एमाले बलियो रहेको काँग्रेस नेताको स्वीकारोक्ति छ । काँग्रेसका झापाका एक नेताले रातोपाटीसँग भने,‘ यहाँ एमाले विभाजनको पनि खासै प्रभाव परेको छैन, त्यसैले एमालेलाई कमजोर आँक्ने अवस्था छैन । काँग्रेसकै साथीहरूले पनि बाहिर सोचेजस्तो स्थिति छैन झापामा ।’

त्यसो त केपी ओलीसँग गठबन्धनका तर्फबाट को चुनाव लड्छ भन्ने कुराले पनि अर्थ राख्ने काँग्रेस नेताहरू बताउँछन् । ०७४ सालमा पनि काँग्रेसले झापा क्षेत्र नम्बर ५ बाट समानुपातिकतर्फ २२ हजार ५८५ मत ल्याउँदा केपी ओलीका प्रतिद्वन्द्वी खगेन्द्रले ६ हजार बढी अर्थात् २८ हजार मत बटुलेका थिए । यसपटक काँग्रेसले बलियो उम्मेदवार उठाएमा व्यक्तिगत भोट बटुल्न सक्ने सो पार्टीका नेताहरू बताउँछन् ।

त्यसो त नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्माले केपी ओलीसँग चुनाव लड्ने चर्चा पनि चल्ने गरेको छ । तर, एमालेको उम्मेदवार पक्का भइसक्दा पनि त्यहाँ विपक्षी गठबन्धनको उम्मेदवार टुंगो लागेको छैन, जसले गर्दा ओली मैदानमा एक्लै छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप