शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विद्यार्थी नेता अधिकारीको करेन्ट लागेर मृत्यु

सोमबार, २२ कात्तिक २०७८, १४ : ५४
सोमबार, २२ कात्तिक २०७८

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्यार्थी राजनीतिमा सक्रिय रहेका गिरिजा अधिकारीको आज बिहान करेन्ट लागेर उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नेकपा एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका कमिटीका सचिव रहेका अधिकारीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई आफ्नै वडामा बाटो निर्माणका लागि बिजुलीको तार पन्छाउने क्रममा करेन्ट लागेको थियो । जेसिवीको बकेटमाथि चढेर तार पन्छाउने क्रममा उनले ११ हजार भोल्टेजको तार छुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताए ।

करेन्ट लागेर घाइते भएका अधिकारीलाई हेटौंडा अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट रामचन्द्र सापकोटाले बताए । मृतक अधिकारीको पोस्टमार्टमको तयारी भइरहेको उनले बताए । 

नेकपा माओवादी केन्द्रबाट विद्यार्थी राजनीतिमा होमिएका अधिकारी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ राजदेवीका स्थायी बासिन्दा हुन् । उनको २८ वर्षको उमेरमा मृत्यु भएको हो । नेकपा माओवादी केन्द्र विभाजनपछि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा रहेर विद्यार्थी राजनीतिमा निरन्तर लागेका उनी नयाँ शक्ति र जसपाको एकीकरण पछि सो पार्टी परित्याग गरी एमाले प्रवेश गरेका थिए ।

गत भदौमा एमाले विभाजनपछि भने उनी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सदस्य तथा हेटौंडा उपमहानगरपालिका नगर कमिटीको सचिव रहेर काम गरिरहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप