शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विकट जिल्लामा हेलिकप्टरमार्फत टेलिकम उपकरण पुर्‍याइयो, टुजी र फोरजी सेवा सुरु

सोमबार, १३ मङ्सिर २०७८, १३ : ३०
सोमबार, १३ मङ्सिर २०७८

नेपाल टेलिकमले दुर्गम र विकट ८ स्थानमा टुजी र फोरजी सेवा सञ्चालनमा ल्याएको छ । हेलिकप्टरमार्फत उपकरण ढुवानी गरेर टेलिकमले इन्टरनेट सेवा सञ्चालनमा ल्याएको बताएको छ । कम्पनीले सोलुखुम्बुको लुक्ला, स्याङ्बोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दु र गोरखाको छेकम्पार, बिही (गज्र्याङ डाँडा) र न्याकमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो । यसका साथै, मनाङको ओडार भ्यु–प्वाइन्टमा समेत हेलिकप्टरबाट उपकरण ढुवानी गरेर सेवा सञ्चालनमा ल्याइएको बताइएको छ । 

सोलुखुम्बुको लुक्ला साइटबाट खुम्बु पासाङल्हामु गाउँपालिकाका वडा नम्बर २ र ३ का लुक्ला, सुर्के, मुसे, नाजिपाङ, चौरीखर्क, स्याङमा र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा टुजी र फोरजी सेवा उपलब्ध भएको छ । स्याङबोचे एयरपोर्ट साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का वस्तीहरू र नाम्चेबजार साइटबाट वडा नम्बर ३ र ५ का नाम्चे, कोङदे, जोरसल्लो लगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ ।
त्यसैगरी टाक्सिन्दु साइटबाट वडा नम्बर १ का नुनथला, खरिखोला, थामडाँडा, बुप्सा, पान्गोम र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ । 

गोरखाको छेकम्पार साइटबाट चुमनुब्री गाउँपालिका वडा नम्बर ४ अन्तर्गतका छेकम्पार, छोकाङसहित छिमेकी राष्ट्र चीनसँग जोडिएका पर्यटकीय क्षेत्रहरुमा सेवा उपलब्ध भएको छ । गोरखाकै बिही (गज्र्याङ डाँडा) नयाँ साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ५ अन्तर्गत क्वाकडाँडा, बिही गाउँ, सराङ गुम्बा ल्हो, प्रोक, सामा, लार्केपाससहित मनास्लु ट्रेकिङ रुटलगायतका क्षेत्रमा सेवा सुरु भएको छ । यस्तै, न्याक साइटबाट वडा नम्बर ३ अन्तर्गत न्याक, लिक्पा, डेंग, सिर्दिबास फिलिम, भान्सिङ र मनास्लु ट्रेकिङ रुटलगायतका क्षेत्रहरुमा सेवा उपलब्ध भएको छ ।

मनाङको ओडार भ्यु प्वाइन्ट साइटबाट न्यासो गाउँपालिका अन्तर्गत ओडार, नाचे, थोंचे, धारापानी, तिल्चेलगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ । यसैगरी अन्य ३ (तीन) दुर्गम र विकट स्थानहरुमा हेलिकप्टरबाटै सामान ढुवानी गरी निकट भविष्यमा नेपाल टेलिकमले टुजी र फोरजी सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको फाक्दिङ र नाचिपाङ र दार्चुला जिल्लाको व्यास गाउँपालिकाको छाङरु साइटमा टावर स्थापना गरी सेवा सञ्चालन गरिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप