मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : १० हजार कार्यकर्ताको ऱ्याली

नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा
बिहीबार, १६ मङ्सिर २०७८, ०९ : ५४
बिहीबार, १६ मङ्सिर २०७८

नेपाली काँग्रेसको आज हुने बागमती प्रदेश अधिवेशनमा १० हजार जना नेता कार्यकर्ताले हेटौंडामा ¥याली निकाल्ने भएका छन् । प्रदेश अधिवेशनलाई दिउँसो २ बजे भर्चुअल माध्यमबाट प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने जनाइएको छ । समारोहका लागि हेटौंडाको बुद्ध चोकबाट अधिवेशन स्थल वन विज्ञान अध्ययन स्थान (फरेष्ट्री)मा करिब १० हजार जना नेता कार्यकर्ताहरु ऱ्यालीसहित पुग्ने नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता एवम् अधिवेशन सचिवालय संयोजक प्रदिप कोइरालाले जानकारी दिए । अधिवेशन आयोजनास्थलमा ¥याली पुगे लगत्तै सभामा परिणत हुने उनको भनाइ छ ।

प्रदेशका १३ वटा जिल्लाबाट करिव २ हजार १ सय जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने उनले बताए । उनका अनुसार महाधिवेशनमा सहभागी हुन सम्बन्धित जिल्लाबाट चुनिएका प्रतिनिधिहरू हेटौंडा आउने क्रम जारी छ । उनीहरुको बसोबासको प्रवन्ध हेटौंडाका होटलहरूमा मिलाइएको छ ।

यस्तो छ सुरक्षा योजना

काँग्रेसको प्रदेश अधिवेशनका लागि स्थानीय प्रशासनले विशेष सुरक्षा योजना तयार पारेको जानकारी दिएको छ । तीनै तहको सुरक्षा निकायको हिजो भएको छलफलबाट सो योजना कार्यान्वयन गर्ने निर्णय समेत भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

अधिवेशनमा आउने भीआइपीहरुको सुरक्षा केही चुनौतीपूर्ण देखिए पनि त्यस्तो कुनै समस्या नरहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । प्रजिअ पाण्डेका अनुसार काँग्रेसको आन्तरिक कार्यक्रम रहेकाले त्यस्तो कुनै सुरक्षा खतरा नरहेको र बाहिरबाट आएका उच्चस्तरका नेताहरुको सुरक्षाका लागि सुरक्षा निकायलाई अलर्ट राखिएको छ ।

‘थोरै समस्या ट्राफिक व्यवस्थापनमा देखिने भए पनि हामीले निश्चित क्षेत्रमा पार्किङ स्थलको व्यवस्थापन गर्ने र सर्वसाधारणको सहजताका लागि वैकल्पिक सडकहरू पहिचान गरी त्यसको प्रयोग बढाउने तयारी गरेका छौं,’ उनले भने ।

अधिवेशनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरले सिफ्टमा सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङका अनुसार अधिवेशनमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न प्रहरी नायव उपरीक्षकको कमाण्डमा प्रहरी टोली फिल्डमा खटाइने छ ।

प्रत्येक चोकमा सुरक्षाकर्मी तैनाथ रहने गरी एक सिफ्टमा २२५ सुरक्षाकर्मी परिचालन गर्ने योजना रहेको उनले बताए । ट्राफिक व्यवस्थापनका लागि अधिवेशन स्थल भित्र र बाहिरको खुल्ला मैदानलाई पार्किङका रुपमा प्रयोगमा ल्याइने र अपुग भएका बजार क्षेत्रका खुल्ला स्थानमा पार्किङको व्यवस्था गर्ने उनको भनाइ छ ।

अधिवेशनका लागि जिल्लामा मौजुद सुरक्षाकर्मीहरु अपुग हुने भएकाले प्रदेश प्रहरी कार्यालय हेटौंडालाई थप सुरक्षाकर्मी पठाउन अनुरोध समेत गरिएको उनले बताए । देश संघीयतामा गए पश्चात काँग्रेस पहिलो पटक प्रदेश अधिवेशनमा जुटेको हो । आज उद्घाटन हुने प्रदेश अधिवेशनमा मंसिर १७ गते मनोनयन दर्ता र १८ गते मतदान हुने निर्वाचन कार्यतालिका छ ।

प्रदेशमा काँग्रेसले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सह–महामन्त्री र सदस्यहरुसहित नेतृत्व चयन गर्नेछ ।

नेतृत्वका लागि त्रिपक्षीय भिडन्त

काँग्रेसको बागमती प्रदेश सभापतिमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । सभापतिमा देउवा पक्षबाट मकवानपुर जिल्ला सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, कृष्णप्रसाद सिटौला पक्षबाट काठमाडौँ जिल्लाका पूर्वसभापति तथा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधान र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका निवर्तमान सभापतिमा जगदीश्वर नरसिंह केसीले उम्मेदवारी दिने भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप