आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

पठाओ कि मनलाग्दी भाडा ठटाओ ?

‘सर्ज चार्ज’ अर्थात पठाओले यात्रु लुट्ने अस्त्र : न नियमन, न कारबाही !
बिहीबार, २३ मङ्सिर २०७८, ०९ : ०७
बिहीबार, २३ मङ्सिर २०७८

राइड सेयरिङ कम्पनी पठाओले ‘सर्ज चार्ज’का नाममा सेवाग्राहीसँग तोकिएकोभन्दा बढी शुल्क लिन थालेको छ । कम्पनीले व्यस्त समयमा आफ्ना चालकलाई यात्रु बोक्न प्रोत्साहन गर्ने भन्दै सेवाग्राहीसँग आफूखुसी कायम गरेको भाडादरभन्दा ४० प्रतिशतसम्म बढीसम्म शुल्क लिन थालेको हो ।

बिहान÷बेलुका कार्यालय समय र रातका बेला तथा व्यस्त समयमा सेवाग्राहीसँग यस्तो शुल्क लिने गरेको कम्पनीले स्वीकार गरेको छ । कम्पनीका अनुसार राइडर कम हुने समयमा पनि सेवाग्राहीसँग थप शुल्क लिने गरेको छ । यद्यपी, यो शुल्क सेवाग्राहीलाई मार पार्नभन्दा सहजताकै लागि लिएको कम्पनीको दाबी छ ।

सन् २०१८ को सेप्टेम्बरदेखि नेपालमा सञ्चालनमा आएको राइड सेयरिङ कम्पनी पठाओलाई तत्कालीन समयमा ट्याक्सीको विकल्पका रूपमा लिइएको थियो । त्यतिखेर सेवाग्राहीहरू ट्याक्सी चालकको ज्यादती सहनै नसक्ने स्थितिमा पुगेका थिए ।

पठाओलाई ट्याक्सी र सार्वजनिक सवारीको विकल्पको रूपमा प्रयोग गर्न थालिएको थियो । ट्याक्सीको ज्यादती र समयमै पुग्न नसक्ने गरी जाममा फस्ने सार्वजनिक सवारी साधनको उत्कृष्ट विकल्पको रूपमा पठाओ लोकप्रिय बनेको थियो । तर, बंगलादेशी स्वामित्वको यो कम्पनीले लोकप्रियताको फाइदा उठाउँदै यात्रुसँग तोकिएकोभन्दा बढी शुल्क लिन थालेको हो ।

हाल पठाओ दुई पाङ्ग्रेको भाडा प्रतिकिलोमिटर १७ रुपैयाँ र चार पाङ्ग्रेको भाडा प्रतिकिलोमिटर ३९ रुपैयाँ छ । यसअघि दुई पाङ्ग्रेको भाडा १५ रुपैयाँ प्रतिकिलोमिटर र चार पाङ्ग्रेको भाडा ३७ रुपैयाँ प्रतिकिलोमिटर थियो । तेलको मूल्य बढेसँगै पठाओले प्रतिकिलोमिटर २ रुपैयाँले भाडा पनि बढाएको थियो ।

४० प्रतिशतसम्म थप शुल्क

कम्पनीले अहिले ‘पिक आवर’मा एक जना यात्रुसँग १० देखि ४० प्रतिशतसम्म थप शुल्क असुल्ने गरेको छ । पठाओले कार्यालय समय ९ देखि ११ बजेसम्म र ४ देखि ६ बजेसम्म यो शुल्क असुल्ने गरेको हो । यो भनेको कम्पनीले कायम गरेको भाडादरअनुसार यात्रुले तय गरेको कुल दूरीबाट आउने शुल्कमा उक्त प्रतिशतसम्म मूल्य थप हुने हो । 

यस्तै, थोरै संख्यामा पठाओ चालक रहेको स्थानमा धेरै यात्रुसम्पर्कमा आउँदा स्वतः भाडा बढाउने गरेको छ । उदाहरणका लागि कुनै समयमा न्यूरोड क्षेत्रमा पठाओका १०÷२० जना राइडर छन् र सोही समयमा उक्त क्षेत्रमा चालकको संख्याभन्दा बढी संख्यामा रहेका सेवाग्राहीले पठाओमार्फत यात्रा गर्न खोज्दा स्वतः मूल्य बढाउने गरिएको कम्पनीका कर्मचारीहरूले बताएका छन् ।

साथै, चिसोका कारण बेलुका ६ बजेपछि चालक यात्रु ओसारपसार गर्न रुचाउँदैनन् । ‘६÷७ बजेदेखि नै चालक नभएपछि कम्पनीको मूल्य उकालो लाग्छ थाल्छ,’ एक पठाओ चालकले भने, ‘चालक कम भएसँगै हामी चालकलाई यात्रु ओसार्न प्रोत्साहन गर्ने लक्ष्यसहित कम्पनीले थप शुल्क निर्धारण गर्छ ।’ यो बाहेक, बेलुका ९ बजेपछि भाडादर १० प्रतिशतले र १० बजेपछि १५ प्रतिशतले बढाउने गरेको छ ।

राति १२ बजेपछि कोही सेवाग्राहीले पठाओमार्फत यात्रा गर्न चाहेमा १०० प्रतिशतसम्म बढी भाडा तिर्नुपर्छ । यसको अर्थ, कम्पनीले तोकेको प्रतिकिलोमिटर भाडाको दोब्बर भाडा बुझाउनुपर्छ । ‘यसरी थप गरिएको शुल्क पठाओ चालकले नै पाउँछन्,’ ती चालकले भने, ‘त्यस बापतको २० प्रतिशत रकम भने कम्पनीले लैजान्छ ।’

यसरी सेवाग्राहीमाथि ‘सर्ज चार्ज’को भार थोपर्दा चालक मात्रै लाभान्वित नहुने ती चालकले रातोपाटीलाई बताए । उनले भने, ‘चालकसँग कम्पनीले प्रतियात्रा २० प्रतिशत शुल्क उठाउँछ । यसको अर्थ एक जना यात्रुले पठाओमार्फत यात्रा गर्दा एक सय रुपैयाँ शुल्क उठ्यो भने कम्पनीले २० रुपैयाँ पाउँछ । तर, सेवाग्राहीले व्यस्त समयमा ‘सर्ज चार्ज’ तिर्दा उति नै दूरीमा १५० रुपैयाँ उठ्यो भने त्यसबापत कम्पनीले ३० रुपैयाँ पाउँछ । यसरी पठाओ चालकका लागि भनेर ल्याइएको नीतिले कम्पनी समेत लाभान्वित हुन्छ ।’

थप शुल्कले सेवाग्राहीलाई नै फाइदा भएको तर्क

सेवाग्राहीमाथि लगाइएको थप शुल्कको भार सेवाग्राहीकै सुविधाका लागि ल्याइएको कम्पनीको दाबी छ । पठाओकी मार्केटिङ प्रमुख सुरक्षा हमालले कम्पनीको भन्दा चालक र सेवाग्राहीको फाइदा हेरेर यस्तो नीति लिएको बताइन् । उनले रातोपाटीसँग भनिन्, ‘यसबाट कम्पनीलाई कुनै फाइदा छैन । चालक कम भएको समयमा पनि सेवाग्राहीले सेवा पाउन् भनेर बढी शुल्क लिइएको हो ।’

उनले चालक कम भएको समयमा यात्रुको संख्या बढी हुँदा पनि थप शुल्कको लोभमा चालकहरूले सेवाग्राहीलाई सेवा दिउँन भनेर ‘सर्ज चार्ज’ लिने गरेको तर्क गरिन् । ‘सेवाग्राहीलाई सहज रूपमा सेवा दिने लक्ष्यसहित यो व्यवस्था ल्याइएको हो,’ हमालले थपिन्, ‘सर्ज चार्ज को व्यवस्था गरेपछि थप रकम पाइने लोभमा चालक यात्रु ओसार्न आउँछन् ।’

नयाँ दर्ता गर्न २५ सय रुपैयाँ

पठाओ चालकको संख्या बढ्दै गएपछि कम्पनीले चालकका रूपमा आफ्नो सवारी दर्ता गर्न आउने नयाँ चालकसँग २५ सय रुपैयाँ असुल्न थालेको छ । यसअघि पठाओमा आफ्नो सवारी आबद्ध गर्न कूनै शुल्क लाग्दैनथ्यो । अहिले भने जिम्मेवार बनाउन र गुणस्तरीय सेवा दिन भन्दै नयाँ चालकसँग २५ सय रुपैयाँ असुल्न थालेको हो ।

यसअघि, वि.स. २०७६ सालमा लकडाउन भएपछि व्यवस्थित सेवा दिने नाममा कम्पनीले चालकसँग यसैगरी दुई हजार रुपैयाँ असूल्ने गरेको थियो । यद्यपी, उक्त समयमा दुई हजार रुपैयाँ उठाउँदै पठाओको नाम अंकित ज्याकेट, मास्क र स्यानिटाइजर दिएको थियो । अहिले भने कम्पनीले बिना कुनै सेवा चालकसँग रकम असुल्न थालेको हो ।

‘अहिले आबद्ध हुन आउने नयाँ चालकसँग २५ सय रुपैयाँ लिन थालेका छौं,’ हमालले भनिन्, ‘यसरी लिएको करम क्वेस्ट (टार्गेट)का रूपमा उनीहरूलाई नै फिर्ता दिन्छौं । नयाँ चालकले धेरै सेवा दिउन् भनेर निश्चित ‘टार्गेट सेट’ गरेका हुन्छौं । टार्गेट पूरा भएपछि उक्त रकम विभिन्न माध्यमबाट फिर्ता दिन्छौं ।’ कम्पनीले यसो भनेपनि चालकहरूले भने कम्पनीले असुलेको रकम फिर्ता नगरेको गुनासो गरिरहेका छन् ।

यता, सवारीसाधन नियामक यातायात व्यवस्था विभागले भने पठाओले विभिन्न शीर्षकमा खुलेआम ठगी गरिरहँदा पनि कारबाही गरिरहेको छैन । पठाओलाई कारबाही गर्ने कानूनी आधार नभएको तर्क गर्दै विभागका अधिकारीहरू कारबाही गर्नबाट पन्छिने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप