शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विमलेन्द्रमा कति छ पिता महेन्द्रनारायणको लिगेसी ?

बिहीबार, २३ मङ्सिर २०७८, १० : ५१
बिहीबार, २३ मङ्सिर २०७८

नेपाली राजनीतिमा कयौं नेताहरु पारिवारिक विरासत (लिगेसी) का आधारमा राजनीतिमा स्थापित भएको चर्चा हुने गरेको छ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिमाथि पनि पिता महेन्द्रनारायण निधिको लिगेसीका कारण महत्त्वपूर्ण स्थान हासिल गरेको टिप्पणी हुने गर्दछ ।

नेपाली काँग्रेसमा लामो समय काम गरेका सप्तरीका खुशीलाल मण्डलका अनुसार अहिले काँग्रेस सभापतिको उम्मेदवारसम्म बन्ने हैसियतमा पुगेका विमलेन्द्र निधिलाई यो अवस्थासम्म पु¥याउन उनका पिता स्वर्गीय महेन्द्रनारायण निधिको ठूलो योगदान छ । ‘आलोचना गर्नेहरु महेन्द्रनारायण निधिलाई धृतराष्ट्र भन्थे,’ उनले भने, ‘पार्टीमा विमलेन्द्र निधिको पनि कम योगदान त होइन, उनले पनि निकै संघर्ष गरेका छन् तर विमलेन्द्र निधिलाई स्थापित गर्न महेन्द्रनारायण निधिको ठूलो हात छ ।’

विमलेन्द्र निधिले आफ्ना बुवालाई नै राजनीतिक गुरु मान्ने गरेको मण्डलको भनाइ छ । महेन्द्रनारायण निधि काँग्रेसको झापा महाधिवेशनबाट महामन्त्री भएको बेला विमलेन्द्र निधि नेविसंघको अध्यक्ष बनेका थिए । तर महेन्द्रनारायण निधि जसरी धेरै समय महामन्त्रीमा टिकेनन्, त्यसरी नै विमलेन्द्र निधि पनि महामन्त्रीमा टिकेनन् ।

हाल लोकतान्त्रिक समाजवादी पार्टीमा लागेका काँग्रेसका पुरानो नेता मण्डलले भने, ‘महेन्द्रनारायण निधि आदर्शवादी नेता हुनुहुन्थ्यो, त्यसमा कुनै शंका छैन तर उहाँ आफ्नो छोराको नाममा निकै कमजोर हुनुहुन्थ्यो, उहाँले आफ्नो छोरालाई मात्र साथ दिएका कारण जनकपुरका थुप्रैै होनहार नेताहरु पछाडि परे ।’

​२०१२ सालमा जन्मेका विमलेन्द्र निधि २०२७ सालमै नेविसंघका सदस्य भएका थिए । २०२९ सालमा राराब क्याम्पस जनकपुरको स्ववियु सचिव र धनुषा जिल्ला नेविसंघका सचिव भएका उनी २०३३ सालमा नेविसंघका केन्द्रीय सदस्य भएका थिए । २१ वर्षको कलिलो उमेरमा उनी नेविसंघको केन्द्रीय सदस्य भइसकेका थिए ।

‘यति चाँडो पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी पाउनुमा विमलेन्द्र निधिको आफ्नो पनि योगदान थियो तर उनका बुवा नभएको भए सायद यो गतिका साथ उनी माथि पुग्न सक्दैनथे,’ जनकपुरमा उनका साथमा राजनीति गरेका एक नेता भन्छन्, ‘विमलेन्द्र सानैदेखि जुझारु थिए तर उनको टाउकोमा बुवाको हात थियो ।’

२०५१ सालको मध्यावधि चुनावमा महेन्द्रनारायण निधिले चुनाव लड्नुपर्ने थियो तर उनले त्यतिबेला आफ्ना छोरा विमलेन्द्र निधिलाई अघि सारेका थिए । ‘निर्वाचनमा अरुलाई पनि अघि सारेको भए हुन्थ्यो, उम्मेदवार बन्न सक्ने हैसियतमा अन्य धेरै नेता थिए,’ खुशीलाल मण्डल भन्छन्, ‘पार्टीले महेन्द्रनारायण निधिलाई चुनाव लड्न भनेको थियो तर उहाँले आफ्नो छोरालाई अगाडि बढाउनुभयो । त्यतिबेला विमलेन्द्र निधि ४० वर्षका थिए ।’ विमलेन्द्र निधिले सो चुनावमा जित हासिल गरे ।

काँग्रेसको नेतृत्व (सभापति) मा मधेसी मुलबाट एकमात्र व्यक्ति विमलेन्द्र निधिले दाबी प्रस्तुत गरेका छन् । त्यसअघि अरु कसैले यस्तो आँट गरेका थिएनन् । ‘मधेसका अन्य नेता पनि महामन्त्रीसम्म मात्र पुगे, त्यसभन्दा अगाडि बढ्न सकेनन् तर विमलेन्द्र निधिले त्यो आँट देखाएका छन्,’ वृषेशचन्द्र लाल भन्छन्, ‘मधेसका लागि यो नै सबैभन्दा ठूलो कुरा हो । महेन्द्रनारायण निधि पनि लामो समय काँग्रेस रहनुभयो तर यो अवसर उहाँलाई पनि प्राप्त भएको थिएन ।’

काँग्रेसमा दुईपटक महामन्त्री भइसकेका विमलेन्द्र निधि हाल पार्टीमा उपसभापतिको भूमिकामा छन् । तर उनका बुवा महेन्द्रनारायण निधि महामन्त्रीसम्म सीमित रहे । बरु एकपटक विमलेन्द्र निधिका बुवा महेन्द्रनारायण निधिलाई प्रधानमन्त्री बन्ने अवसर आएको थियो तर पार्टीको आन्तरिक द्वन्द्वका कारण उनी प्रधानमन्त्री हुनबाट वञ्चित भए ।

२०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरिरहँदा त्यसलाई रोक्नका लागि सर्वोच्च नेता गणेशमान सिंहले निधिलाई प्रधानमन्त्री बनाउन चाहेका थिए । तर गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सो चुनावमा महेन्द्रनारायण निधिले आफू उम्मेदवार नभइ छोरा विमलेन्द्र निधिलाई अघि सारेका थिए ।

काँग्रेसमा गान्छीवादीको छवि बनाएका महेन्द्रनारायण निधि पार्टीभित्र कृष्णप्रसाद भट्टराई पक्षधर थिए । कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसादबीच द्वन्द्व हुँदा उनी कृष्णप्रसादको पक्षमा उभिन्थे ।’ उनले कृष्णप्रसाद भट्टराईको संरक्षण पाउँदै आएका थिए । कृष्णप्रसाद भट्टराई जीवित रहँदासम्म विमलेन्द्र निधि पनि उनकै अनुनायी थिए । उनको निधन भएपछि विमलेन्द्र निधि देउवाका दाहिने हात भएका थिए ।

२०५९ मा पार्टी विभाजन हुँदा विमलेन्द्र निधिले देउवालाई साथ दिएका थिए र नेपाली काँग्रेस (प्रजातान्त्रिक)को महामन्त्री भएका थिए । २०६३ सालमा दुई पार्टीबीच एकीकरण हुँदा एकता महाधिवेशनबाट पनि निधि महामन्त्री नै भएका थिए । अहिले तिनै विमलेन्द्र निधिले देउवा विरुद्ध सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप