बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेसलाई सुदृढ र एकतावद्ध गर्न मेरो उम्मेदवारी : गच्छदार

शनिबार, २५ मङ्सिर २०७८, १८ : ०७
शनिबार, २५ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएका विजयकुमार गच्छदारले पार्टीलाई सुदृढ र एकतावद्ध गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।

उनले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिएको र आफूले संस्थापन पक्षकै टिमबाट उपसभापति पदमा उम्मेदवारी दिएको भन्दै आफू विजयी भएमा पार्टीलाई बलियो, सुदृढ र लोकप्रिय बनाउन सबैसँग मिलेर काम गर्ने बताए ।

आफू नेपाली काँग्रेसको पुरानो कार्यकर्ता भएको उल्लेख गर्दै उनले संसदीय प्रजातन्त्र र लोकतन्त्रका लागि आफूले ५१÷५२ वर्ष सक्रिय राजनीतिमा बिताएको चर्चा गरे । उनले भने, ‘यो पार्टीमा रहेर लोकतन्त्रका लागि मैले जे लगानी गरेँ, त्यसकै कारणले मलाई पार्टीका महाधिवेशन प्रतिनिधिले मत दिनेमा विश्वस्त छु ।’

आफूले चुनाव जितेमा संगठनलाई बलियो बनाउने, पार्टीका निराश, निस्क्रिय बनेका तमाम कार्यकर्तालाई फेरि पार्टी पंक्तिमा उभ्याएर सक्रिय बनाउने भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

१४ औं महाधिवेशन नै शेरबहादुर देउवाका लागि कार्यकारी भूमिका निर्वाह गर्ने अन्तिम महाधिवेशन भएको भन्दै त्यसपछि पार्टीमा स्वाभाविक रुपमा नेतृत्व परिवर्तन हुने उनले बताए । आफूले तीन पिँढीसँग काम गर्ने मौका पाएको भन्दै युवा पुस्तालाई पनि राम्रोसँग बुझेको र उनीहरुको भावनालाई आफूले पनि उचित प्रतिनिधित्व गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप