मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसका पाँच सहमहामन्त्रीको मत गणना सुरु, ११ जनामा कसले मार्ला बाजी ?

शुक्रबार, ०२ पुस २०७८, १० : ५५
शुक्रबार, ०२ पुस २०७८

नेपाली काँग्रेसका पाँच ‘क्लस्टर’का सहमहामन्त्रीको मत गणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार विहान ११ बजेपछि मत गणना सुरु भएको हो । खस–आर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रको तर्फका सहमहामन्त्रीको मत गणना भइरहेको काँग्रेस निर्वाचन समिति सदस्य तेजबहादुर रावलले रातोपाटीलाई जानकारी दिए । पाँच सहमहामन्त्रीको मतगणना पाँच ठाउँमा भइरहेको उनको भनाइ छ ।

खस आर्य सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट किशोरसिंह राठौर र शेखर कोइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन् । यस्तै थारु कलस्टरमा देउवा समूहबाट उमाकान्त चौधरी र कोइराला समूहबाट तेजुलाल चौधरी उम्मेदवार छन्।

मुस्लिम कलस्टरको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र कोइराला समूहबाट शेख वकिल उम्मेदवार छन्। पिछडिएको क्षेत्र कलस्टरको सहमहामन्त्रीमा देउवा समूहबाट जीवनबहादुर शाही, कोइराला समूहबाट बद्री पाण्डे र निधि समूहबाट चेतराज बराल उम्मेदवार छन् ।

काँग्रेसमा क्लस्टर अनुसार ८ सहमहामन्त्री निर्वाचित हुँदैछन् । महिला, दलित र आदिवासी जनजातितर्फका सहमहामन्त्रीको मतगण्ना बिहीबार सम्पन्न भएको थियो । महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासी जनजाति सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे र दलित सहमहामन्त्रीमा जीवन परियार निर्वाचित भएका छन् । १४ औं महाधिवेशनबाट अहिलेसम्म काँग्रेसका ८ जना पदाधिकारी निर्वाािचत भइसकेका छन् ।

सभापतिमा शेरबहादुर देउवा दोहोरिएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का, धनराज गुरुङ निर्वाचित भएका छन् । यस्तै महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

काँग्रेसमा १३ जना पदाधिकारी निर्वाचनबाट आउँदैछन् भने १२१ जना केन्द्रीय सदस्य पनि निर्वाचन आउनेछन् । केन्द्रीय सदस्यको मतगणना भने पदाधिकारीको सकेर मात्र सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप