मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

शेखर प्यानलबाट सहमहामन्त्रीमा बद्री पाण्डे  निर्वाचित, देउवा पक्षका मुख्यमन्त्री शाही पराजित

शुक्रबार, ०२ पुस २०७८, १६ : ४४
शुक्रबार, ०२ पुस २०७८

नेपाली काँग्रेसको पिछडिएका क्षेत्रतर्फ को सहमहामन्त्रीमा शेखर कोइराला प्यानलका बद्री पाण्डे विजयी भएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा  भएको मतगणनाअनुसार  कोइराला प्यानलका पाण्डे विजयी भएका हुन् ।

सभापति शेरबहादुर देउवा समूहका जीवन शाहीलाई पराजित गरि पाण्डे २४११ मत ल्याएर सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।  कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका शाहीले पाण्डेसँग २७८ मतले पराजय बेहोरेका हुन् । शाहीले २१३३ मत पाएका छन् । यस्तै चेतराज बरालले ९९ मत पाएका छन् ।

को हुन् बद्री पाण्डे ? 
नेपाली काँग्रेसका युवा नेता बद्री पाण्डे २०४३ सालमा बाल्मिकी विद्यालयको नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाई सदस्य भएर राजनीतिमा छिरेका हुन् । बाल्मिकी क्याम्पसको इकाई सदस्य हुँदै उनी स्ववियु सभापतिसम्म भए । उनी स्ववियु परिषदको सभापति पनि भए । २०५० सालमा नेविसंघ बाजुराको अध्यक्ष भएका पाण्डे ०५६ सालमा गोविन्द भट्टराई सभापति भएका बेला केन्द्रीय सदस्य बने । विश्वप्रकाश शर्माका पालामा नेविसंघ सहमहामन्त्री भए ।

गुरुराज घिमिरे र केशव सिंहका पालामा उपाध्यक्ष बनेका उनी महेन्द्र शर्मा नेतृत्वको कार्य समितिमा महामन्त्री भए । प्रदीप पौडेलसँग नेविसंघ सभापतिमा पराजित भएपछि पाण्डे पार्टी राजनीतिमा लागे । काँग्रेसको १२ औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । ०७० मा भएको दोस्रो संविधानसभामा उनी समानुपातिक सांसद भए । १३ औं महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्यमा विजयी भए ।

०७४ को आम चुनावपछि पाण्डे राष्ट्रियसभा सदस्य बने ।​ दुई वर्षे कार्यकालको गोला परेपछि २ वर्षअघि नै उनको कार्यकाल सकिएको छ । त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधि (पीएचडी) सक्ने तयारीमा छन् । यसैबीच १४ औं महाधिवेशनबाट पिछडिएका क्षेत्र सहमहामन्त्री बन्न सफल भएका छन् । कर्णाली प्रदेश मुख्यमन्त्री तथा संघीय सरकारका पूर्व पर्यटनमन्त्री समेत रहेको जीवन शाहीलाई पराजित गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप