शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आईपीएलमा आज : लखनउलाई पहिलो पटक उसैको घरमा हराउने दाउमा मुम्बई

मङ्गलबार, १८ वैशाख २०८१, १० : ३७
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा मंगलबार लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबिच खेल हुँदैछ । उक्त खेल ईकाना क्रिकेट स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । अटल बिहारी बाजपेई स्टेडियम लखनउको घरेलु खेल मैदान हो ।

जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ४८औँ खेल हो । यो सिजनको आईपीएलमा लखनउ र मुम्बई दुबैले आफ्नो १०औँ खेल खेल्न लागेका हुन् । यो सिजन लखनउको तुलनामा मुम्बईको प्रदर्शन निराशाजनक देखिएको छ ।

आईपीएलको इतिहासमा मुम्बई सर्वाधिक सफल क्लब हो । मुम्बईले हालसम्म पाँच पटक आईपीएलको उपाधि जितिसकेको छ । मुम्बईको अतिरिक्त चेन्नई सुपर किङ्सले मात्र पाँच पटक आईपीएलको उपाधि चुम्न सकेको छ । 

जारी सिजनको आईपीएलमा लखनउले यसअघि खेलिएको नौमध्ये पाँच खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । लखनउ १० अंकसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ । मुम्बईले भने यसअघि खेलिएको नौमध्ये तीन खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ ।

मुम्बई ६ अंकसहित तालिकाको नवौँ स्थानमा छ । तालिकामा मुम्बईभन्दा तल रोयल च्यालेन्जर्स बैंगलुरु मात्र छ । अत्यन्तै निराशाजनक प्रदर्शन गरेको बैंगलुरुले यो सिजन आफूले खेलेको १० मध्ये तीन खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । 

००

हेड टु हेडमा लखनउ अगाडि

इन्डियन प्रिमियर लिगको इतिहासमा लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबिच हालसम्म कुल चार खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा लखनउ विजयी भएको । एक खेलमा भने मुम्बईले लखनउलाई हराएको छ । 

लखनउमा भने हालसम्म यी दुई टोलीबिच केवल एक खेल खेलिएको छ । उक्त खेलमा लखनउ विजयी भएको थियो । अघिल्लो सिजनको ईलिमिनेटरमा खेलिएको खेलमा भने मुम्बईले लखनउलाई हराएको थियो । १७औँ संस्करणमा लखनउ र मुम्बईबिच भिडन्त हुन लागेको यो पहिलो पटक हो ।  

००

लखनउको सर्वाधिक रन केएल राहुलको नाममा

जारी सिजनको इन्डियन प्रिमियर लिगमा लखनउका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान केएल राहुल हुन् । उनले हालसम्म १४४.२७ को स्ट्राइकर रेटले कुल तीन सय ७८ रन बनाइसकेका छन् । लखनउका लागि सर्वाधिक विकेट लिने बलर भने यश ठाकुर हुन् । 

यश ठाकुरले नौ विकेट लिएका छन् । रवि बिस्नोईको निरन्तर निराशाजनक प्रदर्शन भने लखनउका लागि सबैभन्दा ठूलो चिन्ताको विषय हो । उनले यो सिजनको आईपीएलमा हालसम्म पाँच विकेटमात्र लिन सकेका छन् । 

००

मुम्बईलाई तिलक वर्मा र जसप्रित बुमराहको भर

यो सिजनको इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सका लागि तिलक वर्माले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले जारी सिजनको आईपीएलमा टोलीका लागि कुल तीन सय ३६ रन बनाइसकेका छन् । यस क्रममा उनले तीनवटा अर्धशतक पनि प्रहार गरेका छन् । 

मुम्बई इन्डियन्सका लागि सर्वाधिक विकेट लिने बलर भने जसप्रित बुमराह हुन् । उनले यो सिजन टोलीका लागि नौ खेल खेल्दै १४ विकेट लिइसकेका छन् । उनी जारी सिजनको आईपीएलमा सर्वाधिक विकेट लिने बलरको सूचिमा पनि पहिलो स्थानमा छन् । 

००

स्पिनरलाई साथ दिने पिच

इन्डियन प्रिमियर लिगमा मंगलबार मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्ट्सबिच खेल हुने ईकाना स्टेडियमको पिच खासगरी स्पिन बलरलाई साथ दिने प्रकृतिको छ । त्यसैले यो स्टेडियममा निकै ठूलो स्कोर बन्ने गरेको पाइँदैन । 

यो स्टेडियममा हालसम्म आईपीएलको १२ वटा खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएको छ । बाँकी पाँच खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । 

एक खेल भने अनिर्णित रुपमा सकिएको छ । यो स्टेडियममा हालसम्म बनेको सर्वाधिक स्कोर आठ विकेट गुमाएर एक सय ९९ रन हो । उक्त स्कोर लखनउ सुपर जाइन्ट्सले यसै सिजनमा पञ्जाब किङ्सविरुद्ध बनाएको थियो । 

००

छैन वर्षाको सम्भावना

इन्डियन प्रिमियर लिगमा लखनउ र मुम्बईबिच खेल हुने दिने मंगलबार लखनउको मौसम सफा रहने छ । मंगलबार लखनउमा वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । लखनउको तापक्रम मंगलबार २४ देखि ४१ डिग्री सेल्सियसको बिचमा रहने छ ।  

००

सम्भावित टोली 

लखनउ सुपर जाइन्ट्स : केएल राहुल (कप्तान एवं विकेटकिपर), क्विन्टन डी काक, दीपक हुड्डा, मार्कस स्टोइनिस, निकोलस पुरण, आयुष बडोनी, कुणाल पाण्ड्या, म्याट हेनरी, रवि बिस्नोई, यश ठाकुर र मोहसिन खान । इम्प्याक्ट प्लेयर ः देवदत्त पाडिकल ।

मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, ईशान किशन (विकेटकिपर), तिलक वर्मा, नेहाल वाधेरा, टिम डेभिड, मोहम्मद नाबी, पियुष चावला, ल्युक वुड, जसप्रित बुमराह र नुवान तुषरा । इम्प्याक्ट प्लेयर ः सूर्यकुमार यादब । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप