मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

महाधिवेशनमा पराजित मुख्यमन्त्री शाही भन्छन्, ‘बीचैमा छोड्नु मेरो धर्म र नैतिकता होइन’

शनिबार, ०३ पुस २०७८, ०९ : २६
शनिबार, ०३ पुस २०७८

कर्णालीका मुख्यमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता जीवनबहादुर शाही पार्टी भित्रको आन्तरिक चुनावमा पराजित हुन पुगेका छन् । शुक्रबार पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदको मतगणना हुन केही समयअघि मात्रै टेलिभिजनसँगको अन्तरवार्तामा आफू जित्नेमा ढुक्क भएको बताएका थिए । ‘बुढानीलकण्ठबाट म सर्वसम्मत भइसकेको मान्छे हुँ । म निर्विरोध हुँ,’ उनले भनेका थिए । तर, सह–महामन्त्रीको अन्तिम मत परिणाम सार्वजनिक हुँदा भने उनको दाबीले फेल खायो । उनी सह–महामन्त्रीमा शेखर कोइराला प्यानलका बद्री पाण्डेसँग हार्न पुगे । सभापति शेरबहादुर देउवा समूहका शाहीले पाण्डेसँग २७८ मतले पराजय बेहोरेका हुन् । 

उनी पराजित भएसँगै सामाजिक सञ्जालमा उनले ‘रक्षामन्त्री मिनेन्द्र रिजालले जस्तै नैतिकता प्रदर्शन गर्छन् या गर्दैनन् ?’ भनेर प्रश्न उठ्न थाल्यो । डा. रिजालले चौधौँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि रक्षामन्त्रीबाट राजीनामा दिएका थिए । रिजालले राजनीतिमा बिरलै देखिने नैतिकता देखाएको भन्दै उनको प्रशंसा भइरहेको छ । मुख्यमन्त्री शाही पनि आफूभन्दा जुनियरसँग सहमहामन्त्रीमा पराजित भएपछि के गर्लान् भन्ने सबैले चासोका साथ हेरेका थिए । उनी उच्च ओहोदामा रहेर काँग्रेसभित्र चुनाव हार्ने दोस्रो ठुलो नेता हुन् ।

तर मुख्यमन्त्री शाही मुख्यमन्त्री पदबाट राजीनामा नदिने पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले शनिबार बिहानै एक सूचना जारी गर्दै  कसम खाँदै आफूप्रतिको विश्वासलाई जाँतोमा पिल्सिन नदिने बताएका छन् । उनले भनेका छन्,‘ तपाईंहरूको म प्रतिको माया, स्नेह, साथ, सहयोग, समर्थन र शुभेच्छाको म सदैव ऋणी रहिरहनेछु र तपाईंहरूको म प्रतिको विश्वासलाई जाँतोमा पिल्सिन नदिने कसम खाँदै मेरा जीवनबूटीलाई धोका दिएर बीचैमा छोड्नु मेरो धर्म र नैतिकता होइन ।’

नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा प्राप्त जनमतबाट मलाई सुदृढ र संगठित काँग्रेस निर्माणको यात्रामा थप ऊर्जा र हौसला प्रदान भएको छ। काँग्रेसलाई गतिशील बनाउन म झन् सक्रिय रही रहनेछु। आगामी दिनमा विचलित नभई  भूमिकामा देश,पार्टी र जनताको पक्षमा लागी रहने प्रण गर्दछु।’

उनले भने,‘मैले हारे पनि काँग्रेसले नै जितेको छ। विजय मात्र लोकतन्त्रको परिभाषा होइन अनि पराजय पनि अन्तिम र मृत्यु होइन बरु सफलताको आधार हो । काम गर्नका लागि पार्टीमा पद भइराख्नु पर्छ भन्ने छैन, लिडरसिप भनेको पोष्ट होइन यो त भिजन हो अनि पर्सन होइन ‘एक्सन’ हो ।’

साथै मुख्यमन्त्री शाहीले लोकतन्त्रको सुगन्ध तथा सौन्दर्य भनेकै आवधिक निर्वाचन भएकाले निर्वाचन प्रणालीमा हार र जित खेलको स्वाभाविक र प्राकृतिक नियम भएको उल्लेख गरेका छन् । आफूलाई लोकतन्त्रको बफदार सिपाही भएको बताउँदै उनले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धा वा मित्रवत् खेलमा यी सबै कुराको हेक्का राखी पिछडिएको क्षेत्र सहमहामन्त्री पदको लडाइँमा भाग लिएको बताएका छन् । उनले भनेका छन्,‘म पार्टीको आन्तरिक प्रतिस्पर्धाको खेलमा प्राप्त अङ्कको परिणाममा यो पटक छनोटमा पर्न सकिनँ, तर पनि मत जित्न नसके पनि मन जित्न सफल भएको छु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप