शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेमा ‘विद्रोह’ गरेका पूर्वसांसद भन्छन् – केपी ओली मुठ्ठीभर दलालको कब्जामा परे

‘ओलीको भ्रम चुनावमा तोडिन्छ’
सोमबार, १२ पुस २०७८, १४ : ४७
सोमबार, १२ पुस २०७८

नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष केपी ओलीको तजबिजमा गरिएको पार्टीको केन्द्रीय नेतृत्वको चयनप्रति असन्तुष्टि देखिन थालेको छ । यही क्रममा नेकपा एमालेमा रहेर झण्डै ४० वर्ष राजनीति गरेका सिन्धुपाल्चोकका पूर्व सांसद सुवास कर्माचार्यले ओलीविरुद्ध विद्रोह गरेका छन् । 

नेता कर्माचार्यले आइतबार पार्टी परित्याग गरेको घोषणा गरेपछि सिन्धुपाल्चोक एमालेमा हलचल पैदा भएको छ । कर्माचार्यको घोषणापछि जिल्लाका धेरै नेता कार्यकर्ताले एमाले छोडेको घोषणा गर्न थालेका छन् । ३५÷३६ को कम्युनिस्ट आन्दोलनमा सक्रिय हुँदै एमाले राजनीतिमा प्रवेश गरेका कर्माचार्य २०४५ देखि ०५६ सम्म सिन्धुपाल्चोक जिल्लाको पार्टी उपप्रमुख, २०५६ देखि ०६४ सम्म जिल्ला कमिटी प्रमुख रहेर काम गरेका थिए । त्यस्तै उनी २०५१, ०५६, ०६४ र ०७० मा चारपटक एमाले पार्टीबाट प्रतिनिधिसभाको उम्मेदवार बने । उनी २०५६ मा भएको चुनाव निर्वाचितसमेत भएका थिए । 

ओलीले नेतृत्व गरेको पार्टी दिनप्रतिदिन संगठनात्मक, वैचारिक, कम्युनिस्ट आन्दोलनको मूल्यमान्यता, आदर्श, विचार र नीतिबाट स्खलित हुँदै गएको निष्कर्षसहित आचार्यले पार्टी छोडेको बताएका छन् । प्रस्तुत छ उनै कर्मचार्यसँग गरिएको कुराकानी :

४० वर्षभन्दा बढी समय एमालेमा सक्रिय राजनीति गर्नुभयो । तर अहिले अचानक किन पार्टी परित्याग गर्नुभयो  ?

पहिलो कुरा त मैले पार्टी छोडेको होइन, विद्रोह गरेको हो । नेकपा एमाले हामीहरूले नै बनाएका हौँ । हजारौँ कार्यकर्ताको त्याग, बलिदान र मेहनतबाट एमाले बनेको हो । त्यसकारण यसलाई नेकपा एमालेभित्र अहिले नेतृत्वमा देखापरेका गलत प्रवृत्ति, सोच, व्यवहारका विरुद्ध गरिएको विद्रोह हो भनेर बुझ्नुपर्छ । पार्टी परित्याग र छोडेको नभई गलत कुराविरुद्धको विद्रोह हो । किनभने खासगरी केपी ओलीले नेतृत्व गरेको पार्टी दिनप्रतिदिन संगठनात्मक हिसाबले, वैचारिक हिसाबले कम्युनिस्ट आन्दोलनको मूल्यमान्यता, आदर्श, विचार र नीतिबाट स्खलित हुँदै गएको छ । एमाले पार्टी नभएर ओलीका भजन गाउनेहरूको भजन मण्डली बनेपछि यसका विरुद्ध विद्रोह नगर्ने हो भने नेपालको कम्युनिस्ट पार्टी विसर्जनको दिशातिर जाने भएकाले मुलुकको कम्युनिस्ट आन्दोलन जोगाउन र जगेर्ना गर्नका लागि मैले विद्रोह गरेको हुँ ।

तपाईंहरु जस्ता नेता कार्यकर्ताहरूको विद्रोहले केपी ओली सच्चिएलान् त ?  

मजस्ता धेरै नेता कार्यकर्ताले केपी ओलीका विरुद्धमा विद्रोह गर्नुपर्छ र गर्दैछन् पनि । पार्टीलाई नयाँ ढङ्गको पुनर्गठन आवश्यक छ । हामी हेरिरहेका छौँ, विचार मिल्ने पार्टीमा म लगायतका साथीहरू समाहित हुन्छौँ । अन्याय सहेर बस्नुभन्दा विद्रोह गर्नु नै उपयुक्त ठानेर हामी यो निर्णयमा पुगेका हौँ । गलत कुराको साक्षी भएर बस्नुभन्दा लाक्षीपन केही हुँदैन । संघर्ष भनेको पार्टीभित्र बसेर र बाहिर बसेर पनि हुन्छ । अब हामी यसकाविरुद्ध विद्रोह गर्दै संघर्ष गर्ने योजनाका साथ आएका छौँ । त्यसका लागि हामीलाई पार्टी चाहिन्छ । त्यो पार्टी हामी चयन गर्छौँ र अघि बढ्छौ ।

तपाईंले ओली प्रवृत्तिका विकृति के–के देख्नुभयो ?

दुईवटा कुरा छन् । एउटा कुरा ओलीले पार्टीलाई विधि र विचार हो भन्ने बुझेनन् । उहाँले पार्टी सञ्चालनका आधारभूत विधिहरूलाई अस्वीकार गर्नुभयो । पार्टीलाई सामूहिकता होइन, कम्पनीको रूपमा अघि बढाउन खोज्नुभयो । पार्टीभित्र आन्तरिक जनवाद हुन्छ, छलफल हुन्छ, बहस हुन्छ तर ओलीले ती सबै कुरालाई अस्वीकार गर्नुभयो । त्यसकारण एमालेभित्र अव विधि रहेन । 

अर्को कुरा हो विचार । हामीले समृद्ध समाजवादलाई परिलक्षित गरेर अघि जाने जाने निष्कर्ष निकालेका थियौँ तर पार्टी नेतृत्वमा बस्दा होस् वा सरकारमा बस्दा नै किन नहोस्, उहाँ समाजवादतर्फ जान चाहनुभएन । जनताका आधारभूत कुराहरूलाई परिवर्तन गर्ने कुरा, जनताका समस्या समाधान गर्ने दिशातर्फ उहाँ अघि बढिरहनुभएको छैन । उहाँ केही हुनेखाने मानिसहरूको घेराबन्दीमा बस्नुहुन्छ तर कुरा परिवर्तन र जनताको गर्ने गर्नुहुन्छ । मुठ्ठीभर दलालहरूको कब्जामा ओली परेकाले पार्टीभित्र कुनै विधि स्थापित हुन सकेन, यो भनेको वैचारिक र संगठनात्मक रूपले स्खलित हुनु हो र कम्युनिस्ट आन्दोलनको समाप्ति पनि हो ।

तपाईंलाई पहिला पनि माधव नेपाल निकटको नेता भनेर चिनिन्थ्यो । अहिले नेता नेपालले ओलीसँग विद्रोह गरेर अलग पार्टी बनाउनुभएको छ । तपाईंको पनि आगामी यात्रा सोही पार्टीबाट अघि बढ्छ या अरू कुनै पार्टीमा जानुहुन्छ ?

राजनीतिक निर्णय भनेको व्यक्तिगत मात्रै नभई सामूहिक निर्णयमा हुने कुरा हो । हामी जहाँ छौ त्यहाँ समूह छ, धेरै साथीहरू हुनुहुन्छ । हामीले विद्रोहको बिगुल बजाएका छौँ । त्यसैले हाम्रो समूह सक्रिय राजनीति र कम्युनिस्ट आन्दोलनभित्रै रहन्छ । हिजो बोकेको विचार र दृष्टिकोणबाट हामी विचलित भएका छैनौँ । त्यसैले अहिले नै यो गर्ने भनेर निष्कर्ष पनि निकालिसकेको छैन । तर, तपाईंले बुझ्दा हुन्छ हामी जोसँग दृष्टिकोण र व्यवहार मिल्नपुग्छ त्यसैमा संगठित भएर, संगठित बनाएर केपी प्रवृत्ति विरुद्धमा उभिने नै हो ।

४० वर्ष लामो एमालेसँगको सहयात्रा टुङ्ग्याउनुपर्दा कुनै पछुतो लागेको छैन ?

मलाई कुनै पछुतो छैन किनभने राजनीतिक यात्रामै रहेर गलत प्रवृत्ति र सोचका विरुद्धमा लड्ने निर्णय गरेको हुँ । यसलाई क्रान्तिकारी विद्रोह भनेर बुझ्नुपर्छ । यो कुनै व्यक्तिगत असन्तुष्टि, व्यक्तिगत चाहाना पुरा गर्न नपाएर र अपेक्षा पुरा नभएर गरिएको होइन । बरु म गर्व गर्छु किनभने मेरो कदम पार्टी र कम्युनिस्ट आन्दोलन जोगाउने कुरा हो । आन्दोलनलाई सही क्रान्तिकारी दिशामा अघि बढाउन खबरदारी गर्ने कुरा हो । कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाउने अभियान नै भएकाले पछुताउनु पर्ने त कारण नै छैन ।

त्यसो भए तपाईंजस्ता अरू नेता कार्यकर्ता पनि पार्टी छाड्ने मनस्थितिमा पुगेका हुन् ?

तपाईंले ठिक भन्नुभयो । धेरै नेता कार्यकर्तामा असन्तुष्टि र विद्रोहको भावना बढ्दै गएको छ । हामीमा अन्तिम समयसम्म पनि केपी ओली सच्चिनुहुन्छ कि भन्ने थोरै आशा थियो । नेकपा एमाले विभाजित हुँदा देशको लोकतन्त्र कमजोर हुन्छ कि, कम्युनिस्ट आन्दोलनमा समस्यामा पर्छ कि भन्ने थियो । एकताको महाधिवेशन पनि भन्नुभयो उहाँले । त्यसैले उहाँलाई सुधार्न सकिन्छ कि भनेर हामीले प्रयत्न गरेका हौँ । तर उहाँमा हिजोको भन्दा पनि तानाशाही, अधिनायकवादी सोच देखिएपछि हामी यो निर्णयमा पुगेका हौँ । यो खालको सोच राख्ने पार्टी बर्बाद भएको हामीलाई थाहा छ । जब पार्टी र नेतृत्वले गलत नीतिको अख्तियार गर्छ, नेतृत्व गलत हातमा पुग्छ, संसारका ठुला आन्दोलन समाप्त भएका उदाहरण छन् । 

हिजो जनताले त्यति धेरै ठुलो जनमत दिएका हुन् कम्युनिस्टहरूलाई तर आज के भयो ? दुई ध्रुवमा रहेका कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुन्छौँ भनेपछि जनताले मत दिएका होइनन् ? तर आज त्यो जनमत एकपछि अर्को गर्दै किन ढलिरहेको छ ? यद्यपि केपी ओलीले अझै पनि भनिरहनुभएको छ–म दुई तिहाइ ल्याउँछु भनेर । त्यो घमण्ड, आत्मरति र भ्रम मात्र हो । धरातल हेर्ने हो भने के साँच्चै अव नेकपा एमालेले दुई तिहाइ ल्याउने अवस्था छ ? छैन । मलाई लाग्छ ओलीको यो भ्रम स्थानीय तहको चुनावदेखि राष्ट्रिय तहको चुनावसम्म पुग्दा सबै सकिन्छ । र, मलाई लाग्छ केपी प्रवृत्ति कमजोरमात्र होइन, समाप्त नै हुन्छ । त्यो प्रवृत्ति समाप्त भएर नै नेपालको कम्युनिस्ट आन्दोलन नयाँ शिराबाट एकताको निर्माण गरेर अघि बढ्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप