शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पार्टीको तत्कालीन नीति, योजना र कार्यक्रमबारे प्रचण्ड : सोसल मिडियाको अधिकतम उपयोगदेखि सांस्कृतिक रूपान्तरणसम्म

'पार्टीमा यौन अनैतिकता र पैसाप्रतिको आशक्ति बढ्यो'
मङ्गलबार, १३ पुस २०७८, ०० : ३२
मङ्गलबार, १३ पुस २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा सोमबार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रचण्डले सो प्रतिवेदनलाई '२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो' नाम दिएका छन् । 

प्रतिवेदनमा प्रचण्डले पार्टीका तत्कालीन नीति, योजना र कार्यक्रमको रूपरेखा प्रस्तुत गरेका छन् । समायोजनको रणनीति र समाजवाद उन्मुख समृद्धिको कार्यनीति अन्तरगत जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादको आधार निर्माण गर्न प्रचण्डले तत्कालीन नीति, योजना र कार्यक्रम तय गरेको उल्लेख गरेका छन् ।

यसमा पार्टी प्रशिक्षणको सञ्चालन, मुखपत्र लगायत पार्टीको प्रकाशन र स्कूलिङका लागि सामाजिक सञ्जालको अधिकतम प्रयोग गने बताएका छन् । उनले संगठात्मकरुपले पार्टीलाई जनवादी केन्द्रीयताको सिद्धान्त अनुसार सञ्चालन गर्न जोड दिनुपर्ने जिकिर गरेका छन् ।

प्रतिवेदनमा केन्द्रीय कमिटीदेखि टोल, सेल कमिटीसम्म आलोचना आत्मालोचनाको प्रक्रियालाई पुनर्स्थापित गर्ने योजना पनि प्रस्तुत गरिएको छ । पार्टीमा अनुशासन, विधि र व्यवस्थापनलाई प्रभावकारी रूपले कार्यान्वयन गर्ने र कुनै पनि स्तरका निर्वाचित पदाधिकारीले पार्टीको हित अनुसार काम नगरे वा गर्न नसकेका कमिटीले फिर्ता बोलाउन सक्ने र कमजोरीको प्रकृति अनुसार अनुशासनको कारबाही गर्न सक्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रचण्डले पार्टीका नेता कार्यकर्तालाई उत्पादन, श्रम एवम् श्रमिक जनसमुदायसँग जोड्ने कार्ययोजना बनाई कार्यान्वयन प्रक्रियालाई अघि बढाउने प्रतिवेदनमा बताएका छन् । कमिटीका बैठकहरूमा ६ महिनामा कम्तीमा एक पटक आर्थिक हिसाब प्रस्तुत गर्ने र भ्रष्टाचार विरोधी अभियान चलाउने कुरा पनि उल्लेख गरेका छन् । 

उनले सांस्कृतिक रूपान्तरणको प्रश्न क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको अनिवार्य सर्त भएको बताउँदै सांस्कृतिक रूपान्तरणको विषयलाई प्रत्येक कमिटीले व्यवहारमा उतार्न योजनबद्ध पहल गर्नुपर्ने बताएका छन् । जनताले माओवादी र अन्य पार्टीमा खासै भिन्नता नदेखिएको बताउँदै उनले पार्टीमा कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्ति बढ्दो रहेको ठहर गरेका छन् । 

उक्त प्रतिवेदनमा वर्तमान परिस्थितिको समीक्षा, राष्ट्रिय राजनीतिको परिस्थिति, विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य, समाजवादी क्रान्तिको रणनीति र कार्यनीतिबारे, समाजवादको आधार निर्माणसँग सम्बन्धित सैद्धान्तिक प्रश्नहरू, पार्टीका तत्कालीन नीति, योजना र कार्यक्रमको रूपरेखालगायत विषयहरू उल्लेख छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप