शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पैसाको आसक्ति र यौन अनैतिकता त्याग्न प्रचण्डको आग्रह

मङ्गलबार, १३ पुस २०७८, १२ : ४२
मङ्गलबार, १३ पुस २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांस्कृतिक रुपान्तरण जरुरी रहेको बताएका छन् । त्यसका लागि उनले पार्टीका समग्र नेता कार्यकर्ताको जीवनशैलीदेखि लुवाइखुवाई, कमिशन, भ्रष्टाचार र यौन अनैतिकता त्याग्न जरुरी रहेको बताएका छन् । साथै उनले पार्टी, पार्टीका जनवर्गीय संगठनहरु उत्पादन र विकास निर्माणमा सहभागी हुनुपर्ने तथा शिक्षा, स्वास्थ्य र समाजिक सुरक्षालाई सुधार गरेरमात्रै समाजवादको आधार तयार हुने बताएका छन् ।

पार्टीको जारी ८ औं महाधिवेशनमा प्रचण्डले पेश गरेको ‘२१ औं सताव्दीमा नेपाली समाजवादको बाटो’नामक राजनीतिक प्रतिवेदनमा पार्टीले अवलम्बन गर्नुपर्ने तात्कालिन नीति, योजना र कार्यक्रमबारे बुँदागत रुपमा खुलाएका हुन् । समायोजनको रणनीति र समाजवाद उन्मुख सम्मृद्धिको कार्यनीति अन्तर्गत जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादको आधार निर्माण गर्न मुख्यगरी सात वटा काम गर्नुपर्ने प्रचण्डको दस्तावेजमा उल्लेख छ ।

पार्टीले गर्नुपर्ने मुख्य काम

प्रचण्डले जनवादी केन्द्रीयताको सिद्धान्त र पार्टीको विधि विधानको पालनमा जोड दिदै सामुहिक निर्णय व्यक्तिगत जिम्मेवारी, अभिव्यक्तिमा स्वतन्त्रता, कामकारवाहीमा एकरुपता, सामूहिकताको केन्द्रीकृत, अभिव्यक्तिका रुपमा नेतृत्व निर्माण, रक्षा र विकासमा जोड दिएका छन् ।

त्यस्तै प्रचण्डले पार्टीका सवै कमिटी र पार्टी सदस्यहरु महाधिवेशनको मातहत रहने मान्यतालाई पालना गराउने काममा जोड दिनुपर्ने दस्तावेजमा उल्लेख छ । उनले पार्टी केन्द्रीय कमिटीदेखि टोल र सेल कमिटीसम्म आलोचना आत्मालोचनाको प्रक्रियालाई पुनःस्थापित गर्नुपर्ने भन्दै पार्टी कमिटी ठूला भएकाले प्रत्येक कमिटीकै बैठकको अन्त्यमा पदाधिकारीको एकएक आलोचना र आत्मालोचना गराउने नीति लिनुपर्ने उल्लेख गरेका छन् ।

‘पार्टीमा अनुशासन, विधि, र व्यवस्थापनलाई प्रभावकारी रुपले कार्यन्वयन गर्न पार्टीका केन्द्रीय निकायहरुले विशेष ध्यान दिन र जोड लगाउन पर्नेछ । कुनैपनि स्तरका निर्वाचित पदाधिकारीले पार्टीको हितअनुसार काम नगरेमा वा गर्न नसकेमा कमिटीले फिर्ता बोलाउन सक्ने र कमजोरीको प्रकृति अनुसार कारवाही गर्ने’, प्रचण्डले आफ्नो दस्तावेजमा कठोर नीति लिएका छन् ।

​प्रचण्डले समाजवादको आधार तयार गर्ने अर्को महत्वपूर्ण विषय पार्टीका नेता कार्यकर्ताहरुलाई उत्पादन, श्रम, एवं श्रमिक जनसमुदायसँग जोड्न सवै तहका पार्टी कमिटीहरुले आ–आफ्नो स्तरमा ठोस कार्ययोजना बनाइ कार्यान्वयन प्रक्रियालाई अगाडि बढाउन जोड दिएका छन् । त्यसो गर्दा समुदायको विकास निर्माणको आवश्यक्ता र उत्पादन बृद्धिका कामलाई विशेष ध्यान दिनुपर्ने प्रचण्डको भनाइ छ ।

‘यो प्रक्रियालाई पार्टी र जनसमुदायको सांस्कृतिक रुपान्तरण एवं चेतना अभिबृद्धिका कार्यक्रमहरुसँग जोडेर लैजाने । यस प्रक्रियामा कमरेड माओले एउटा इकाइको शल्यक्रियाबाट समग्रको ज्ञान प्राप्त हुन्छ भनेझै प्रत्येक केन्द्रीय र प्रदेश सदस्यले एउटा निश्चित वार्ड वा उत्पादन कमिटीलाई नमुनाको विकास गर्ने’, प्रचण्डले आफ्नो दस्तावेजमा भनेका छन् । पार्टीका प्रत्येक कमिटीले आर्थिक अनुशासन कायम गर्नुपर्ने भन्दै उनले कमिटीका बैठकमा कम्तिमा ६ महिनामा एक पटक आर्थिक हिसाव प्रस्तुत गर्नैपर्ने उल्लेख गरेका छन् ।

समाजवादउन्मुख आधार निर्माण गर्ने इकाइका रुपमा स्थानीय स्तरमा सामुहिक उत्पादन टोली, सामुहिक श्रम टोली बनाएर काम अघि बढाउँदा गरीवी, अभाव र संकटमा रहेका कार्यकर्ताहरुको संरक्षण कोष खडा गर्न सकिने प्रचण्डको भनाइ छ । त्यस्तै पार्टी सुदृढीकरण र विस्ताको अभियानलाई नियमित रुपमा सञ्चालन गर्दै सांस्कृतिक रुपान्तरणमा जोड दिएका छन् । प्रचण्डले आफ्नो दस्तावेजको तात्कालिन नीतिअन्र्तगत सात नम्बर बुँदामा सांस्कृतिका रुपान्तरणको प्रश्न क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको अनिवार्य सर्त भनेका छन् ।

‘पार्टीका नेता कार्यकर्ताको दैनिक आचरण, सम्पर्क, सम्बन्ध, जीवन पद्धति, लवाइ खुवाई, यौन जीवन, आर्थिक र पारिवारिक सम्बन्ध, विज्ञानको ज्ञान, वर्ग चेतना, श्रम उत्पादन, अध्ययन अनुसन्धान, नेता, कार्यकर्ता र जनताका बीचको सम्वन्ध, वैयक्तिक सामुहिक र सार्वजनिक जीवन आदिका रुपमा पार्टी सांस्कृतिक स्तर र पहिचान व्यक्त भइरहेको हुन्छ’, प्रचण्डले सांस्कृतिक रुपान्तरणलाई जोड दिँदै भनेका छन् ।

सोही बुँदामा प्रचण्डले यस सवालमा अन्य पार्टी भन्दा आफ्नो पार्टीमा फरक नरहेको भन्दै कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आसक्ति बढ्दो रहेको बताएका छन् । ‘कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आसक्ति बढ्दो छ’, यसलाई बदल्न नसके क्रान्तिकारी पार्टी नबन्ने प्रचण्डको भनाइ छ ।

‘यो स्थितिलाई बदल्न नसक्ने हो भने क्रािन्तकारी पार्टी र उन्नत संस्कृतिसहित समाजवादको यात्रामा अगाडि बढ्न सम्भव छैन । अतः सांस्कृतिक रुपान्तरणको विषयलाई प्रत्यक कमिटीले विचार, राजनीतिक, संगठन र आचरणको तहबाट गम्भीर बहस छलफलसहित साझा निश्कर्षका लागि विभिन्न जोड गर्ने तथा व्यवहारमा उतार्न योजनावद्ध पहल गर्नुपर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप