शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आयोजनाको समयावधि नलम्ब्याउन लगानीकर्तासँग अर्थमन्त्रीको आग्रह

सोमबार, १९ पुस २०७८, १६ : १०
सोमबार, १९ पुस २०७८

अर्थमन्त्री जनार्दन शर्माले निर्माण अवधि लम्बिँदा आयोजनाको लगानीसँगै घाटा बढ्ने बताएका छन् । उनले आयोजनामा विभिन्न समस्या देखाएर निर्माण अवधि लम्ब्याउँदा लगानीकर्ताकै लगानी बढ्ने बताएका हुन् । 

आज लगानी बोर्डको कार्यालयमा लगानीकर्ताहरूसँगको छलफलमा अर्थमन्त्री शर्माले आयोजनाको अवधि नबढाउन अनुरोध गरे । उनले आयोजनामा रहेका समस्याका बारेमा मन्त्रालयलाई समयमै जानकारी दिन समेत आग्रह गरेका छन् । ‘एउटा आयोजनाको फाइल डेढ महिनादेखि रोकिएको भनेर भर्खर जानकारी गराउनुभयो’, उनले भने, ‘यस्तो जानकारी समयमै हामीलाई गराउनुहोला । यसले सरकारलाई सहजीकरण गर्न र समस्याको समाधान गर्न छिटो अनि सहज हुन्छ ।’

फाइल नै अड्किँदा आयोजनाको समयावधि लम्बिने र घाटा हुने बताउँदै उनले समय नै सबैभन्दा ठुलो पुँजी भएको बताए । ‘प्रोजेक्टको समय बित्ने भनेको हाम्रो लगानी बढ्ने हो । अर्को ढङ्गले भन्ने हो भने हामीलाई घाटा हुने हो । व्यावसायिक रूपले हेर्ने हो भने पनि समय बिलकुलै लम्ब्याउनु हुँदैन’, उनले भने ।

नेपाललाई वैदेशिक लगानी आवश्यक रहेको बताउँदै मन्त्री शर्माले त्यसका लागि सरकारले पुराना लगानीकर्तालाई थप लगानी गर्न उत्प्रेरणा जगाउने तथा नयाँ लगानीकर्तालाई समेत लगानीका लागि वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको र त्यस्ता लगानीले मुलुकको विकासमा महत्त्वपूर्ण योगदान हुने भन्दै उनले उचित सेवा सुविधाको व्यवस्था गर्ने आश्वासन समेत दिए ।

लगानी बोर्डको उपाध्यक्ष समेत रहेका उनले लगानी र आयोजनामा रहेका समस्या, अहिलेको अवस्था र समाधानका उपायसहितको टिपोट बनाएर दिन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई निर्देशन दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप