शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसमा काँग्रेसको जिल्ला अधिवेशन : देउवाको कोपभाजनमा निधि

मङ्गलबार, ०४ माघ २०७८, १७ : ३२
मङ्गलबार, ०४ माघ २०७८

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले चौधौं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध सभापतिमा उम्मेदवारी दिएका थिए । महाधिवेशन सकिइसकेको छ र परिणाम पनि आइसकेको छ । तर, मधेसको काँग्रेस राजनीतिमा देउवा–निधि प्रतिस्पर्धाको असर दीर्घकालसम्म पर्ने संकेत देखिएको छ । महाधिवेशनको बाछिटा प्रदेश अधिवेशनसम्म परेको थियो, अब जिल्ला अधिवेशनहरूमा पनि निधि–देउवा अन्तरविरोध प्रकट हुँदैछ ।   

केन्द्रमा निधि लामो समयसम्म सभापति देउवा गुटमै थिए । तर, चौधौं महाधिवेशनमा देउवाविरुद्ध सभापतिमा उम्मेदवारी दिएसँगै दुईजनाको बीचमा दुरी बढेको हो । महाधिवेशन अघिदेखि नै देउवा पक्षले निधिलाई केन्द्रदेखि प्रदेश तथा जिल्लासम्म एकल्याउन थालेको हो । सभापतिमा २५० मत ल्याएर पराजित भएका निधि अहिले महाधिवेशनकै असरका कारण प्रदेशदेखि जिल्लासम्म देउवा समूहको प्रहार खेप्नुपरेको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले अहिले मधेस प्रदेशमा निधिको विकल्पमा महेन्द्र यादवलाई अगाडि बढाएका छन् । मधेसको काँग्रेस राजनीतिमा लामो समय केन्द्र भागमा रहेका निधि अहिले कमजोर बन्ने क्रम शुरु भएको छ । अहिले देउवा पक्षका महेन्द्र यादवले उनलाई टक्कर दिन थालेका छन् । यसअघि महेन्द्र यादव पनि निधिकै विश्वास पात्र मानिन्थे । तर, अहिले उनी देउवाको प्यानलमा छन् । निधिले सभापतिमा सोचेको भन्दा पनि कम मत पाएपछि अहिले उनी पक्षधर नेता– कार्यकर्ता निराश बनेर लाखापाखा लाग्न थालेका छन् ।

सभापतिको चुनावमा शेखर कोइराला र प्रकाशमान सिंहभन्दा पछाडि चौथो स्थानमा खुम्चिएपछि दोस्रो चरणको चुनावमा निधिले देउवालाई समर्थन गरेका थिए । तर, त्यसपछि मधेस प्रदेशमा भएको काँग्रेसको अधिवेशनमा देउवा र निधिले छुट्टा छुट्टै उम्मेदवार खडा गरे । देउवा प्यानलका उम्मेदवार कृष्ण यादव प्रदेश सभापतिमा विजयी भए भने निधिका उम्मेदवार सरोज यादव पराजित बने ।

अहिले मधेस प्रदेशका जिल्लाहरुमा अधिवेशनको तयारी भइरहेको छ । प्रदेशमा जस्तै जिल्लाहरुमा पनि निधिले आफ्नै उम्मेदवार खडा गर्ने गृहकार्य थालेका छन् । तर, देउवा समूहबाट काँग्रेसको सहमहामन्त्री जितेका महेन्द्र यादवले  जिल्लाहरुमा निधिको जितलाई रोक्ने प्रयास थालेका छन् । धनुषाका काँग्रेस निकट एक पत्रकारले भने, ‘अहिले धनुषा काँग्रेसमा सहमहामन्त्री महेन्द्र यादवको उपस्थिति बाक्लिएको छ । हरेक कार्यक्रममा महेन्द्र यादव या आनन्द ढुंगानाको उपस्थिति देखिन थालेको छ ।’

काँग्रेसले माघ १५ गते धनुषा जिल्ला अधिवेशन घोषणा गरेको छ । यसअघि पुस २७ गतेका लागि तय भएको थियो । तर, राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने दिन परेकाले त्यो दिनको अधिवेशन स्थगित भएको हो ।

मधेसका विभिन्न जिल्लामा निधिले आफ्नै उम्मेदवार उठाउने तयारी गरिरहेको काँग्रेस नेताहरु बताउँछन् । रौतहट काँग्रेसका एक नेता भन्छन्, ‘निधिजी डुबता सुरज (अस्ताउँदै गरेको सूर्य) हुनुहुन्छ, उहाँलाई साथ दिएर कुनै पनि नेताले आफ्नो राजनीति दाउमा लगाउन चाहँदैन । निधिजीले जिल्ला–जिल्लामा आफ्ना मान्छे खोजिरहनुभएको छ, तर उहाँको पक्षबाट उम्मेदवार बन्ने आँट नै कसैले गरेका छैनन् ।’

धनुषामा देउवा, कोइराला र निधिको पक्षबाट छुट्टा छुट्टै उम्मेदवारी दिने तयारी भइरहेको छ । तर, प्रतिस्पर्धा चाहिँ देउवा र निधिका उम्मेदवारबीच हुने नेताहरु बताउँछन् । देउवाको पक्षबाट सन्तोष यादव, कोइराला पक्षबाट दिनेश प्रसैला र निधिको पक्षबाट योगेन्द्र पञ्जियारले उम्मेदवार दिने चर्चा छ ।

उता, महोत्तरीको जिल्ला सभापतिमा निधिले बजरङ्ग नेपालीलाई अघि सार्ने तयारी गरेका छन् । त्यहाँ प्रधानमन्त्री देउवाको पक्षबाट नागेश्वर यादव उम्मेदवार बन्दैछन् । कोइराला पक्षबाट भने अहिलेसम्म कोही खुलेका छ्रैनन् । देउवा पक्षका महेन्द्र राय यादवले पनि आफ्नो पक्षबाट उम्मेदवार उठाउने तयारी गरिरहेका छन् । महेन्द्र राय यादव यसअघि महोत्तरीका जिल्ला सभापति थिए । १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका छन् । तर, नागेश्वर यादवसँग उनको सम्बन्ध खासै सुमधुर छैन । यसअघि उनीहरु दुवैजनामा सभापतिका लागि प्रतिस्पर्धा भएको थियो ।

महोत्तरी क्षेत्र नम्बर ३ को अधिवेशन अझै भएको छैन । अधिवेशन नभएका कारण नेपाली महाधिवेशन प्रतिनिधि बन्न पाएका छैनन् । महाधिवेशन प्रतिनिधि नहुनेले उम्मेदवार बन्ने प्रावधान छैन । त्यसैले बजरंग नेपाली पहिला क्षेत्रीय अधिवेशन सम्पन्न गरौं अनि मात्र जिल्ला अधिवेशन गरौं भन्दैछन् । त्यसका लागि उनी केही समय अनसनसमेत बसेका थिए । सभापति देउवा पक्ष भने क्षेत्रीय अधिवेशन नै नगरी जिल्ला अधिवेशन गर्ने पक्षमा छ । यस्तो भएमा निधि पक्षका बजरंग नेपाली जिल्ला सभापतिको उम्मेदवार नै बन्न पाउँदैनन् ।

कतिपय जिल्लामा देउवा पक्षमै प्रतिस्पर्धा हुने देखिएको छ । पर्सामा देउवा पक्षकै जनार्दनसिंह क्षेत्री र रामनाराण कुर्मीबीच प्रतिस्पर्धा हुने देखिएको छ । कोइराला पक्षबाट अजय द्वीवेदी र सुरेन्द्र चौधरीको पनि चर्चा छ । त्यस्तै, बारामा राजेश राय यादव, शम्भुबहादुर बुढाथोकी र मणिभुषण यादवबीच प्रतिस्पर्धा हुने चर्चा छ । उनीहरु तीनैजना देउवा पक्षका नेता हुन् । राजेश राय यादव कलैया उपमहानगरपालिकाका मेयर हुन् भने मणिभूषण यादव बारा क्षेत्र नम्बर २ प्रदेशसभा ख बाट पराजित उम्मेदवार हुन् । उनीहरुले अनौपचारिक रुपमा जिल्ला सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । बारा जिल्लाको सभापतिमा कोइराला पक्षबाट मनोज भट्टले उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

रौतहटको सभापतिमा देउवा पक्षका जितेन्द्र यादव र सुनिल यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ । दुवैजनाले सभापतिका लागि अनौपचारिक रुपमा घोषणा गरेका छन् । तर, त्यहाँ मिलाउने प्रयास भइरहेको र दुईजनामध्ये एकजना मात्र उम्मेदवार बन्ने सम्भावना अत्यधिक रहेको मधेस प्रदेशका काँग्रेस सभापति कृष्ण यादव बताउँछन् ।

सर्लाहीमा पनि देउवा पक्षमै टक्कर हुने सम्भावना छ । देउवा पक्षका सुरेन्द्र सिंह र उपेन्द्र सिंह कुशवाहाले सभापतिमा उम्मेदवारी दिने चर्चा छ । कोइराला पक्षबाट लक्ष्मण रायले उम्मेदवारी दिने चर्चा छ ।

सिरहा जिल्ला सभापतिमा देउवा पक्षबाट रामचन्द्र यादव र कोइराला पक्षबाट रामचन्द्र चौधरीबीच प्रतिस्पर्धा हुने सम्भावना छ । सप्तरीबाट निर्मला यादव र रामप्रसाद मण्डलले सभापतिका लागि दावेदारी प्रस्तुत गर्दै आएका छन् । दुवै देउवा पक्षकै हुन् । यहाँ कोइराला पक्षका रामकुमार यादव र रामदेव साहमध्ये एकजनालाई उम्मेदवार बनाउने काँग्रेसका सप्तरी जिल्ला सभापति दिनेश यादवले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप