शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा सवारी दुर्घटना : वर्षमा एक हजार २१२ दुर्घटना, ५२६ जनाको मृत्यु

तीव्र गति नै दुर्घटनाको मुख्य कारण
आइतबार, ०९ माघ २०७८, १० : ५२
आइतबार, ०९ माघ २०७८

‘बिस्तारै हाँके अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्नँ,’ ट्राफिक प्रहरीले विभिन्न ठाउँमा राखेका होर्डिङ्ग बोर्डमा यो सन्देश देख्न सकिन्छ । जनचेतनामुलक उक्त सन्देश धेरै चालकले देखेका र पढेका हुन्छन् । तर अधिकांश सवारी दुर्घटना भने उक्त सन्देशलाई बेवास्ता गर्दै तीव्र गतिमा सवारी चलाएकै कारण हुने गरेको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्गमा करिब दुई महिना अघि भएको दुर्घटनामा आमा र छोराको मृत्यु भयो । स्थानीय ३६ वर्षीय राधा भट्टराई र उनको छोरालाई बस कुरिरहेका बेला पश्चिमबाट बुटवलतर्फ तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको थियो ।

सडक लेनभन्दा बाहिर चौपारीमा कलेज बस कुरिरहेका उनीहरुलाई तीव्र गतिमा आएको ना८ख ४४११ नम्बरको ट्रकले ठक्कर दिँदा दुवैको मृत्यु भएको प्रहरीको भनाइ छ ।

केही दिन अघि पाल्पाको अर्गेलीमा मलामी बोलेर हिँडेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भयो । त्यहाँ पनि तीव्र गति नै दुर्घटनाको कारक देखियो ।

मोटरसाइकल पनि तीव्र गतिमा कुदाउँदा थुप्रै दुर्घटना भएको प्रहरी अनुसन्धानबाट खुलेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणले बताए ।

पछिल्लो दुई दिनमा लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाका कारण कम्तीमा ३ जनाको मृत्यु भएको छ । दैनिक ५ जनाको हाराहारीमा दुघर्टनाकै कारण घाइते भएर अस्पताल पुग्ने गरेको प्रहरीको तथ्याङ्क छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार चालु आर्थिक वर्ष अर्थात् साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा प्रदेशमा ८ सय २१ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा २ सय ६७ जनाले ज्यान गुमाएका छन् भने २९७ गम्भीर घाइते र ५४८ सामान्य घाइते भएका छन् ।

गम्भीर घाइतेमध्ये अधिकांशको अङ्गभङ्ग भएको र अहिले पनि विभिन्न अस्पतालमा कतिपयको उपचार भइरहेको प्रहरीले जनाएको छ । गत वर्ष पनि लुम्बिनी प्रदेशमा एक हजार २१२ दुर्घटनामा परी एक हजार ७०६ वटा सवारीमा क्षति भएको थियो भने ५२६ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । ती दुर्घटनामा एक हजार ९२३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

अभियान जारी तर दुर्घटना उस्तै

केही वर्षयता देशैभरि सडक निर्माण र विस्तारले तीव्रता पाएको छ । सवारी साधनको चाप त्यही अनुपातमा बढ्दो छ । विकासको मुख्य सूचकको रुपमा लिइने तिनै सडक र सवारी साधनहरुको सही व्यवस्थापन नहुँदा दुर्घटना बढेर जनधनको क्षति हुँदै आएको छ ।

लुम्बिनी प्रदेशका तराई जिल्लाभन्दा पहाडी क्षेत्रमा सवारी दुर्घटना धेरै भएका छन् । तर तराईमा हुने अधिकांश दुर्घटना मानवीय कारणले हुने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक खाणको भनाइ छ ।

वर्सेनि बढ्दो दुर्घटनाको तथ्याङ्कले हाल चलाइएका सडक सुरक्षा सम्बन्धी योजना तथा अभियानको प्रभावकारितामाथि प्रश्न चिन्ह उठेको छ । बुटवलका मनोचिकित्सक मनोज ढुंगानाले दुर्घटनाबाट गम्भीर घाइते भएका र दुर्घटनाका कारण मृत्यु भएकाको परिवारमा लामो समयसम्म मनोसमस्या रहनसक्ने बताए । कलिलो उमेर र एकै पटकमा परिवारका धेरै सदस्य गुमाएकाहरुलाई मनोसमस्या देखिनु स्वाभाविक भएको उनको भनाइ छ । उनले भने, ‘तर उनीहरुको तथ्याङ्क राख्ने र मनोपरामर्श दिने काम कमै भएको पाइन्छ ।’

दुर्घटनाका कारण

डिएसपी खाणले तीव्र गति चालकको पहिलो लापरबाही  भएको ठान्छन् । उनका अनुसार सवारी दुर्घटना अधिकांश मानवीय कारणले नै भएका छन् । चालकले आफ्नो सवारी गतिलाई कन्ट्रोल गर्न सक्ने अवस्थामा राख्नुपर्ने उनको भनाइ छ । त्यो अवस्थामा यदि दुर्घटना नै भए पनि कम क्षति हुने उनले बताए ।

त्यस्तै पैदल यात्रीले पनि सामान्य ट्राफिक नियमको पालना नगरिदिने, जेब्रा क्रसिङको बेवास्ता गरी जथाभावी बाटो काट्ने, छाडा चौपाया, जीर्ण, साँघुरा र चिप्ला सडक तथा सवारी साधनको अवस्थाका कारणले पनि दुर्घटना निम्तने गरेको प्रहरी अनुसन्धानले बताउँछ । मदिरा तथा लागूऔषधको सेवनसँगै आलाकाँचा युवाले चलाएका मोटरसाइकलहरु पनि बढी दुर्घटनामा परेका छन् ।

काम पनि भइरहेको छ

सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेल्बासेले आफूहरुले दुर्घटनाका मुख्य कारणलाई केलाउँदै न्यूनीकरणका लागि विभिन्न ठाउँमा काम गरिरहेको दाबी गरे । उनले प्रहरीसँग मिलेर चालक, सहचालकदेखि यात्रुहरुलाई सचेतनामूलक काम गरिरहेको जानकारी दिए ।

हुन त बेलाबेला प्रहरी र अन्य संस्थाले स्कुल, कलेज तथा समुदायलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिने उद्देश्यले पोस्टर टास्ने, होर्डिङ्ग बोर्ड राख्ने, बाटो काट्न सिकाउने गरेको पाइन्छ ।

ट्राफिक प्रहरी प्रवक्ता खाणले दुर्घटनाका कारण केलाउँदै प्रहरीले चेकजाँचमा कडाइ गर्ने, लामो दुरीमा दुई जना चालक राख्ने, चालकको आँखा जाँच गर्ने, मापसे चेकिङ्ग तथा चालक, सहचालकलाई प्रशिक्षणलगायतका कार्यक्रम निरन्तर गरेको बताए ।

सुरक्षित यात्रा नेपालका अध्यक्ष बेल्बासेले ट्राफिक चेकिङ्ग मुख्य सडक र सहरी क्षेत्रमा मात्र केन्द्रित नगरेर जंगल, मोड, घुम्ती तथा बस्ती र बजार क्षेत्रमा समेत गर्नुपर्ने बताए । उनले कहिलेकाहीँ नै भए पनि विभिन्न स्थानमा चेकिङ गर्ने गरेमा चालकहरु धेरै सतर्क हुने बताए ।

पहाडी जिल्लामा मापदण्ड नपुगेका साँघुरा, जीर्ण र कच्ची सडकले पनि दुर्घटना बढेको प्रहरी अनुसन्धानले देखाउँछ ।

प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना हुने जिल्लामा रुपन्देही, दाङ, पश्चिम नवलपरासी, बाँके अगाडि छन् । पूर्वी रुकुम र रोल्पामा तुलनात्मक रुपमा कम दुर्घटना देखिन्छ ।

गत साउनदेखि पुस सम्ममा भएका दुर्घटनामध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् । त्यसपछि जिप कार, ट्रक, ट्यांकर र बस दुर्घटनामा परेका छन् । धेरैजसो दुर्घटना मानवीय त्रुटिसँगै सम्बन्धित निकायको उदासिनताका कारण निम्तिएको जानकारहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप