शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मारुती सिमेन्ट : साढे दुई महिनाभित्रै दोस्रो कारबाही

आइतबार, १६ माघ २०७८, ११ : ११
आइतबार, १६ माघ २०७८

सिरहाको चन्द्राउदइपुरमा सिमेन्ट उत्पादन गर्ने एउटा उद्योग छ – मारुती सिमेन्ट लिमिटेड । लिमिटेडका अध्यक्ष नन्दकिशोर राठी हुन् । यो उद्योगले उत्पादन गर्ने ५३ ग्रेट ओपीसी सिमेन्टलाई नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ७२७ प्रमाणित गरिदिएको छ । आफूले उत्पादन गरेको सिमेन्ट यस्तो प्रमाण पाउने नेपालकै पहिलो सिमेन्ट भएको सो उद्योगले दाबी गर्छ । 

तर, गुणस्तर चिह्न दिएको निकाय नापतौल विभाग नै मारुती सिमेन्ट लिमिटेडसँग हैरान भइरहेको छ । कारण हो – बजारमा बारम्बार गुणस्तरहीन सिमेन्ट भेटिनु । एक, दुई या तीनपटक होइन–मारुती सिमेन्ट बारम्बार कारबाहीमा परिरहेको छ । तर, कारबाही भोग्दा पनि मारुतीले न सिमेन्टको गुणस्तर सुधार्छ, न त सरकारी नियामकको आदेश नै पालना गर्छ । लोभ र लाभ देखाएपछि नियामकले पनि रातारात कारबाही फिर्ता गर्छ ।

यसपटक भने मारुती कानुनी फन्दामै परेको छ । गुणस्तरहीन सिमेन्टको मामिलालाई गुपचुप मिलाएपनि उद्योगविरुद्ध गैरकानुनी खानी दोहन र कर छली मुद्दा विशेष अदालतमै पुगेको छ ।

गुणस्तरहीन सिमेन्ट उत्पादन गरेर उपभोक्ताको सम्पत्ति र स्वास्थ्यमाथि खेलबाड गर्दै आइरहेका मारुती सिमेन्ट राज्यको खानी दोहन र कर छल्नसमेत माहिर रहेको पुष्टि भएको हो ।

साढे दुई महिनाभित्रै दोस्रो कारबाही

मारुतीले कम गुणस्तरको सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गरेको भन्दै गत मङ्सिर पहिलो साता नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको थियो ।

त्यसको साढे दुई महिनापछि माघ १२ गते सोही कम्पनीविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिमेन्ट सञ्चालक शरद गोयलविरुद्ध २० करोड ५० लाख ६५ हजार रुपैयाँ बिगोसहित मुद्दा दर्ता गरेको हो ।

‘तोकिएको वार्षिक स्वीकृत क्षमताभन्दा अधिक चुनढंगा उत्खनन्/उत्पादन गर्ने मारुती सिमेन्टले वार्षिक प्रतिआर्थिक वर्ष एक लाख रुपैयाँ मात्रै जरिवाना लिइएको पाइयो,’ आरोप पत्रमा उल्लेख छ । अख्तियारले मारुती सिमेन्टसहित अन्य ९ कम्पनीविरुद्ध बिगो दाबीसहितको मुद्दा दायर गरेको हो ।

गुणस्तरहीन उत्पादन

सिराहामा कारखाना राखेर सिमेन्ट उत्पादन गरिरहेको मारुती सिमेन्टले ४३ ग्रेडको गुणस्तरहीन ओपीसी सिमेन्ट उत्पादन गरेको पाइएको छ । नापतौल तथा गुणस्तर विभागले विभिन्न मितीमा बजार अनुगमनको क्रममा संकलन गरेको नमूनाबाट यस्तो फेला परेको हो ।

बजारबाट संकलन गरेको मारुती सिमेन्टको ३३ र ४३ ग्रेडको ओपीसी नमूनाको परीक्षण गर्दा गुणस्तरहीन पाइएको विभागले जनाएको छ । संकलित नमूना कम्प्रेसिभ स्ट्रेन्थ (एमपीए) ७ र २८ दिनको मान क्रमशः कमसल पाइएको थियो । कम्प्रेसिभ स्ट्रेन्थ ३३ र ४२ हुनुपर्नेमा ३१ र ३७ पाइएको नापतौल विभागले जानकारी दिएको छ ।

सिमेन्ट बनाउँदा प्रयोग गरिने कंक्रिट यसको बल क्षमतामा मापन गरिन्छ । एमपीए पाउण्ड प्रतिवर्ग इन्चको मेट्रिक मापन हो । ठोस परियोजनाहरूका लागि गुणस्तरीय एमपीए आवश्यक पर्छ । यदी यसो नभएमा बनाइएका परियोजनामा प्रयोग गरिएको सिमेन्टले काम गर्न छाड्छ । र, आयोजनाहरू समय अगावै भासिने, चर्किने र कमजोर हुन्छ ।

यसरी आफ्ना लाखौं सेवाग्राहीहरूको विश्वासलाई कुल्चिएर कम्पनीले गुणस्तरहीन उत्पादन गरेको पाइएको हो । परीक्षणमा असफल भएपछि विभागले गुणस्तरहीन ४३ ओपीसी सिमेन्ट बिक्री वितरणमा रोक लगाइएको थियो । यस्तै, उत्पादित गुणस्तरहीन सिमेन्ट तत्काल बजारबाट फिर्ता ल्याउन समेत विभागले निर्देशन दिएको थियो ।

मारुती सिमेन्टले विभागको निर्देशनलाई लत्याएर अहिलेपनि खुलमखुला गुणस्तरहीन सिमेन्ट बिक्री वितरण गरिरहेको छ । 

तोकेभन्दा बढी चुनढुङ्गा खनेर करोडौँ भ्रष्टाचार

सिमेन्ट कम्पनीहरूलाई वार्षिक निश्चित क्षमतामा चुनढुङ्गा खानी खन्ने अनुमति दिइन्छ । सोही अनुमतिमा आधारित रहेर कुनै एउटा खानीमा रहेको चुनढुङ्गा निश्चित वर्षसम्मलाई प्रयोग अनुमति दिइन्छ । तर, मारुती सिमेन्टले राज्यले दिएको अनुमतिभन्दा बढी सिमेन्ट खनेर करोडौँ भ्रष्टाचार गरेको पाइएको छ ।

​यही माघ १२ गते अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोग पत्रका अनुसार मारुती सिमेन्टले वार्षिक तोकेभन्दा बढी चुनढुङ्गा खनेको पाइएको छ । उक्त कम्पनीलाई राज्यले खन्न दिएको अनुमतिभन्दा बढी चुनढुङ्गा खनेर राज्यस्रोतमाथि नै दोहन गरेको र समयअगावै खानी रित्तयाएको पाइएको हो । 

यसले थोरै कर तिर्न निश्चित परिमाणको अनुमति लिने र नाफा कमाउन लालायित बन्दै स्वीकृत क्षमताभन्दा बढी चुनढुङ्गा निकाल्न गरेको देखिएको छ । सिमेन्टले क्षमताभन्दा बढी चुनढुङ्गा खनेको जानकारी खानी तथा भूगर्व विभागले पाएपछि महानिर्देशकलाई नै प्रभावित बनाएर उन्मुक्ति लिएको समेत खुल्न आएको छ ।

तत्कालीन महानिर्देशक रामप्रसाद घिमिरेलाई प्रभावित पारेर २० करोड रुपैयाँको खानी दोहन गरेपछि जम्मा एक लाख रुपैयाँ जरिवाना तिरेको खुलेको हो । सोही कर्तुत खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग मारुतीविरुद्ध २० करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै अदालतको ढोका ढक्ढक्याउन पुगेको छ ।

के हो ओपीसी सिमेन्ट ?

अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) र पुजोलोना पोर्टल्यान्ड सिमेन्ट सामान्यतयाः गरी दुई प्रकारका हुन्छन् । यसमध्ये ओपीसी सिमेन्ट ३३, ४३ र ५३ ग्रेडका हुन्छन् । 

साधारण चुनढुंगाबाट बनेको सिमेन्टलाई ओपीसी सिमेन्ट भनिन्छ । चुनढुंगालाई १४ सय डिग्री सेन्टिग्रेडमा पकाएर त्यसमा विभिन्न पदार्थ मिसाएर क्लिंकर बनाइन्छ र त्यसमा अधिकतम पाँच प्रतिशत जिप्सम (सल्फेट डाइहाइड्रेटबाट बनेको नरम सल्फेट खनिज) प्रयोग भएको हुन्छ ।

ओपीसी सिमेन्टको प्रयोग ठूला–ठूला राष्ट्रिय गौरवका आयोजना र ठूला भौतिक संरचना बनाउँदा प्रयोग गरिन्छ । यो सिमेन्टबाट घरको गाह्रो समेत लगाइन्छ । ढलान गर्न र इँटा सेट गर्न तथा डण्डीलाई समेत सेट गर्न ओपीसी सिमेन्ट नै प्रयोग हुन्छ । सिमेन्ट नै कमसल भएपछि त्यसबाट बनाइएका संरचना पनि कमजोर हुन्छन् । यो सिमेन्ट ठूला र राष्ट्रिय गौरवका आयोजना तथा संरचना निर्माणमा समेत प्रयोग हुने गरेको छ ।

७० प्रतिशत क्लिंकर, २५ प्रतिशत कोइलाको धुलो (पुजोलोना) र पाँच प्रतिशत जिप्सम मिसाएर बनाइएको सिमेन्टलाई पीपीसी भनिन्छ । यो सिमेन्ट प्रायःजसो प्लास्टर गर्न र गाह्रो लगाउन प्रयोग गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप