शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसमा ‘बिग फाइभ’को अभ्यास

सह–महामन्त्रीको हरिबिजोग
बुधबार, १९ माघ २०७८, १० : ३१
बुधबार, १९ माघ २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिमा सहभागितामूलक लोकतान्त्रिक अभ्यासविपरीत गतिविधिहरू भइरहेको प्रति शीर्ष नेताहरूले नै असन्तुष्ट बनेका छन् । हालसम्म बसेका काँग्रेसका तीन वटा केन्द्रीय कार्यसमिति बैठकले पनि त्यसैतर्फ सङ्केत गरेको छ । केन्द्रीय समितिका तीनवटै बैठक बस्नुअघि ‘कोठा’बाट निर्णय भए र त्यो निर्णयलाई अनुमोदनका लागि केन्द्रीय समितिमा ल्याइयो । नेताहरूको आरोप छ, काँग्रेसका पाँच पदाधिकारीले केन्द्रीय कार्यसमितिलाई ‘मन्थन’ नभई ‘अनुमोदन’ गर्ने थलो बनाउन खोजे ।

केन्द्रीय कार्यसमितिमा हाल १६८ सदस्य रहेका छन् जसमा २० जना मनोनीत गर्न बाँकी नै छ । तर यो समितिलाई ‘पङ्गु’ बनाएर सबै अधिकार सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ‘बिग फाइभ’ मा निहित बनाउने अभ्यास थालिएको उनीहरूको चिन्ता छ । अनौपचारिक छलफलको दायरा १४ सदस्यीय पदाधिकारी (कोषाध्यक्ष मनोनीत गर्न बाँकी) भित्र समेत फैलिन सकेको छैन । काँग्रेसमा ८ जना सह–महामन्त्रीलाई बाहिर राखेर ‘बिग फाइभ’ को अभ्यासलाई बढावा दिएको पाइन्छ ।

अब हालसम्मका तीन केन्द्रीय कार्यसमिति बैठकबारे चर्चा गरौँ । 

पहिलो बैठक : १४ औँ महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको पहिलो बैठकको पूर्वसन्ध्याबाटै ‘बिग फाइभ’को ‘ट्रेलर’ सुरु भएको थियो । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले पुस ९ गते साँझ उपसभापतिद्वय खड्का र गुरुङ तथा महामन्त्रीद्वय थापा र शर्मालाई बालुवाटार बोलाए । त्यहीँ नै पुस १० गतेको केन्द्रीय कार्यसमिति बैठकको प्रस्ताव पारियो ।

‘बिग फाइभ’ बीचको छलफलबाट टुङ्ग्याइएको उक्त प्रस्ताव पहिलो बैठकमा सुनाइयो, अनि पारित गरिएको थियो । बैठकको सुरुवातमा देउवाले महामन्त्री थापालाई प्रस्ताव पेस गर्न भनेका थिए । थापाले बैठकमा पेस गरेका ५ वटा प्रस्ताव छलफलबिनै पारित भए ।

केन्द्रीय समितिमा मात्र होइन सो प्रस्ताव सबै पदाधिकारीमा समेत छलफल हुन पाएन । ८ जना सह–महामन्त्रीले समेत उक्त प्रस्ताव बैठकमा पेस भएपछि थाहा पाएका थिए ।

पहिलो बैठकमा केही केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने सोच बनाएका थिए । तर बालुवाटारमा ‘बिग फाइभ’का बीच तयार  पारिएको प्रस्ताव अनुमोदन भएलगत्तै बैठक समापन गरियो । बैठक १५ मिनेटमै सकिएको थियो । पहिलो बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूको रहर मनैमा सीमित पारियो । 

दोस्रो बैठक : गत पुस १९ गते काँग्रेसको केन्द्रीय कार्यसमितिको दोस्रो बैठक बसेको थियो । उक्त बैठकमा राष्ट्रियसभाका उम्मेदवार चयन गर्ने एक मात्र एजेण्डा थियो । त्यसमा पनि शीर्ष नेताहरू हावी भए । यसमा बिग फाइभ पदाधिकारीका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि थपिएका थिए । उनीहरूले पहिले नै तयार पारेको उम्मेदवारको सूची पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पुगेको थियो । काँग्रेस विधानमा संसदीय समितिबाट उम्मेदवार चयनको गर्ने व्यवस्था भएपनि विधान विपरीत पदाधिकारी तहबाट निर्णय भएको थियो । केन्द्रीय कार्यसमितिमा भने त्यो निर्णय अनुमोदनका लागि मात्र पेस भयो । जम्मा ७ मिनेट चलेर बैठक सकियो ।

तेस्रो बैठक : गत १४ गते शुक्रबार भएको भर्चुअल केन्द्रीय कार्यसमिति बैठकमा पाँच जना पदाधिकारी सानेपा पुगे । सभापति देउवा, उपसभापतिद्वय खड्का, गुरुङ तथा महामन्त्रीद्वय थापा र शर्माले सानेपाबाट बैठकमा सहभगिता जनाएका थिए । तर बाँकी ८ जना सहमहामन्त्रीका लागि सानेपाबाट भर्चुअल बैठकमा सहभागी हुने व्यवस्था गरिएन ।

कार्यसम्पादन समिति गठनको प्रस्तावका साथ देउवाले सानेपाबाट केन्द्रीय कार्यसमितिको अध्यक्षता गरेका थिए । बैठक सुरु भएपछि देउवाको निर्देशनमा महामन्त्री गगन थापाले बैठकमा एजेण्डा प्रस्तुत गरे ।

महामन्त्री थापाले कार्यसम्पादन समितिमा पदेन सदस्य र सभापतिले मनोनीत गरेका नाम समेटिएको दुई बुँदे प्रस्ताव बढेर सुनाए । त्यसपछि थापाले प्रस्ताव पारित गरिदिन केन्द्रीय सदस्यसँग अनुरोध गरे । भर्चुअलरूपमा बैठकमा जोडिएका केन्द्रीय सदस्यहरूले हात उठाएपछि प्रस्ताव पारित भयो । त्यसपछि बैठक सकिएको घोषणा गरियो । बैठक ६ मिनेट मात्र चल्यो । स्थानीय निर्वाचनबारे केन्द्रीय समितिमा छलफल हुन दिइएन । 

सोही दिन सानेपामा सभापति देउवा, उपसभापतिद्वय खड्का, गुरुङ, महामन्त्रीद्वय थापा र शर्माबीच करिब दुई घण्टा छलफल भयो । शनिबार गठबन्धन बैठकमा जेठभित्र स्थानीय निर्वाचन गर्ने सहमति हुने कुरामा उक्त बैठकको मुख्य भूमिका छ । बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक लगत्तै करिब दुई घण्टा हाम्रो छलफल भएको थियो । त्यसैको परिणाम देखिहाल्नु भयो । स्थानीय निर्वाचन सम्बन्धी कुरा ठीक ढंगले हल भयो । परिस्थिति चुनाव हुने दिशातिर लाग्यो नि त !’

बिग फाइभको अभ्यासले काँग्रेसमा तरंग

काँग्रेसमा यसरी भइरहेको ‘बिग फाइभ’को अभ्यासलाई सहमहामन्त्री र केन्द्रीय सदस्यहरूले निको मानेको अवस्था छैन । यसले पार्टीमा सहभागितामूलक लोकतान्त्रिक परम्परालाई चुनौती दिएको उनीहरूको ठम्याइ छ । तर अहिले नै टीकाटिप्पणी गरिहाल्नुपर्ने बेला नभएको सहमहामन्त्री किशोरसिंह राठौरले बताए । ‘कोरोनाका कारण सभापति, दुई उपसभापति र दुई महामन्त्रीबीच भएको होला,’ उनले भने, ‘अहिले नै टीकाटिप्पणी गर्ने बेला भएको छैन । छिट्टै कार्यसम्पादन समितिको बैठक बस्छ ।’

‘कम्युनिस्ट पार्टीमा सचिवालयले तलको सबै अधिकार खाइदिन्छ भनिन्छ,’ उनले भने, ‘हाम्रो पार्टीमा पनि बिग फाइभले तलका मानिसहरूको ठेक्का लिने र निर्णय प्रक्रियामा सहभागिता नगराउने खतरा बढ्यो ।’

तर ‘बिग फाइभ’को अभ्यास रोक्न कार्यसम्पादन समिति बैठकमा कुरा उठाइने राठौरले बताए । उनले भने, ‘अहिले नै म त्यो निष्कर्षमा पुगेको छैन । साथीहरूलाई लागेको छ भने छलफल गरेर बैठकमा कुरा राख्छौँ ।’

यस्तै अर्का सहमहामन्त्री जीवन परियारले अनौपचारिक बैठकमा को को लाई सहभागी गराउने भन्ने कुरा सभापतिका अधिकारको विषय भएको बताए । ‘औपचारिक बैठकमा हामीलाई छुट्याइएको छैन । अनौपचारिक रूपमा सभापतिले जो सुकैसँग पनि छलफल गर्न पाउने पाउनु नै हुन्छ । त्यो उहाँको अधिकार छ,’ उनले भने ।

सभापतिले चार जना पदाधिकारीसँग मात्र छलफल गरेर गठबन्धनमा काँग्रेसको धारणा लिएकोमा उनको गुनासो छ । ‘सबै पदाधिकारीसँग छलफल गरेको भए राम्रै हुने थियो । सभापतिलाई उहाँसँग मात्र परामर्श गर्दा हुन्छ भन्ने लाग्यो होला,’ परियारले भने ।

तर सानेपामा पाँच जना पदाधिकारीको उपस्थिति तारतम्य मिलाउने काम सभापतिको थिएन । त्यो सबै योजना विशेषतः महामन्त्री थापा र शर्माले बुनेका थिए ।सहमहामन्त्री परियारले बिग फाइभको अभ्यास जेनियुन विषय भएको बताए । ‘हामीले पनि गतिविधि नियालिरहेका छौँ । अब कसरी जाने भन्ने कुरा सोचिरहेका छौँ,’ उनले भने । यद्यपि छलफलमा सहभागी नभएपछि महामन्त्रीसँग काम गराइएको विषयमा समन्वय भइरहेको उनको भनाइ छ ।

यस्तै केन्द्रीय सदस्य नैनसिंह महरले केन्द्रीय समितिको अधिकार पाँच जनामा निहित गर्न खोजिएको बताए । ‘केन्द्रीय समितिबाट छायाँमा पार्ने कार्यसम्पादन समिति बनाउन थालियो । त्यो विधानभित्रै छ । ठीकै छ,’ महरले रातोपाटीलाई भने, ‘त्यो केन्द्रीय सम्पादन समितिको अधिकार पनि पदाधिकारीमा सार्न खोज्यो । पदाधिकारीमा पनि जम्मा पाँच जनामा मात्र त्यो अधिकार निहित गर्ने देखियो ।’

यसबाट पार्टीमा बिग फाइभको अभ्यास हुन खोजेको आफूलाई पनि आभास भएको महरले बताए । ‘कम्युनिस्ट पार्टीमा सचिवालयले तलको सबै अधिकार खाइदिन्छ भनिन्छ,’ उनले भने, ‘हाम्रो पार्टीमा पनि बिग फाइभले तलका मानिसहरूको ठेक्का लिने र निर्णय प्रक्रियामा सहभागिता नगराउने खतरा बढ्यो ।’

काँग्रेसले सहमहामन्त्री पाएको दुई महिना पुग्नै लाग्यो । उनीहरूको आसनमात्र होइन काम कारबाहीको पनि टुङ्गो छैन । पार्टी विधानले बाँकी सबै पदाधिकारीको क्षेत्राधिकार तोकिदिए पनि सहमहामन्त्रीबारे केही बोलेको छैन ।

महरका अनुसार बिग फाइभले कुनै कोठामा तयार पारेको प्रस्ताव अनुमोदनका लागि मात्र पार्टीको औपचारिक बैठक राख्ने अभ्यास सुरु गरिएको छ । यसले काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको चरित्रलाई सम्बोधन नगर्ने उनको जिकिर छ । महरको अनुसार लोकतान्त्रिक पार्टीमा तलका कुरा सुन्ने र कार्यान्वयनमा लैजाने गरिन्छ । ‘आफ्ना अधिकार र केन्द्रीय समितिको गरिमालाई व्यवस्थित गर्ने सवालमा हामी सचेत छौँ,’ महरले भने, ‘हामी केन्द्रीय सदस्यहरूका बीचमा दुई–तीन पटक कुरा भएको छ ।’ यसरी अब आएका निर्णय आगामी बैठकबाट अनुमोदन गर्ने स्थिति नरहन सक्ने उनको भनाइ छ ।

सह–महामन्त्रीको हरिबिजोग

काँग्रेस सहमहामन्त्रीको सहभागिता मात्र होइन आसन पनि अस्तव्यस्त छ । सहमहामन्त्रीहरु फरमुलाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन परियारको कार्यकक्ष एउटै हलमा छ ।

पार्टी केन्द्रीय कार्यालयमा उनीहरूको छुट्टा छुट्टै  कार्यकक्ष समेत छैन । कार्यालय भवनको छतमा ट्रस्ट हालेर एउटा हलमा आठ वटा सहमहामन्त्रीको कार्यकक्षको व्यवस्था गरिएको छ ।

कोठाबाहिर भित्तामा ८ वटै सहमहामन्त्रीको नेमप्लेट लहरै राखिएको छ । सहमहामन्त्री परियारले अहिले भने आफूहरूको कार्यकक्षको व्यवस्था मिलाउने काम भइरहेको बताए । उनले भने ‘अबको केही दिनमै प्राविधिक बोलाएर कोठा थप्ने कुरा भएको छ । त्यसको तयारी भइरहेको छ ।’ 

तर काँग्रेसले सहमहामन्त्री पाएको दुई महिना पुग्नै लाग्यो । उनीहरूको आसनमात्र होइन काम कारबाहीको पनि टुङ्गो छैन । पार्टी विधानले बाँकी सबै पदाधिकारीको क्षेत्राधिकार तोकिदिए पनि सहमहामन्त्रीबारे केही बोलेको छैन । ८ जना सहमहामन्त्री नामका मात्रै पदाधिकारीमा सीमित भएको देखिन्छ । सहमहामन्त्रीले सभापति देउवाबाट होइन महामन्त्रीद्वय थापा र शर्माबाट पनि पदाधिकारीको भ्यालु नभएको अवस्था छ । उनीहरूको रुचि पनि ‘बिग फाइभ’कै अभ्यासमा बढी देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप